पिपलकोट भेरी अञ्चलको दैलेख जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । विक्रम संवत २००७ अघाडी यो गाविसमा चारवटा मौजा थिए अथवा यो गाविसलाई चार भागमा विभाजन गरिएको थियो भने विक्रम सम्वत् २०१८ सालको आधुनिक नेपालको ढाँचा बने पछि सिंहासैन गाविसमा गाभिएको थियो । पछि गएर विक्रम सम्वत २०३८ सालमा पिपलकोटका केही बुद्धीजिवी व्याक्तीहरूको अथाह प्रयासपछी यो गाविस सिंहासैन गा.वि.स.बाट अलग भएको थियो । कर्णाली नदीको काखमा अवस्थित यो गा.वि.स.को अक्षांश र देशांतर २९.९ उत्तर देखी ८१.५४ पूर्व सम्म रहेको छ । समुद्र सतह देखी यो गा.वि.स १५९१ मिटर (५२१९ फुट) उचाइँमा रहेको छ ।
पिपलकोट | |
---|---|
देश | नेपाल |
अञ्चल | भेरी |
जिल्ला | दैलेख |
सरकार | |
• प्रकार | वडापालिका |
• अध्यक्ष | बजिर सिंह बि क |
जनसङ्ख्या (२००१) | |
• जम्मा | ३९३१ |
समय क्षेत्र | युटिसी+5:45 (समय क्षेत्र) |
पूर्वकालमा पिपलकोटको तोलिचाका भन्ने गाउँमा बाघे र भौंरे नाम गरेको दुई भाइहरू कोटे राजाको रूपमा राजा भएर राज्य गर्दथे । ति बाघे भौंरेले सिंहासैनका तत्कालिन कोटे राजालाई दुःख दिएकोले सिंहासैनका कोटे राजाले चामुण्डाको तिलुखानाबाट हंशे र कण्ठे नामका आपन्तलाई आफ्नो सहयोगको लागि बोलाएर ल्याएका थिए । ति हंशे र कण्ठेहरूले लडाइँ गरेर बाघे र भौंरेलाई मारी यो गाउँलाई सिंहासैनमा नै गाभेका थिए । बाघे भौंरेलाई मार्न हंशे कण्ठेलाई निकै मिहनेत गर्नु परेको थियो । त्यसपछी यो गा.वि.स. लगायत यहाँको सबै क्षेत्रहरू दुल्लू राज्य को अधिनस्थ भएको थियो । दुल्लु राज्यको अधिनस्थ भएका बेला यो गाविस आठबीस दरामा पर्दथ्यो । त्यो बेला यो गा.वि.स.लाई तोलिचाखा मौजा, पातेमेला मौजा, चिउरी मौजा र गोर्खी मौजामा विभाजन गरिएको थियो । २०१७ साल पछि यो गा.वि.स.का सबै मौजाहरूलाई पुनः सिंहासैन गा.वि.स.मा गाभिएको थियो । त्यसपछी २०३८ सालमा सिँहासैन गा.पं.बाट पिपलकोट गाउँ पञ्चायत अलग भएको थियो । चिउरी डाँडामा रहेको पिपलको रुख र "कोट" भन्ने ठाउँको नामबाट लक्षिराम जैसी लगायतका केही बुद्वीजिवीहरूले यस गा.वि.स.को नाम पिपलकोट राखेका थिए। लक्षिराम जैसी यो गा.वि.स.का नागरीकहरूमा पहिला शिक्षक हुन्। उनी श्री दिप मा.बि.का तत्कालीन प्रधानाध्यापक थिए। यो गा.वि.स.स्थापना भएको सालबाट हाल सम्म जम्मा चार जना प्रधान पञ्च तथा गा.वि.स. अध्यक्षहरू बदलिएका छन्। यो गा.वि.स.का पहिला प्रधान पञ्च दत्त प्रसाद जैसी हुन्। यो गा.वि.स.लाई सिँहासैनबाट अलग गराउनमा दत्त प्रसाद जैसीको ठूलो योगदान रहेको थियो। सिँहासैन र पिपलकोट अलग नहुनु अघाडी पनि दत्त प्रसाद जैसी प्रधान पञ्च रहि सकेका थिए। हाल सम्म पिपलकोटमा पदाधीकारी भएका सबै व्याक्तीहरूको विवरण यस प्रकार रहेको छ:-
