आयुर्वेद विश्वकै प्राचीन चिकित्साशास्त्र हो। यो अथर्ववेदको उपवेद हो। आयुर्वेद इशापूर्व ३ हजारदेखि ५० हजार वर्ष अगाडि भारतवर्षबाट विकास भएको मानिन्छ। मानव स्वास्थ्य शरीर, मन र आत्माको सन्तुलनमा निर्भर गर्छ भने रोग त्रि-दोषहरू (वात, पित्त र कफ) को असन्तुलनको कारणले हुने विश्वास आयुर्वेदमा छ। स्वास्थ्य र रोगबारे आयुर्वेदको अवधारणाहरूले जडीबुटी मिश्रण, विशेष आहार र अन्य अद्वितीय स्वास्थ्य पद्धतिहरू(योग, पञ्चकर्म, क्षारसूत्र)को प्रवर्तन गर्दछ।
धनवन्तरी आयुर्वेदका भगवान हुन्। समुन्द्र मन्थनको समयमा धनवन्तरी अमृत, संख, चक्र र जडीबुटीका साथ प्रकट भएका हुन्। कात्तिक कृष्ण त्रयोदशीका दिन धनवन्तरि जयन्ती मनाउने गरिएको छ। विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा 'धनवन्तरि जयन्ती' मनाउन थालिएको हो। विसं २०५६ सालदेखि धनवन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ। नेपाल, भारत, श्रीलङ्का लगायतका दक्षिण एसियाली मुलुकहरूमा आयुर्वेदको प्रयोग निकै नै बढी छ। हाल विश्वभरी नै आयुर्वेद वैकल्पिक उपचार पद्धतिको रूपमा प्रख्यात हुँदै आइरहेको छ।
आयु र वेद शब्दको योगले आयुर्वेद शब्द बन्छ। शरीर, इन्द्रिय, मन र आत्माको संयोगलाई आयु भनिन्छ। वेद शब्द 'विद' धातुबाट प्रत्ययको योगले बन्दछ, जसको अर्थ 'ज्ञान' हो। यसप्रकार आयुर्वेद शब्दको अर्थ हुन्छ 'आयुको ज्ञान'। जुन शास्त्रको अध्ययन गर्नाले आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्तिको विषयमा ज्ञान हुन्छ, त्यसलाई आयुर्वेद शास्त्र भनिन्छ।
आयुर्वेदको रचनाकाल ईस पूर्व ३,००० देखि ५०,००० वर्ष पहले भएको मानिन्छ। ब्रह्मा आयुर्वेद ज्ञानका मुख्य स्रोत हुन्। ब्रह्माले यो ज्ञान दक्ष प्रजापतिलाई दिए। प्रजापतिले आयुर्वेदको ज्ञान अश्वनी कुमारहरूलाई प्रदान गरे र अश्वनी कुमारहरूले भगवान इन्द्रलाई। भगवान इन्द्रले यो ज्ञान क-कसलाई प्रदान गरे भन्ने बारे विभिन्न मतहरू रहेका छन। चरक संहिता अनुसार अश्वनी कुमारहरूले आयुर्वेदको ज्ञान भगवान इन्द्र, भारद्वाज र आत्रेयलाई प्रदान गरे। अत्रेयले आयुर्वेदको विधा आफ्ना ६ शिष्यहरूलाई दिए। उनीहरू थिए – अग्निभेष, भेल, अतुकर्ण, परासर, हारित र क्षारपाणी। सुश्रुत संहिता अनुसार भने भगवान इन्द्रले आफुले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई प्रदान गरे। धनवन्तरीले यो ज्ञान आफ्ना ७ जना शिष्य – औषधेनव, वैतरण, उरभ, गोपूररक्षित्, पुषकलावत, करविर्य र सुश्रुतलाई प्रदान गरे। कश्यप संहिता अनुसार इन्द्रमार्फत यो ज्ञान कश्यप, वशिष्ठ, भृगु, अत्रिलाई प्राप्त भयो। चरक, सुश्रुत, वागभटले आयुर्वेदलाई अथर्ववेदको उपवेद रूपमा मानेका छन भने कश्यपले यसलाई छुट्टै वेदका रूपमा परिभाषित गरेका छन।
