अमरसिंह थापा (प्रधानमन्त्री भीमसेनका पिता अमरसिंह थापा (सानुकाजी) अर्कै व्यक्तित्व हुन्) नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर हुन्। उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छन्। उनी निर्भय, पराक्रमी, युद्धचातुर्य, इमान्दार र विश्वासी भएकोले राजा रणबहादुर शाहको पालामा अङ्ग्रेजहरूसँगको युद्धमा सुदूर पश्चिमाञ्चलको रक्षाको जिम्मा पाएका थिए। उनी र उनका सैनिकहरू लङ्गुरगढी छोडी १००० कि।मि.
३० दिनमा पार गर्दै मातृभूमिको रक्षार्थ दोस्रो नेपाल तिब्बत युद्धमा नुवाकोट आइपुगेका थिए। त्यस ताका अमरसिंह थापालाई अङ्ग्रेज तर्फका जनरल अक्टरलोनीले ठुलो प्रलोभन देखाउदा पनि अनि त्यस्तो लोभ लालचमा नफसी राष्ट्रिय हितलाई सर्वोपरि ठानी वीरता पूर्वक अङ्ग्रेजसँग लडेकाले हामी उनीलाई राष्ट्रिय विभूतिको रूपमा सम्मान गर्दछौँ।
श्री बडाकाजी जर्नेल अमरसिँह थापा | |
---|---|
उपनाम(हरू) | ज्यूँदो बाघ, बडाकाजी, जर्नेल अम्वरसिंह |
जन्म | वि.सं. १८०८ जनै पूर्णिमा सिरानचोक, गोरखा जिल्ला |
मृत्यु | वि.सं. गोसाइँ कुण्ड, रसुवा जिल्ला |
निष्ठा | नेपाली |
सैन्य क्रम | जनरल |
युद्ध | नेपाल अङ्ग्रेज युद्ध, नेपाल-तिब्बत युद्ध वा नेपाल-भोट युद्ध नेपाल-शिख युद्ध |
पुरस्कारहरू | राष्ट्रिय विभूति |
सम्बन्धहरू | ५ छोराहरू रणजोर सिंह थापा, रणध्वज थापा, रामदास थापा, नरसिंह थापा |
पृथ्वीनारायण शाहको समयदेखि चार पुस्ताका राजाको शासनकालमा बडाकाजी अमरसिंहले नेपालको राज्य विस्तार र रक्षाका लागि ठूलो पराक्रम देखाए। तर, जीवनको अन्तिम समयमा भूमिकाविहीन अवस्थामा विरक्त भएर तीर्थयात्राकै क्रममा ६५ वर्षको उमेरमा उनले प्राण त्यागे।
उनको जन्म वि. सं. १८०८ मा गोरखाको सिरानचोकमा जनै पूर्णिमाको दिन भीम सिंह थापा र उमादेवीका पुत्रको रूपमा भएको हो। उनका पिता भीम सिंह थापाले कीर्तिपुरको पहिलो युद्धमा ठूलो वीरता देखाएकाले पृथ्वीनारायण शाहले उनलाई 'बाघ'को उपाधी दिएका थिए।
बाघ भीम सिंहले पलाञ्चोकको युद्धमा वीरगति पाएपछि अमरासिन्घाले मरवट प्राप्त गरी गोरखा दरबारमा हुर्किए र उमेर पुगेपछी उनले पिताको स्थान लिए। उनी रणजय (रन्जै) थापाका नाति हुन् भनी बालकृष्ण समको कृति अमरसिंहमा समेत लेखिएको छ।
थापा वंशावलीका अनुसार बडाकाजी अमरसिंह थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन्। काजी वीरभद्र थापा पनि २३ औँ पुस्ता हुन भनी लेखिएको छ। उनका चारवटी मुखिनी भएको कुरा उनै राख्न लाएको अभिलेखबाट थाहा पाइन्छ। जेठीको नाउँ धर्मावती, माहिलीको नाउँ रुद्रावती, साहिँलीको नाउँ धर्मदेवी र कान्चीको नाउँ लालवती हो भनेए त्यही अभिलेखमा लेखिएको छ।
उनका पुत्र काजी रणजोर सिंह थापाले पनि उनीसँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए। उनका अर्का पुत्र रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी काजी थिए। त्यस्तै अर्का छोरा नरसिंह थापाको मोहरछाप मकवानपुरको एक पत्रमा पाइएको थियो।