यो गा.वि.स.बाट आज सम्म गाउँ स्तर भन्दा माथिल्लो निकायको लागि २ जनाले उम्मेदवारी दिएका छन्। जसमा विक्रम सम्वत २०४३ को स्थानिय चुनावमा दत्त प्रसाद जैसीले जिल्ला पत्र्चायत सदस्यका लागि उम्मदवारी दर्ता गराएका थिए। यसैगरी विक्रम सम्वत २०७० को संविधान सभाको चुनावमा राम प्रसाद जैसीले अखण्ड नेपाल पार्टीका तर्फबाट दैलेख क्षेत्र नम्वर २ लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दिएका थिए। अब यो गाविस लगायत आसपासका गाविसहरूलाई जोडेर दैलेख जिल्लाको आठबिस नगरपालिका बनाइएको छ ।
कर्णाली नदीको काखमा अवस्थित यो गाविस समुद्र सतहबाट १५९१;मिटर (५२१९ फुट) उचाइँमा रहेको छ । यो गाविसको भौगोलिक स्थिति भन्नु पर्दा यो एक विकट पहाडी र नदी तटिए गा.वि.स. हो। यो गा.वि.स.को सिमाना दक्षिणमा बाहाकोट, पश्चिममा सिंहासैन र राकम कर्णाली , उत्तरमा कर्णाली नदी तथा अछाम जिल्लाको कालेगाँडा गाविस, पूर्वमा कालिकोट जिल्लाको भर्ता गा.वि.स. सँग जोडिएको छ। यो गा.वि.स.को माथी पट्टी किलाहान्ना, गोइचाखर्क, भलाने, मुग्राहाँ, भित्रीखोला, आदी लेखहरू पर्दछन् यहाँका लेखहरूमा सतुवा, हातजरी, पाँचऔंले जस्ता वनौषधीहरूका साथै रतुवा, घोरल, भालु, बाघ, थारल, बँदेल जस्ता जंगली जनावर र कालिज, प्याँउरा आदि जंगली चराहरू पाइन्छन्। यस गा.वि.स.को तल पट्टी कर्णाली नदी पर्दछ। यसको पूर्वमा बग्ने राँगोरहे खोला, बिचमा पर्ने खुनगाड खोला र पश्चिममा पर्ने ढोर खोला यहाँका मुख्य पानीका श्रोतहरू हुन्। यहाँ ठूला साना धेरै भिर पाखाहरू छन्।ति मध्य चुईके भिर, कोटे भिर, बान्ने भिर, भेरे पगार मुख्य हुन्। यहाँका भिरहरूमा जंगली मौरी (जसलाई भिरमौरी अथवा "भेरा" भनिन्छ) र सिलाजित प्रसस्त मात्रामा पाइन्छ।
पिपलकोट गा.वि.स.मा जैसी, ठकुरी, मगर, बस्नेत, बिष्ट, थापा, कामी, दमाई, भण्डारा, पुरी आदी जातीहरूको बसोवास रहेको छ। यो गाविसको जनसङ्ख्या ३,९३१ रहेको छ। यहाँ ६१९ वटा घरधुरीहरू छन्।
पिपलकोट गा.वि.स.मा साना ठूला गाँउहरूत धेरै छन्। यो गा.वि.स.गाउँ नै गाउँहरू मिलेर बनेको छ।ति मध्य यो गा.वि.स.का मुख्य गाउँहरू यस प्रकार रहेका छन् :-
क्रम सङ्ख्या | गाउँको नाम | वडा नंवर |
---|---|---|
१ | तोलीचाका | १,२ |
२ | जामनेपानी | ६ |
३ | पातेमेला | ४ |
४ | किटु | ५ |
५ | छाम | ६ |
६ | चिउरी | ७ |
७ | गोर्खि | ८ |
८ | लयपातल | ९ |
९ | सुँगरखाल | १ |
पिपलकोट गा.वि.स.मा विभिन्न जात जातीहरूको बसोवास छ। यसैगरी यहाँका वासिन्दाहरूका आफ्नो-आफ्नो परम्परा र रिति रिवाज अनुसारका चाडपर्व, भेषभुषा, खानपान, रहनसहन छन्। यहाका वासिन्दाहरूमा कसैले मगर खाम बोल्छन् भने धेरैजसोले नेपाली भाषाको प्रयोग गर्दछन्। यहाँका मानिसहरूले मनाउने मुख्य चाड पर्वहरू यस प्रकार रहेका छन्।