आयुर्वेदका अनुसार मानव शरीर त्रि-दोष, सप्त धातु र मलबाट निर्मित छ। त्रि-दोषको सिधान्त नै आयुर्वेदको मुख्य आधार हो। बात, पित्त र कफ त्रि-दोषहरू हुन्। प्रत्येक मानिसमा कुनै एक वा दुइ दोषहरू प्रभावशालि हुन्छन्। चिकित्सकहरूले विरामीको दोष अनुसार नै रोग निदान गर्छन। सप्त धातुहरू रक्त, रस, मंस, मेद, अस्थी, मज्जा र शुक्र हुन्। त्यस्तै, मानव शरीर पञ्चमहाभूतहरूबाट बनेका हुन्छन्।
सिद्धान्तिक हिसाबले आयुर्वेदको प्रमुख दुइ उद्देश्यहरू छन – १.स्वस्थ्य व्यक्तिको स्वस्थ्य रक्षा गर्नु र, २.रोगी व्यक्तिको रोग निर्मूल गर्ने अथवा प्रशमंन गर्नु
प्रयोजन चास्य स्वस्थस्य स्वास्थ्यरक्षणम्। अतुरस्य विकार प्रशमन च।। पहिलो उद्देश्य प्राप्तिको लागि दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, सद्वृत्त आदिको पालन गर्न सकिन्छ। दोस्रो उद्देश्य प्राप्तिको लागि रोग व्याधिअनुसार विभिन्न चिकित्साका उपायहरू एव विभिन्न द्रव्यहरूको प्रयोगद्वारा गर्न सकिन्छ।
आयुर्वेदका ८ वटा अङ्गहरू छन्। प्रत्येक अङ्गहरूको सङ्क्षिप्त परिचय निम्नानुसार छ-
१. शल्य तन्त्र- शारीरिक र मानसिक कष्टको कारणलाई शल्य भनिन्छ। अर्थात् प्राणी मात्रको शरीरमा काठ, ढुङ्गा, फलाम आदिबाट भएको व्रण, दृष्ट व्रण र गर्भरूप शल्यको निवारणका लागि यन्त्र, क्षार र अग्निको उपयोगद्वारा उपचार गरिने उपायहरूको उपदेश शल्यतन्त्रमा गरिएको छ।
२. शालाक्यतन्त्र- घाँटीभन्दा माथिका अङ्ग जस्तै नाक, कान, आँखा, मुख, घाँटी र शिर आदिमा हुने रोगहरूलाई निको पार्ने तन्त्रलाई शालाक्य तन्त्र भनिन्छ।
३. कायचिकित्सा- कायको अर्थ जठराग्नि हो। त्यसको दोष मन्दाग्नि आदिका कारण उत्पन्न हुने सर्वाङ्गत ज्वर, रक्तपित्त, शोष, उन्माद, अपस्मार, कृष्ठ, प्रमेह, अतिसार आदि शारीरिक मानसिक रोगहरूको निदान र चिकित्साको वर्णन जुन अङ्गमा भएको हुन्छ त्यसलाई कायचिकित्सा भनिन्छ।
४. भूतविद्या- देव, असुर, गन्धर्व, यक्ष, पितृ, मृतात्मा, पिशाच, नाग आदि अदृश्य शक्तिहरूले अनेक रोग उत्पन्न गरी प्राणीहरूलाई शारीरिक र मानसिक कष्ट दिन्छन्। त्यसबाट छुटकारा पाउन शान्तिकर्म, बलि, उपवास, होम आदि उपायहरूको उपदेश दिने तन्त्रलाई भूतविद्या भनिन्छ।
५. कौमारभृत्य- शुक्र र शोणितको शुद्धता, तिनका दोष एवं निवारणको उपाय, गर्भाधान, गर्भरक्षा, गर्भिणी, सूतिका एवं शिशुको परिचर्या, प्रसवपछि सूतिकाको आरोग्यको रक्षण, बालकको पोषण, स्तन्यपान आदि बालकको स्वास्थ्यरक्षामा सहायक उपायहरूको वर्णन तथा बालग्रहादिको कारण बालकहरूलाई हुने रोगहरूको शानितो उपायबारे उपदेश दिने तन्त्रलाई कौमारभृत्यतन्त्र भनिन्छ।
६. अगदतन्त्र- सर्प, कीट, लूता, माकुरा, विच्छी, मुसा आदि जीवहरूको दंशबाट उत्पन्न विष, स्वाभाविक, संयोगज र गर विषको लक्षण, त्यसको निवारण गर्ने विधिको उपदेश दिने तन्त्रलाई अगदतन्त्र भनिन्छ।
