धादिङ (धादिङ्ग) नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ। त्रिशूली र बूढीगण्डकी यस क्षेत्र हुँदै बग्ने प्रमुख नदी हो ।
धादिङ जिल्ला |
---|
स्थानीय आदिबासी चेपाङ (प्रजा)को भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ। चेपाङहरू पहिलेदेखि नै यहाँ बसोवास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामूखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाटै नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रूतीले यहा जनसमर्थन पाएको छ।
पहाडी भू-भागमा अवस्थित धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृङ्खलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। यस जिल्लामा लेक, बेंसी, नदीनाला, टार र फाँटहरू रहेका छन्। धादिङ जिल्लाको अधिकांश भू-भाग पहाडले ओगटेको छ। न्यून भू-भाग हिमालको आसपासमा पनि रहेको छ। त्यसैगरी त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला लगायत पश्चिममा बगेको बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन।
त्रिशुली नदी, आँखु खोला, थोप्पल खोला, आँसी खोला, कोशी खोला, महेशखोला लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ।
धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ।
यस जिल्लामा ढुंगा बालुवा मार्वल स्लेट चुनढुङ्गा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरू रहेका छन्।
यस जिल्लाको धेरैजसो बेंसी फाँट तथा टारहरूमा बजारको विकास भएको छ। यहाँ रहेका बजारहरूमा धादिङबेंसी आरुघाट विशालनगर किन्तान्गफेदी गजुरी मलेखु नौबिसे चरौंदी बेनीघाट महादेवबेंसी कटुन्जे रिङ्ने बैरेनी नौबिसे धौखोला आदि रहेका छन्।
This article uses material from the Wikipedia नेपाली article धादिङ जिल्ला, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.