माथी उल्लेखित चाडपर्वहरू बाहेक यहाँका वासिन्दाहरूले आफ्नो आफ्नो परम्परा अनुसारका चाडपर्वहरू मनाउने गर्दछन्। यहाँका उत्सवहरूमा देउडा नाच, मारुनी नाच, दोहरी गीत, हुड्केली नाच, न्याउले, नगरानाच, रत्यौली आदि सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिन्छन्। यहाँ विवाहा, ब्रतबन्ध, न्वारन आदी उत्सवहरूमा पनि माथी उल्लेखीत सांस्कृतीक कार्यक्रमहरूको आयोजना गर्ने प्रचलन रहेको छ। भेषभुषा रहन सहन खान पान पहिलेका दिनहरूमा फरक फरक भए फनि हाल आएर एक रुपता पाईएको छ। पहिलेका दिनहरूमा आफ्नो जात अनुसारको वृती गर्ने यहाँका वासिन्दाहरूको अब कृषि, व्यापार र नोकरी मुख्य पेसा भएको छ। सधैं जसो मेलापात घट्ट, ढिकी, जाँतो, खेत खेताला गरेर दिन विताउने यहाँका मान्छेहरू अब आधुनिक युग तिर ढल्केको अनुभव गर्न सकिन्छ। २०६८ को जनगणना अनुसार यहाँको शाक्षरता ५५% रहेको छ।
पिपलकोट गा.वि.स.को चिउरीमा रहेको वीर खम्बा र मुग्राहाँ(ढुङ्गे धारो)लाई यो गा.वि.स.कै पुरातात्वीक सम्पदाहरूको रूपमा लिइन्छन्। स्थानियवासीहरूमा भएको चेतनाको कमिले गर्दा यी संपदाहरू जिर्ण अवस्थामा रहेका छन्। यसैगरी मुग्राहाँको पातलमा रहेको ढुङ्गेधारो पनि यो ठाउँको पुरातात्वीक सम्पदा नै हो तर सम्पदाको सुरक्षा हुन नसकेको कारण हाल यो मुग्राहाँमा प्रयोग भएका ढुङ्गाहरू कसैले चोरेर लगी सकेको थाह हुन आएको छ। यती हुँदा हुँदै स्थानिय स्तरबाट कुनै पनि पहल नगरिएको कारण यी पुरात्विक सम्पदाहरूको सम्बन्धीत निकायमा कुनै पनि जानकारी भएको छैन। धार्मिक सम्पदाहरूमा यहाँको चलन अनुसार पूजा गरिने देवी देउताहरूका स्थान(मन्दिर) पर्दछन्। देवस्थानलाई स्थानिय भाषामा थान भन्ने गरिन्छ जसमा अजमारे माईस्थान, ढ्याकीढुङ्गा माईस्थान, डुप्केगरा माईस्थान, पैयाँसैनी नैनेलस्थान, गोर्खी नैनेलस्थानका साथै अन्य देवस्थानहरू पर्दछन्। यि देवस्थानहरूमा पुजा गरिने दिन छेमेकी जिल्ला कालिकोट, अछाम, सुर्खेत, बर्दिया, कैलाली आदी विभिन्न ठाउँका भक्तजनहरू भेला हुने गर्दछन्।
भौगोलिक हिसाबले विकट देखिए पनि पिपलकोट गा.वि.स. प्राकृतिक छटाले भरिपुर्ण छ। वन सम्पदाको धनी रहेको यो गा.वि.मा वर्षै भरी जता ततै हरियाली नै हरियाली देखिन्छ। यहाँबाट उत्तर तिर देखिने हिमालयका चुचुराहरूमा घाम उदाउदा र अस्ताउदाको दृश्य अति नै मनमोहक लाग्दछ। असोज कार्तिक र मंसिरमा खेतहरूमा लहलह झुलेका धानका बालाहरूलाई हेर्दा कसैलाई ढोग गर्दै छन् जस्तो लाग्दछ। बोटभरी लटरम्म फलेका सुन्तला, ज्यामिर, कागती आदी फलहरूले जता ततै सौन्दर्यता छाहको हुन्छ। प्रत्यक घरहरूमा मकैका सुलीहरू देखिन्छन्। घर वरपर सयपत्री, गोदावरी, मखमली, गुलाब, सूर्यमुखी आदी फूलहरूको सुवास छरिएको हुन्छ। मेल, भकिमिलो, भलायो, वन लसुन आदी जंगली फलफूलहरूले प्रकृती सजिएकी हुन्छीन। पुस माघ र फाल्गुणमा चिसो बढ्छ गा.