आज पनि उनलाई नेपालको ज्यूँदो बाघ मानिन्छ।[स्रोत नखुलेको] उनलाई एसियाली वीरहरू सँग तुलना गरिन्छ। डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको नाम यिनको नाममा राखिएको हो। अमरगढी किल्लामा यिनको यो प्रसिद्ध भनाइ सहितको मूर्ति छ। प्रसिद्ध भनाइ: "म बाघको बच्चा डमरू हुँ, सिनो खाने कुकुर हैन।"
१३ असोज १८२५ मा गोरखालीले कान्तिपुर विजय गरे। त्यस लगत्तै पृथ्वीनारायणले अमरसिंह थापा र रामकृष्ण कुँवरलाई एकै दिन सरदारीको पगरी पहिराइदिएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी–२०६१ः३५१)। त्यस वेला अमरसिंह केवल १७ वर्षका थिए। सरदारी पद पाउनुअघि उनी जेठा बूढाको पदीय दायित्व निर्वाह गर्ने जिम्मेवारी लिएर युद्धमैदानमा उत्रेका थिए (डा. इन्दिरा जोशी, ‘आधुनिक नेपालको निर्माणमा बडाकाजी अमरसिंह थापाको योगदान’–२०६३ः६)।
अमरसिंह थापाले अंग्रेजको शक्तिलाई नजिकबाट बुझ्न सफल भएका थिए। त्यसैले उनी अंग्रेज संग युद्ध नभई मित्रता कायम गर्न चाहन्थे। उदाहरणको लागि किल्ला काँगडाको पराजयपछी उनको जनरल अक्टरलोनी संग पत्राचार गरी सिन्धुको किनारसम्म पन्जाब राज्य जिती बाँडेर लिने प्रस्ताव राखेका थिए। त्यसै गरी लुधियानामा रहेका अंग्रेज जनरल अक्टरलोनीका छोरासंग आफ्नो छोरा रामदासको मित लगाइदिएको कुराबाट पनि उनले अंग्रेजहरू संग मित्रता कायम गर्न प्रयास गरेको थिए भन्ने प्रमाणित हुन्छ।
विभिन्न कारणबाट अङ्ग्रेज संग हुने देखिएपछी अंग्रेज संग युद्ध गर्ने कि नगर्ने भन्ने विषयमा दरबारमा एक सभाको आयोजना गरियो। उक्त सभामा धेरै जसो भारदारले अंग्रेज संग युद्ध गर्न नहुने रे व्यक्त गरेका थिए। त्यतिबेला नेपालले महाकाली देखि पश्चिमतर्फ विजय गरेका राज्यमाथि राम्रो संग नियन्त्रण गर्न सकेको थिएन र ती राज्यका भूतपूर्व राजा र जनताले अंग्रेजलाई नै सहयोग गर्ने सम्भावना थिए। त्यसैले अंग्रेजले दावी गरेको भूमी दिएर भएपनि युद्ध रोक्नुपर्ने उनीहरूको भनाई थियो। त्यसै गरी युद्ध गर्ने कि नगर्ने भन्ने विषयमा बुझ्न राजा गीर्वाणयुद्ध विक्रम शाहको नामबाट अमरसिंह थापा, हस्तदल शाही, बम शाह आदीलाई पत्र पनि पठाइयो। तत्कालीन समयमा नेपालको सैनिक शक्ति अंग्रेजको भन्दा कमजोर थियो. त्यसैले अंग्रेजसंग अहिले युद्ध नगरौ, उनीहरूले मागेको बुटवल र स्युराज दिएर युद्ध रोकौं र नेपालले सैनिक सुदृढ गरेपछि आवश्यक परेमा युद्ध गरौला भन्ने सल्लाह अमर सिंहले दरबारमा पत्र पठाएर दिएका थिए। उक्त पत्रको व्यहोरा यस प्रकार थियो,