७. रसायनतन्त्र- जुन आहार-विहार एवं औषधिको सेवनबाट प्रशस्त मात्रामा रस-रक्तादि धातुहरूको वृद्धि हुन्छ। दीर्घ जीवन, स्मरणशक्ति, धारणाशक्ति, सुस्वास्थ्य, शारीरिक पुष्टि, इन्दि्रय शक्ति, बलवृद्धि र वाक्शक्ति आदिको प्राप्ति हुन्छ। त्यस्ता रसायनहरूको उपदेश दिने तन्त्रलाई रसायनतन्त्र भनिन्छ।
८. वाजीकरण- रज, शुक्र एवं मैथुनसम्बन्धी विकारहरूको लक्षण र त्यसको उपचारबारे जुन तन्त्रमा वर्णन गरिन्छ त्यसलाई वाजीकरण तन्त्र भनिन्छ।
आयुर्वेदका विषयमा लेखिएको सबैभन्दा प्राचीन ग्रन्थ अथर्ववेद र ऋग्वेद हुन्। विभिन्न वेदहरूबाटै साभार गरिएका आयुर्वेदका सिद्धान्तहरू एंव ऋषि-आचार्यहरूको अनुभवलाई मुख्यत: वृहत त्रयी र लघु त्रयीमा सङ्कलन गरिएको छ। वृहत त्रयीमा चरक संहिता, सुश्रुत संहिता र अष्टाङ्ग हृदय पर्छन भने लघु त्रयीमा माधव निदान, शाङधर संहिता र भावप्रकाश पर्छन।
अग्निभेष (ई.पू. १५००-१०००) द्वारा चरक संहिता लेखिएको हो। त्यसैले यसलाई अग्निभेष तन्त्र समेत भनीन्छ। दोस्रो शताब्दीतिर चरकले अग्निभेषको यो कृतिलाई परिमार्जन गरेका हुन् र यसलाई चरक संहिता भनिने थालिएको हो। चरक संहितामा कुल ८ स्थान (सुत्र, निदान, विमान, शारीर, इन्द्रिय, चिकित्सा, कल्प र सिद्ध) र १२० अध्यायहरू छन्। चरक संहितामा विशेष गरी काय चिकित्साका विषयमा वर्णन गरिएको छ।
धनवन्तवरीका उपदेशहरूको सङ्ग्रह सुश्रुत संहिता हो। यसको प्रथम संसकरण ई.पू. १०००-१५०० तिर सुश्रुतद्वारा रचिएको हो। सुश्रुत संहितामा कुल ६ स्थान (सुत्र, निदान, शारीर, चिकित्सा, कल्प र उत्तर) र १८६ अध्यायहरू छन्। सुश्रुत संहितामा विशेष गरी शल्य चिकित्साका विषयमा वर्णन गरिएको छ। पातमा लेखिएको सुश्रुत संहिता केशर महलको पुस्तकालयमा छ। यसलाई युनेस्कोले विश्वका एतिहासिक ग्रन्थको सूचीमा हालेको छ।
७ औ शताब्दीमा वागभटले अष्टाङ्ग हृदय रचेका हुन्। यसमा ६ स्थान र १२० अध्यायहरू छन्।
माधवाकाराले ७ औ शताब्दीमा माधव निदान रचेका हुन्। यसमा रोग विज्ञानका बारेमा चर्चा गरिएको छ।
शाङधरद्वारा १२ औ शताब्दी रचित शाङधर संहिता औषधि विज्ञानसँग सम्बन्धित ग्रन्थ हो। यसमा ३ खण्ड र ३२ अध्यायहरू छन्। नाडी परीक्षाको बारेमा सबै भन्दा पहिला लेखिएको पुस्तक यही हो।
भाव मिश्रले १६ औ शताब्दी तिर द्रव्यगुणका विषयमा भावप्रकाश निघान्तुको रचना गरे।
काश्यप संहिता जीविकाद्वारा रचित ग्रन्थ हो। काश्यप संहितामा ८ स्थान र १२० अध्यायहरू छन्। यसमा कौमारभृत्यको बारेमा चर्चा गरिएको छ। यसको पाण्डुलिपी पण्डित हेम राज शर्मासंग उपलब्ध छ।
अष्टाङ्ग सङ्ग्रहमा आयुर्वेदका ८ वटा अङ्गको विस्तृत वर्णन गरिएको छ। यसलाई वागभटले सन ५५० मा लेखेका हुन्। अष्टाङ्ग सङ्ग्रहमा ६ स्थान र १५० अध्यायहरू छन्। अष्टाङ्ग हृदय यसकै विस्तृत रुप हो।