वि.स.को अग्लो भु-भागहरूमा हिम पात भएमा सेतै फुलेका केशहरू जिग्रिङ्ग फिजारे बुढीया बसे झैं लाग्ने यो गा.वि.स.को किलाहान्ना, भलाने, गोईचाखर्कको दृष्य अझैं मनमोहक लाग्दछ। चैत बैसाख र जेठ महिनामा उतिस, अयाँर, साल आदीमा नयाँ पालुवाहरू आएर बसंत ऋतुको स्वागत गर्दछन्। काग, कोइली, ढुकुर, कालिज, न्याउली आदी चराहरूको स्वरले वन पाखा गुंजायमान हुन्छ। यसै गरी गुराँस, काफल, चुत्रो, ऐँसेलु, घँगारु, हिमाली गुलाव, गुएँली आदी जंगली फलफूलहरूले प्रकृती शोभायमान देखिन्छ भने बारीमा स्याउ, नास्पाती, आरु, आँप आदी लटरम्म फलेको फलहरू वनपाखामा गुंजिने बाँसुरीको धुन गाई, भैंसी, बाख्रा आदी घर पालुवा जनावरको मुखबाट निस्किने आवाज र घाँडोको आवाजको साथमा गोठालाहरूको सुसेली, झ्याउरे, ठाडीभाका र न्याउले तथा खेतबारीमा गहुँ, जौका बालाहरू देख्दा यहाँको सौन्दर्यताको बखान गर्न सकिन्न। असार श्रावण र भाद्र महिनामा कृषकहरू खेतबारीमा पानिमा भिज्दै असारे गीतको साथमा स्याँकु ओढेर रोपाईं, गोडाई गर्नमा तल्लिन देखिन्छन भने प्रकृतीले यहाँको दृष्य निकै रमणिय बनाएको हुन्छ। घना वन जंगलको वीचमा अल्लो, सिस्नो, लिउँरो निंगालो आदीका झाडीहरूको वीचबाट कलकल गर्दै निस्केर ठुलो झरनाको रुप लग्दै बग्ने खोलाहरूको सौन्दर्यता निकै मनमोहक देखिन्छ। साँझपख वनपाखामा गुंजीने झ्याउँकिरीको आवाज र धानको खेतमा भ्यागुताको ट्वार ट्वारले हर कसैको मन लोभ्याउँछ।
पिपलकोट गा. वि. स. पिछडियको गा.वि.स. भएकोले पहिलेका दिनहरूमा यहाँका वासिन्दाहरूले धेरै दुःख खेप्नुपरे पनि हालमा आएर यहाँ केही सुविधा मुलक कार्यहरू हुँदै आएका छन् । पिपलकोट हुँदै जाने कर्णाली राजमार्गका कारण यातायातको सुविधा राम्रै भई रहेको छ भने स्थानिय खिड्किज्युला, मालाचौर र रातिमाटा बजारबाट दैनिक उपभोग्यका सामानहरू सजिलै उपलब्ध गर्न सकिन्छ । पहिलेका दिनहरूमा घिउ बेचेर नुन लिनलाई कम्तिमा २० दिन लगाएर बाँकेको नेपालगञ्ज, बर्दियाको राजापुर, कैलालीको कटासें, सुर्खेतको विरेन्द्र नगर सम्म पुग्नु पर्थ्यो । अछाम र कालिकोटमा बनेका नमस्ते, स्काई, स्मार्टसेल, र एनसेलका मोबाइल टावरहरू र रेडियो स्टेशनले गर्दा यहाँ संचारको राम्रो प्रवंधको साथै इन्टरनेटको पँहुच पनि राम्रो छ। पहिलेका दिनहरूमा इलाका हुलाक कार्यलय राकम कर्णाली जान एक दिन पुरा हिंडेर जानु पर्थ्यो । पहिले रेडियो नेपाल मात्र सुनिने यो गा.