गुरुङ नेपालको मध्यमाञ्चल क्षेत्रका जातिगत समुह हुन्। गोर्खाली राजा पृथ्वीनारायण शाहको ४ जात (गुरुङ,खस,मगर र ठकुरी हुन्। गुरुङहरू मुख्यत: गण्डकी अञ्चलमा बसोबास गर्दछन्, खासगरि लमजुङ, कास्की, तनहुँ, गोर्खा, पर्वत, स्याङ्जा र अन्नपूर्ण हिमशृङ्खला आसपास मनाङ जिल्लाहरूमा गुरुङहरूको बाहुल्यता रहेको छ। कोही बागलुङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाहरूमा र माछापुच्छ्रे आसपास पनि बसोबास गर्दछन्। थोरै सङ्ख्यामा भएपनि सिक्किम र भुटानमा समेत बसेको अनुमान गरिन्छ।
जम्मा जनसङ्ख्या | |
---|---|
५,४३,५७१ | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
नेपाल | |
भाषाहरू | |
गुरुङ, मनाङ, लोके, सेके | |
धर्महरू | |
बहुमत बोन धर्म |
वि.सं २०५८ तथ्याङ्क अनुसार ५४३,५७१ गुरुङ (तमु) (नेपालको कूल जनसङख्याको २.३९%) छन् जसमध्ये ३३८,९२५ गुरुङ भाषा बोल्दछन्। तिब्बतको दक्षिणी जिल्लाहरूमा गुरुङ जातिको उत्पत्ति भएको मानिन्छ। केही मानव इतिहासविद्हरूका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल जातिबाट उत्पत्ति भएका विश्वास गर्छन् र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएको पनि बताइन्छ तर केही विद्वान् भने गुरुङहरू मङ्गोलियाबाट बसाइँसराइ गरि आएकोमा आफ्नो मत व्यक्त गर्छन्।
मनाङबाट सन् ५०० तिर केही तमुहरू शिकार खेल्दै उत्तरी भेकबाट अन्नपूर्ण शृङ्खलापार गरी दक्षिणी भेकमा आएका थिए। तिनीहरूले त्यो लेकाली भूमि मन पराएकोले त्यहा केही अन्नको बीउ छरेर फर्के दोस्रो पटक आउदा त्यहाँ उनीहरूले सप्रेको बाली पाए। तेस्रो पटकमा तीनवटा थरका तमुहरू त्यहा आएर तीन समूहमा बस्ती बसाली क्होल सोप्रे ट्हो (गाउँ) नामाकरण गरे। हिमाल वारि दक्षिणी भेकमा यो तमुहरूको पहिलो ऐतिहासिक गाउँ थियो र एकताबद्ध आखिरी गाउँ पनि बन्यो। त्यस पछि मनाङ मुस्ताङबाट अरु तमुहरू पनि बसाई सर्दै आए। मुस्ताङमा बाकि रहेका तमुहरू पछि थकाली (ताम्हा) बने।
नेपालको यस प्रमुख जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङहरूले गुरुङ भाषामा आफूलाई तमु भन्छन्। तमु र गुरुङ एउटै जातिलाई जनाउने दुईवटा नामयोग शब्द हुन्। तमु दुईवटा अक्षरहरू मिलेर बनेको शब्द हो। तमुको तले वज्र, माथि, घोडा र वञ्चरोलाई जनाउँछ भने मुले आकाशलाई जनाउँदछ। समग्र रूपमा तमुले आकाशको वज्र, घोडा भएका अथवा पालक तथा लेकाली मानिस भन्नेे बुझिन्छ। तिब्बती भाषा अनुसार, गुरुङ शब्द ‘ग्रोङ’ शब्दबाट बनेको हो जसको अर्थ किशान वा कृषक भन्ने हुन्छ। तिब्बती भाषाको घोरुङ शब्दको अपभ्रंश भएर गुरुङ भएको पनि मानिन्छ। गुरुङ जातिलाई नेपाल सरकारले नेपालका प्रमुख जनजातिमा सूचीकृत गरेको छ। हालको गण्डक क्षेत्र अर्थात् कालीगण्डकी र बुढीगण्डकी बीच भागमा गुरुङ जातिहरूको थातथलो