स्वामी विवेकानन्द (बङ्गाली: স্বামী বিবেকানন্দ जन्म: १२ जनवरी १८६३ – ४ जुलाई १९०२) जन्मनाम: नरेन्द्रनाथ दत्त) हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
स्वामी विवेकानन्द | |
---|---|
व्यक्तिगत | |
जन्म | नरेन्द्रनाथ दत्त १२ जनवरी १८६३ |
मृत्यु | ४ जुलाई १९०२ | (उमेर ३९)
धर्म | हिन्दु धर्म |
हस्ताक्षर | |
संस्थापक | रामकृष्ण मिसन |
दर्शन | वेदान्त दर्शन, राज योग |
धार्मिक जीवन | |
गुरु | रामकृष्ण परमहंस |
कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले "सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ" भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस भारतको अवस्था बारे जानकारी हासिल गरे।
स्वामी विवेकानंदको जन्म सन् १८६३ जनवरी १२ मा कलकत्ताको कायस्थ परिवारमा भएको थियो । उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो । बुबा विश्वनाथ दत्त कलकत्ता सर्वोच्च अदालतको प्रसिद्ध वकील थिए । उनकी आमा भुवनेश्वरी देवी धार्मिक विचार भएकि महिला थिइन । उनको अधिकांश समय भगवान शिवको पूजा अर्चना मै व्यतीत हुने गर्दथ्यो ।
उनि स्वामी रामकृष्णका प्रिय शिष्य थिए । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरूको अनुभव र ज्ञान नै भएको बताउदथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरूले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए । विश्व धर्म महासभा शिकागोमा सन् १८९३ मा उनले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । उनले नै यात्राको सम्पूर्ण व्यवस्था मिलाई दिए अनि शिकागोको जाडोमा बङ्गाली गर्मीमा हुर्केका विवेकानन्दलाई ऊनी कोट आदि पहिरनको समेत व्यवस्था गरे ।
अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी शिकागो पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरूलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए । शिकागो पुग्दा विवेकानन्दको अवस्था खराब थियो । लुटेरा र बदमासहरूको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो । साथमा रहेका अमेरिकी पैसा सकियो केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए । भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ-आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरूले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रूपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरूको तर्फबाट अमेरिकी दाजु भाइ दिदी बहिनीहरूलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरूमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
शिकागो मन्तव्यका मुख्य बुंदाहरू; त्यहां भनेका केही मुख्य कुराहरु शताब्दि पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।
आदि गुरु आचार्य शङ्करले शारदा, गोवर्धन, ज्योति, र शृंगेरी चारवटा मठहरू स्थापना गरेर प्रत्येक मठका लागि एक महावाक्य निर्धारण गरे जस्तै स्वामी विवेकानन्दले पनि मठको स्थापना गरे । रामकृष्ण मठको महावाक्य निर्धारण गरे – उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत । यस बाहेक निर्धनतम समाजका लागि शिक्षा र स्वास्थ्य सुलभ गराउन मिशनहरूको पनि स्थापना गरेर समाजसेवा र ज्ञानका लागि पुस्तक पत्रिका प्रकाशनमा पनि उल्लेखनीय योगदान गरे । स्वामी अपूर्वानन्दले बांग्लामा शङ्कराचार्यको जुन जीवनी लेखेका छन् त्यो ध्यानले पढ्दा लाग्छ हामीहरूले स्वामी विवेकानन्दको जीवनी पढिरहेका छौं । निवेदिताले त विवेकानन्दलाई शिवावतार नै मान्थिन् । स्वयं विवेकानन्दले पनि शिव शिव भन्ने गर्थे । स्वामी अपूर्वानन्दले लेखेका छन्– बार्ह शय वर्ष भइसक्यो आचार्य शंकरको काम आज पनि सकिएको छैन । आजको मानिसमा ऐश्वर्य छ । सम्पन्नता छ । गति छ । तीव्रता छ । तर उसको दुःख, पीडा र ताप घटेको छैन । नया“ नया“ आवरणमा बेरिएका भ्रम, मोह र छलकपटले मानिसको बुद्धि ढाकिएको छ । आधुनिक उपलब्धिहरुका साथै काम, क्रोध, लोभ, दम्भ, ईष्र्या, द्वेष आदि आसुरी भावका गति, क्षेत्र र तीव्रता पनि बढ्दै छन् । यी सबैको परित्राण कहां“ छ ? परित्राण केवल मानिसका आत्माको आविष्कारमा छ । सबैभित्र एक अविभाज्य चैतन्यसत्ता निरन्तर प्रकाशमान छ । जसको अनुभव हामीलाई शंकरको जीवनीबाट प्राप्त हुनसक्छ । शान्तिको एक मात्र बाटो त्यही हो ।
जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिए, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिए, त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरूको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं नारायण प्रसाद पोखरेलले गरेका सुधारका केही कामहरूलाई उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ । त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बङ्गालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म अर्थशास्त्र अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै रामकृष्ण मिशन, बेलुर मठ बङ्गाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ । वि.सं. २०७० मा नेपालमा पनि स्वामी विवेकानन्दको १५० औँ जन्म जयन्ती मनाएको हो ।
This article uses material from the Wikipedia नेपाली article स्वामी विवेकानन्द, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.