वि.स.को समाचारहरू बाहिर प्रसारण गर्न यात कालिकोटको मान्म यात दैलेख सदरमुकाम जानु पर्थ्यो मान्म जान एक दिन पैदल जानु पर्थ्यो भने दैलेख जान तिन दिन । पिछडियको गा.वि.स. भएकोले सफरस नेपाल, सामाजिक सेवा केन्द्र (सोसेक), दैलेख, केयर नेपाल, हेल्पटास आदी संस्थाहरूको सहयोग जारी छ । विकासको गतिविधीहरू तिब्रतर रूपमा बढेका छन् । वि. सं २०६९ चैत्र महिनाको २७ गतेबाट यो गा.वि.स.लाई खुला दिशामुक्त गा.वि.स. घोषणा गरिएको छ भने २०७१ चैत्र १८ गते देखि यो गाविसलाई छाउपडी मुक्त गाविस घोषणा गरिएको छ । गा.वि.स. स्थित स्वास्थ्य चौकिमा स्वास्थे सम्बन्धीका सबै सुविधाहरू उपलब्ध छन्। पहिलेका दिनहरूमा अस्पतालको लागि एक दिन हिंडेर लकान्द्र अथवा मान्मा जानु बाहेक अर्को विकल्प थिएन । पिपलकोट गा.वि.स.को तोलिचाखाको विद्यालयले माध्यमिक विद्यालयको अनुमति पाएकोले र राकम कर्णालीमा एस्.एल्.सी को परीक्षा केन्द्र सञ्चालन भएकोले यहाँका बालबालीकाहरूलाई माध्यमिक तहको शिक्षा लिन सजिलो भएको छ । पहिलेका दिनहरूमा माध्यमिक तहको शिक्षा हासिल गर्न कम्तिमा एक दिनको पैदल दुरी पार गरेर तिलेपाटा, चामुण्डा, दुल्लु, कालिकोट, अछाम पुग्नु पर्थ्यो । एस्.एल्.सीको परीक्षा दिनको लागि दैलेख अथवा दुल्लु जानु पर्थ्यो । यसका साथै सिंहासैन, तिलेपाटा र राकम कर्णालीमा सञ्चालन भैरहेका १०+२ का साथै तिलेपाटा स्थित क्यापसले यो गा.वि.स.का छात्र छात्राहरूला उच्च शिक्षाको पनि राम्रो सुविधा भएको देखिन्छ । पहिलेका दिनहरूमा उच्च शिक्षाको लागि सुर्खेत नेपालगञ्ज जानु बाहेक अर्को विकल्प थिएन। यो गाविसमा हालसम्म एक माध्यमिक विद्यालय, एक निम्न माध्यमिक विद्यालय र ६ वटा प्राथमिक विद्यालयहरू सञ्चालनमा रहेका छन् ।
यहाँ पुग्नको लागि निम्न मार्गहरू रहेका छन्।
देवस्थानमा जाने भक्तजनहरू बाहेक अन्य पर्यटकहरूको लागि शरद ऋतु, वसन्त ऋतु र गृष्म ऋतुको समय अनुकुल हुन सक्छ। पैदल घुम्नु पर्ने भएकोले अन्य समयमा यहाँ वर्षा याममा जुका लाग्छन् भने हिउँदमा चिसो हुन्छ। हिम क्रिडा गर्नको लागि यो गा.वि.स.मा पौष देखी फागुन सम्म पानी परेको दिन अनुकुल हुन सक्छ र कर्णाली नदीमा जल क्रिडा गर्नेहरूको लागि असोज देखी जेठ सम्मको समय अनुकुल हुन सक्छ। वर्षा याममा कर्णालीमा पानीको गति तेज हुन्छ। जसले गर्दा पानीमा डुंगा चलाउन सकिन्न। देवस्थानहरूमा दर्शन पूजा आदी गर्न जाने भक्तजनहरूले जुन दिन पूजा छ त्यही दिन जान राम्रो हुन्छ किन भने अन्य दिनमा मन्दिरहरूका ढोका बन्द हुन्छन्।
This article uses material from the Wikipedia नेपाली article पिपलकोट, दैलेख, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.