करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।
रातो मच्छिन्द्रनाथको रथयात्रा | |
---|---|
प्रारम्भ | बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा |
समापन | असार शुक्ल चौथीसम्म |
हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् । लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ । संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन् ।
लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ । मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ । भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ । नेपाल भाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खाटमा राखेर सांस्कृतिक बाजागाजा सहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ । विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतीयाका दिन गौदान सहितको शान्ति स्वस्ती पश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ । यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरूआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ । यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बु·मतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । पाटनबाट दक्षिणायण उक्त ठाउँ बु·मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु·मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ । तर जयदेव द्वितीयको संवत्, १५७ को पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वणिर्त छ । जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजिक देखिन्छ । सम्भवतः वि.सं. १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बु·मतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ । रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाण स्वरूप मार्गशीर्ष योमहि्रः पुन्ही र पाटनको म·लबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुंगद्यबाट बुझ्न सकिन्छ । मत्स्येन्द्रनाथ बु·मतीबाट पाटनमा ल्याइँदा चौधौँ शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल)को मन्दिरमा राखिन्छ र पाटनबाट बु·मती लैजाँदा सहरबाट अलि पर रहेको ज·लमा अवस्थित चौधौँ शताब्दी तिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ । नेपालमा रातो मत्स्येन्द्रनाथ बाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन् । त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन् । त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन् । पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन् । नालाको करुणामयको रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथयनत्रा गराइँदैन । अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ । बाह्र वर्षे मत्स्येन्द्रनाथ जात्राको समयमा बु·मतीमा रथ निर्माण गरी त्यहीँबाट रथ तानेर ल्याई ललितपुर नगरको साबिक बमोजिम परिक्रमा गराई सो रथलाई पुन बु·मतीमै पुर्याई समाप्त गरिन्छ । यो रातो मत्स्येन्द्रनाथ रथयात्रा सो समयमा दुई पटक पाटन जावलाखेल र बु·मतीमा भोटो देखाई समाप्त गरिन्छ । सो नियम सम्बन्धमा नेपाल संवत् ८५२ मा लेखिएको ठ्यासफुमा उल्लेख भएको छ । मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन् । उक्त कुरा नेपाल संवत् ७९२ को सुवर्णपत्रमा नेपालका प्रख्यात कर्णाट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बु·मती स्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रष्ट हुन्छ । यिनको उल्लेख ई.