हो। गुरुङ जाति र भाषा सम्बन्धित दस्तावेजहरूमा, १४०० वर्ष अगाडि, मङ्गोलिया देशको वरिपरिबाट यस जातिको सांस्कृतिक विकास भएको मानिन्छ। विभिन्न देश तथा क्षेत्रहरू पार गर्दै चीनको तिब्बत हुँदै गुरुङहरू नेपालमा भित्रिएका थिए, सुरुवातमा नेपालको अन्नपूर्ण हिमालको वारीपारीबाट हालको मनाङ, मुगु, डोल्पा र मुस्ताङ हुँदै गण्डक क्षेत्रमा प्रवेश गरे पश्चात् संखुवासभा जिल्लाको रुम्जाटारबाट बसाई सर्दै पूर्व तर्फ धनकुटाको मादीखर्क ताप्लेजुङ, पाँचथर, इलाम, सिक्किम, दार्जिलिङ, आसाम, मणीपुर र म्यानमारसम्म फैलिएर बसेको थियो।
एघारौँ राष्ट्रिय जनगणना २०६८को अनुसार, गुरुङ जातिको कुल जनसङ्ख्या ५,२२,६४१ रहेको थियो जसमध्ये पुरुषको जनसङ्ख्या २,८३,७८० र महिलाको जनसङ्ख्या २,३८,८६१ रहेको थियो जसमध्ये ३,२५,६२२ ले मातृभाषाको रूपमा गुरुङ भाषा बोल्दछन्। गुरुङ भाषालाई वक्ताहरूले तमु क्यी भन्छन्। गुरुङ भाषा भोट बर्मेली भाषा परिवार अन्तर्गत पर्दछ। यो भाषा देवनागरी र खेमाप्ही लिपिमा लेखिन्छ। गुरुङ भाषा बोल्ने वक्ताहरूको सङ्ख्या २०६८ सम्म, १.२३% रहेको छ। नेपालका तिब्बती भाषा परिवारका विभिन्न भाषा समूहमध्ये थकाली भाषा र तामाङ भाषासँग गुरुङ भाषाको धेरै नजिकको सम्बन्ध रहेको छ।
एघारौँ राष्ट्रिय जनगणना २०६८ सम्म, गुरुङ जातिको जनसङ्ख्या ५२,२२,६४१ रहेको थियो जुन नेपालको कुल जनसङ्ख्याको २.०% रहेको थियो। मनाङ (५२.४%), लमजुङ (३१.३%), मुस्ताङ (२१.४%), गोरखा (१६.७%), कास्की (१६.६%), तनहूँ (११.५%), स्याङ्जा (९.०%), डोल्पा (७.१%), चितवन (६.८%) , धादिङ (५.५%), सङ्खुवासभा (५.४%), ताप्लेजुङ (४.६%), पर्वत (३.७%), रसुवा (३.१%), तेहरथुम (२.९%), इलाम (२.९%), काठमाडौँ (२.७%), नवलपरासी (२.४%) र रूपन्देही (२.०%) गरि माथि उल्लेखित जिल्लाहरूमा राष्ट्रिय औसत भन्दा गुरूङ जनताको आवृत्ति बढी थियो।
गुरुङ जातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानुनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी विवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ। खेगी चोँगी र पैँडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अङ्ग हुन्। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिँ काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्याएको छ।
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै विशिष्ट परम्परा अझैसम्म रहेको पाइन्छ। यस जातिको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तर्गत, गुरुङहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।
उपनाम भएका उल्लेखनीय व्यक्तिहरू समावेश छन्:
This article uses material from the Wikipedia नेपाली article गुरुङ जाति, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.