रामयण, महाभारत, गीता, पुराणहरू, उपनिषदहरूजस्ता हिन्दु धर्मका पुस्तकहरूमा आयुर्वेद चिकित्साशास्त्रका विभिन्न पक्षहरूका बारेमा भिन्ना भिन्नै तरहले चर्चा गरिएको छ। यस्तै बौद्ध धर्मका ग्रन्थहरू – नावनितकम्, विनयपिटक तथा मिलन्दप्रश्नमा पनि आयुर्वेद दर्शनकै सिद्धान्तमा केन्द्रित रहेर रोगहरू तथा त्यसका निदानका प्रक्रियाका बारेमा चर्चा गरिएको छ।
श्रीमद्भागवत गीतामा त्रि-गुण – सत्व, रज र तम तथा योगाका विषयमा चर्चा गरिएको छ। पन्चमहाभूतले नै श्रीष्टि तथा प्रत्यक जीवहरू निर्मित रहेको कुरा गीतामा गरिएको छ।
रक्तपित्त, कास, श्वास, हिकाम राजयक्ष्मा, वमन, अरोचक, अर्श, ग्रहणी, प्रमेह, कुष्ठ, ज्वर, अतिसार, स्त्री रोग, गर्भ सम्बन्धि रोगको चिकित्साबारेमा गरुण पुराणमा चर्चा गरिएको पाइन्छ।
हृदयको परिभाषा, हृदयको क्रिमाको बारेमा वृहदारणयक उपनिषदमा व्याख्या गरिएको छ।
चौथो शताब्दीमा चाणक्य (अ. ई पू २८३) द्वारा रचित अर्थशास्त्र मा सुश्रुत संहितामा बताइएको ३२ तन्त्रयुक्ति, गर्भविज्ञान, विषविज्ञान तथा योगाका बारेमा बताईएको छ। जस्तै, राम्रो सन्तानको लागि शुक्रशोणीत साथै गर्भशायको शुद्धता आवश्यक हुने, वैद्यको उपस्थितिमा प्रसव गराउनु पर्ने जस्ता सुझावहरू चाणक्य अर्थशास्त्रमा पाइन्छ।
मुख्य लेख: जडीबुटी
विभिन्न रोगहरूको निदानको निम्ति आयुर्वेदमा जडीबुटीको प्रयोग गरिन्छ। जस्तै, कामला रोगमा भुइँअमला, कुटकी, कालमेघ; मधुमेहमा करेला, विजयसार, चिराइतो, जामुनबीज; मूत्रकृच्छमा वरुण, पाषणभेद, पुनर्नवा, गोक्षुर; चर्मरोगमा तीतेपाती, चक्रमर्द, नीम; स्तनपायी महिलामा स्तन्यवर्धनका लागि शतावरी; अतिसारमा बेल, कुटज (इन्द्रजौ) आदि जस्ता जडीबुटीहरूको प्रयोग गरिन्छ। नेपालमा नेपालगन्जलाई जडीबुटीको राजधानी भनिन्छ।
मुख्य लेख: योग
योगको अर्थ आफ्नो चेतना वा अस्तित्वको बोध हो। यो शारीरिक, मानसिक तथा आध्यात्मिक अनुशासन हो जसले शरीर र मनलाई सकरात्मक परिवर्तन गर्दछ। आयुर्वेदमा महाऋषि पतञ्जलीद्वारा व्याख्या गरिएको अष्टाङ्ग योग सुत्रको विशेष प्रभाव रहेको छ। जस्तै कमर दुखाइ, सियाटिक, स्रवाईकल सपोंड़ोलाईटिस आदि जस्ताबाट पिडित बिरामीहरूलाई मर्कट आसन, मकरासन, कटि उत्तानासन, भुजगासन, धनुरासन, श्लभासन जस्ता योग आसन गर्ने सल्लाह दिईन्छ।
सन २०१४ डिसेम्बर ११ का दिन संयुक्त राष्ट्रसङ्घको १९३ सदस्य सम्मेलनले अङ्ग्रेजी महिनाको जुन २१ मा 'अन्तराष्ट्रिय योगा दिवस' मनाउने निर्णय गरेको छ।
मुख्य लेख: पञ्चकर्म
पञ्चकर्म एक शोधन चिकित्सा हो। वमन, विरेचन, शिरोधरा, अनुवासन वस्ती र निरुहहरू पन्चकर्म हुन्। यसले शरीरमा जम्मा भएका विकारहरूलाई हटाउछ। आयुर्वेदिक मान्यताहरू अनुसार कुनै पनि प्रकारका औषधिहरू सेवन गर्नु पूर्व पन्चकर्म गर्नु पर्छ।