सं. १०१५ को अभिनवगुप्तकृत तन्त्रालोकमा "तन्मे स मच्छेन्द्रविभू"को रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ । पर्वतिया वंशावलीमा पनि अनावृष्टिको कारण मत्स्येन्द्रनाथ कामरूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ । गोपालराजवंशावलीमा "संवत् ५०७ वैशाष शुदि ४ श्री जयस्थितिराज मल्लदेव ठाकुरस त्रियपुत्र सहन वुगय यात्रा विज्याङ दिन १४ ..." भनी वर्णन गरेबाट १४ औँ शताब्दी राजा श्री जयस्थिति मल्लले शरद ऋतुमा गरिने मत्स्येन्द्रनाथ जात्रालाई वसन्त ऋतुमा सञ्चालन गरिने परम्परा चलाएको अनुमान हुन्छ । नेपालको रथजात्रा मध्ये सबैभन्दा ठूलो रथजात्रा व्यवस्थित र धेरै गुठी जग्गा भएको यस मत्स्येन्द्रनाथ जात्रामा बाहुन पूजारीले गौदानसहित शान्ति स्वस्ती गर्दछन् भने वज्राचार्यद्वारा हवन गरिन्छ । शाक्यद्वारा पूजाआजा गर्दछन् र ज्यापु समुदायले रथ तान्ने कार्य गर्दछन् । जात्राको अघिल्लो राती बाहुन क्षेत्री महिला लगायत अन्य जातका महिलाले पनि बत्ती जगाउने काम गर्दछन् । रथजात्रा नुगःमा ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले चलाएको र उनले नुगःटोलको विकास गरी नेपालसंवत् ७८१ -वि.सं. १७१८) देखि चलाएको मुनीन्द्ररत्न वज्राचार्यले 'नेपालका चार प्रसिद्ध करुणामय लोकेश्वर' पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा नुगःमा मत्स्येन्द्रनाथको 'त्वाय् -मीत)' रहेकाले उनलाई भेट गराउन लगेको भन्ने पनि उल्लेख छ । संस्कृतिविद् हरिराम जोशीले बुङ्मतीमा मत्स्येन्द्रनाथ मन्दिरको मूलद्वारमा ललितपुरका राजा श्रीनिवास मल्लले नेपाल संवत् ७९२ मा राखेको सुवर्णपत्रमा 'मत्स्येन्द्र योगिना मुख्या' भनी संस्कृत भाषामा श्लोक लेखिएको उल्लेख गर्दै भने, 'मत्स्येन्द्रनाथ योगीहरूका मूख्य देवता हुन् । त्यसैले आश्विन कृष्णद्वादशी वा त्रयोदशीका दिन कानफट्टा योगीहरू मत्स्येन्द्र बहालमा आई रोटी दान गर्ने चलन चलेको हो ।' ३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाको रथ अनि गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै हुने पुरानो बास्तुकलाको नमुना र जिवित सम्पदा मानिने रातो मच्छिन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ । यति अग्लो रथ पल्टिए वा भाच्चिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ । तीन वर्षअघि (वि स्ं २०६६) रथ भाच्चिएका कारण शुरुदेखि निर्माण गर्नुपरेको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिल नेरबाट लगनखेल पुर्याइए पछि राति रथ अगाडि एक/एकवटा राँगा, बोका, जिउूदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ र ३२ पानेजूद्वारा पञ्चरक्षाको पाठ पनि गरिन्छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोल तर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ । रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउू पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै 'याकःमिसा भूजया' भनी महिलाहरूले मात्र रथलाई तानेर त्यहाँबाट अलिपर थतीको चौबाटोमा पुर्याउूछन् । नरिवल खसाल्ने दिनमा नै मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । तोकिएको दिन कुलदेवता पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथ सहित बराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगल बजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेल तर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुयाइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजा साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्याइनेछ । मीननाथलाई तानेर चक्रबहिलमा पुर्याएपछि पुल्चोकमा रथारोहण गराई सुरु गराइएको मत्स्येन्द्रनाथको रथयात्रा समापन हुन्छ । मत्स्येन्द्रनाथको महास्नान सकिएपछि तःबहालमा दसकर्म गरी नामकरण संस्कार गर्दा आर्याअवलोकितेश्वर भनी नामकरण गरे तापनि जनजिब्रोका करुणामय, रक्तावलोकितेश्वर, लोकनाथ, पद्मपाणि बुंगम लोकितेश्वर आदि विभिन्न नामबाट पुकारिन्छ । तर नेवार समुदायमा भने 'बुंग द्यः' नामबाट लोकपि्रय भएका छन् ।