“ | अंग्रेजहरू नेपालभन्दा शक्तिशाली भएकाले नेपालको युद्ध गर्ने उचित अवस्था छैन, यो युद्ध शुरु भएमा निकै लामो र भयङ्कर हुनेछ, त्यसमाथि पनि पश्चिम इलाकाको अवस्था राम्रो छैन, युद्ध भएमा जितेका राज्यका राजाहरूले पनि अंग्रेजहरूलाई नै सहायता गर्नेछन्, अहिलेसम्म हामीले मृगको सिकार मात्र गरेका छौं तर यो लडाईं भनेको हामीले बाघको सिकार गर्न तयार हुनु हो, युद्ध भनेको अत्यन्त गाह्रो काम हो, रणक्षेत्रमा उत्रेका योद्धालाई मात्र युद्धको मर्मको ज्ञान हुन्छ, साधारण तथा युद्ध अनुभवहीन व्यक्तिलाई युद्धको ज्ञान हुँदैन, यदि अंग्रेजसंग नेपालको युद्ध भयो भने चार पुस्ता देखि आर्जेको नेपालको सम्पूर्ण व्यवस्था बिग्रनेछ, अंग्रेजहरूले माग गरेको भूभाग दिएर भए पनि युद्ध रोकियोस् । | „ |
मुख्तियार भीमसेन थापाले अंग्रेज संग युद्ध नै गर्ने निर्णय गरे र अमरसिंह थापाको सम्पूर्ण प्रयास व्यर्थ भयो।
अंग्रेजी र नेपाली फौजको संरचनामा लिइएको रणनीति हेर्दा अंग्रेज फौजले पूर्ण रुपमा आक्रामक नीति लिएको देखिन्छ। नेपाली फौजलाई पराजित गरी ठूलो दबाब दिई नेपालले केही समय अगाडी विजय गरेका कुमाउँ, गढवालका साथै बाह्र राई, अठार थकुराईलाई त्याग्न लगाउने रणनीति अंग्रेजको थियो भने अमरसिंहको रणनीति रक्षात्मक थियो, किनभने नेपाललाई कुनै भूमि वा प्रदेश प्राप्त गर्नु थिएन। केवल जितिएका क्षेत्रको सुरक्षामात्र गर्नु थियो। त्यसैले उनले आफ्ना फौजलाई विभिन्न किल्ला र गढीहरूमा प्रत्याक्रमण गर्नका लागि राखेका थिए।
अमरसिंह थापाले अरु सबै ठाउँमा आफ्ना सेनालाई रक्षात्मक युद्ध गर्न आदेश दिएका थिए भने देउथलमा मात्र आक्रामक युद्ध लड्ने आदेश दिएका थिए। अंग्रेजको तोपले नेपालीको आक्रमण निष्फल गराउने र किल्ला भत्काउने गरेकाले देउथलको युद्धमा अंग्रेजको तोप नै नष्ट गर्ने वा कब्जा गर्ने रणनीति अमरसिंहको थियो।
उनले गरेका प्रमुख योगदानहरू यस प्रकार छन्।
नेपाल–अङ्ग्रेज युद्धपछि अमरसिंहमा वितृष्णा जाग्यो। उसै त उनलाई भूमिकाविहीन बनाइएको थियो। उनले आफूलाई निष्क्रिय बनाए। भीमसेन थापासँग उनको भित्री आँत मिलिरहेको थिएन। त्यसैले उनी मानसिक शान्तिका लागि गोसाइँकुण्ड गएका थिए। उनी असहाय अवस्थामा थिए। उनको कुनै रेखदेख भएन(जोशी, उहीः७८)।
उनी गोसाइँकुण्ड पुगेर त्यहीं दुई महीना जति बसे। त्यहाँ दशहराको मेला भर्न उनी जेठ १८७३ मा गएका थिए। जनैपूर्णिमाको मेला भरेर काठमाडौं फर्कने उनको विचार थियो। त्यसैले त्यहाँ उनी पूजापाठ गरेर बसेका थिए। तर, जनैपूर्णिमाको १० दिनअघि साउन शुक्ल चतुर्थी उप्रान्त पञ्चमी (साउन १२) राति पौने १२ बजे उनको निधन भयो। निधन हुनुभन्दा १०/१२ दिनदेखि उनी शूलको व्यथाले थलिएका थिए। बघाटबाट बिहे गरेर ल्याइएकी उनकी कान्छी मुखिनी उनीसँगै भएकीले आफ्ना पतिको लाशसँगै सती गइन्। डोटीबाट बिहे गरेर ल्याइएकी मुखिनी चाहिं काठमाडौं घरैमा भएकीले उनले आर्यघाटमा सतीका लागि अनुमरण गरिन्
This article uses material from the Wikipedia नेपाली article अमरसिंह थापा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.