गुठियाहरूका अनुसार चैत्र महिनाको पूर्णिमाका दिन विधिवत पुजा गरेपछि भोलीपल्ट देखि रथ निर्माणको काम शुरु हुन्छ। तलामा राखिएका काठमा डोरी र बेत कँस्ने काम यँवालहरूको हो। काम शुरुभएपछि दशौँ दिनमा बाराहीहरूले रथमा पाङग्रा जोड्छन् र धःमा-बाड्गो काठ) समेत राख्ने गर्छन्। लगातार तीन दिन बाराहीहरूले तला थप्ने काम गर्ने गर्दछन। एक क्विन्टलकोे बयामो भनिने गजुर राखिने भाग रथको टुप्पोमा पुर्याउनु निकै कठिन हुने भएकोले रथको तला-तलामा बसेका व्यक्तिहरूले टाउकोमा राखेर रथको माथिल्लो भागमा वयामो अड्याउछन् । रथ वनाउन ललितपुरको गोदावरी र हेटौडाको मनहरीबाट सान्दानको काठ ल्याइन्छ। बोसी थरका नेवारहरूले साइत हेराएर जंगल जाने, काठ काट्ने र तबहालस्थित गुठी संस्थानको कार्यालय अघि ल्याएर त्यसलाई आकार दिने गर्छन । १२ जनाको टोलीले रथ निर्माणको साईत शुरुहुनुभन्दा पहिले नै आफ्नो काम सम्पन्न गर्ने चलन रहेको छ। अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिन्छ। दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ । त्यसको भोलिपल्ट (वा कहिले काहि तिथिको कारण त्यही दिन) साईत अनुसार अपरान्हमा पाटनको आठ टोलबासीले रथ तानेर गावाहालतिर तानिन्छ। रथ तान्ने शुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ। रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्याउने चलन छ। त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्याइनेछ। मीननाथको रथलाई अघिअघि लगाएर मत्स्येन्द्रनाथको रथलाई पछि तान्ने चलन छ। साथमा ललितपुरका सत्रौँ शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाई राजकीय सम्मानका साथ लगिने चलन छ। मूर्तिलाई पुल्चोक लग्नुअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको ऐतिहासिक खड्गलाई भक्तपुर राजदरबारबाट छत्रले ओढाइ म्वाली (सहनाई) र नायखी बाजा बजाई मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर कोतः पूजा गरिन्छ। ललितपुरकी जीवित देवी कुमारीलाई पनि हख बहालको मूलढोकामा राखिन्छ। जात्रामा बाजागाजा र सार्दूलजंगको पल्टन सम्मिलित हुने गरेको छ। रथ गाःबहाल पुगेकै रातमा 'छोय्ला भू' भनी भोजको आयोजना गर्ने र समय् बजी बाँड्ने परम्परा छ। मंगलबार बिहान भक्तजनहरूले मत्स्येन्द्रनाथको पूजाअर्चना गरी काँसको थालमा चामल चढाउने चलन छ। गाःबहाल जात्रापछि मीननाथको रथ अगाडि र मत्स्येन्द्रनाथको रथ पछिपछि तान्दै महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्याइन्छ। भारतबाट झिकाइएको नरिवलको वनकेरा र नरिवलको जटाले बनेको डोरीले रथ कँस्ने काम हुन्छ। पाङ्ग्रा र रथको तला जोड्ने काठलाई गठामह भनिने चिरुवा वेतको मुठोले कसिन्छ। रथ निर्माणमा लागि गुठी संस्थानले सञ्चालन गरेको गुठीबाट गुठीयार कामदारले सुविधा र पारिश्रमिक पाउछन्। रथ निर्माणमा यँवाल थरका नेवार गुठियारले बेत कँस्ने र बाराही थरका गुठियारले काठ सम्बन्धि सम्पूर्ण काम गर्छन। रथको धःमा र पाङ्ग्रा सिंगार्न चार जना चित्रकारको समूह हुन्छ। नेकु भनिने कलाकारले सुनको कोदालो प्रयोग गरेर स्वयम्भुबाट ल्याएको माटोबाट रातो मच्छिन्द्रनाथको मूर्ति बनाउँछन्। जात्राको बेलामा भक्तजनले अनियन्त्रित ढङ्गले रथ ताने त्यसलाई रोक्न काठको 'बे्रक' (घकु) लगाउने छुट्टै समूदाय हुन्छ। रथ निर्माणमा आइपर्ने फलामको काम गर्ने नकर्मीको गुठी हुन्छ, दशौ क्विन्टलको तौल हुने विशाल रथमा एउटा पनि फलामको किला प्रयोग गरिदैन। जात्राको क्रममा रथमा जम्मा भएको फोहोर व्यवस्थापन गर्नेहरूको टोली समेत छुट्टै हुन्छ । काठ र बेतको कुशल संयोजनबाट रथ मजवुत हुने बताउने कालिगढ का अनुसार पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा अग्लो हुने रथ आधा ढल्कदा समेत पल्टिदैन। निकै अग्लो र सन्तुलित ढङ्गले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुनामा पर्छ। पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ। यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ।
रातो मत्स्येन्द्रनाथको रथारोहण आज वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति
रातो मत्स्येन्द्रनाथको रथ तान्ने आज वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२३ मिति
मत्स्येन्द्रनाथको रथ तान्न घुइँचो वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
रातो मत्स्येन्द्रनाथको रथ आज थती टोल पुर्याउने वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
This article uses material from the Wikipedia नेपाली article रातो मच्छिन्द्रनाथको रथयात्रा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.