विविन्न क्षारहरूको प्रयोग गरी पाइल्स, फेस्टुला, साइनस, दुष्टव्रण, ट्युमर र कुष्ठरोग लगायतका रोगको निदानको निम्ति क्षारसूत्र निकै प्रभावकारी मानिन्छ। क्षारसूत्रको प्रयोग शल्यतन्त्रका पिता सुश्रुत ले गरेका हुन्। यो विधिमा औषधि तत्त्वयुक्त धागो प्रयोग गरिन्छ। पाइल्स वा फेस्टुला काटिएर र्झछन् र फेस्टुलाको घाउ बिनाकुनै अतिरिक्त मलमपट्टी स्वतः भरिन्छ। फेरि घाउ बल्झीदैन।
क्षारसूत्र क्षार (अल्कली) तथा सूत्र वा धागो (बारबोलिन थ्रेड)बाट बनाइएको हुन्छ। क्षारसूत्र बनाउनका लागि स्नुहीको दूध, अपामार्ग क्षार र बेसारको धूलो आवश्यक पर्छ। सबैभन्दा पहिले धागोलाइ ११ पटक स्नुही दूधको लेप लगाएर सुकाइन्छ। अनि सातपटक स्नुही दूध र अपामार्ग क्षारको लेप लगाइन्छ। अन्तमा फेरि स्नुही दूध र बेसारको धूलोको लेप तीन पटक लगाए सुकाइन्छ। २१ पटकको लेपमा क्षारसूत्र तयार हुन्छ।
नेपालमा आयुर्वेद चिकित्सा पद्दतिको निकै लामो इतिहास रहेको छ। नेपालमा झन्डै ८० प्रतिशत मानिसहरू प्राथमिक उपचारका निम्ति आयुर्वेद चिकित्साशास्त्रको प्रयोग गर्छन।
नेपाल सरकारले १०० शेयको १ केन्द्रीय आयुर्वेदिक अस्पताल – नरदेवी अस्पताल, ३० शेयको १ क्षेत्रीय अस्पताल – दाङ अस्पताल, ७५ वटा जिल्लामा आयुर्वेद औषधालय, र ३०० भन्दा बढी गाविसमा आयुर्वेद प्राथमिक स्वास्थ्य चौकीहरू सञ्चालनमा ल्याएको छ।
यसका अलावा त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइ.ओ.एम्) अन्तर्गतको आयुर्वेद क्याम्पसले क्रितिपुरमा वि.स. २०६५ देखि आयुर्वेद टिचिङ अस्पतालको समेत सुरुआत गरेको छ। आयुर्वेदिक औषधिहरूको निर्माणको निम्ति सिहदरबार बैद्यखानाको समेत सञ्चालन गरेको छ। यो प्रताप मल्लको समय देखि सुरु भएको हो। प्राइभेट कम्पनीहरू जस्तै आरोग्य भवन, अनमोल, मकालु, पशुपति, गोरखा, गोरखनाथ मनकामना, सिद्ध, फ्लुर, हिमाल, भास्कर, चिरायु, सगरमाथा, सूर्य, श्रीकृष्ण औषधालय, कुनफेन, डाबर नेपाल लगायत उद्योगले जडिबुटीबाट औषधि, खाद्य र सौन्दर्य प्रसाधनका सामग्री उत्पादनमा सक्रिय छन्।
नेपालमा सर्वप्रथम पढाइ भएको पहिलो प्राविधिक विषय आयुर्वेद हो। हाल त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइ.ओ.एम्) अन्तर्गतको आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालय मार्फत स्नातक तहको चिकित्सक तहको अध्यापन गराइन्छ। नेपाल आयुर्वेद मेडिकल काउन्सिलले आयुर्वेद कलेज, आयुर्वेद चिकित्सकको नियमन गर्ने गरेको छ।
भारतमा पनि आयुर्वेद निकै पुरानो चिकित्सा पद्दति हो। नेपालमा जस्तै भारतमा पनि झन्डै ८० प्रतिशत मानिसहरू आयुर्वेद चिकित्साशास्त्रमा निर्भर छन। भारतमा आयुर्वेद, योगा, युनानी, सिधा र होमियोप्याथिकको लागि छुट्टै ‘आयुष’ मन्त्रालयको गठन गरिएको छ। डाबर, वैद्यनाथ, दिव्य फार्मेसी, पतञ्जली आयुर्वेद, झण्डु आदि जस्ता कम्पनीहरूले आयुर्वेदिक औषधिहरूको उत्पादन गर्छन र विश्व भरी नै निर्यात गर्छन। केन्द्रीय भारतीय औषधि परिषदले आयुर्वेद अध्यापन गराउने विश्वविद्यालय र कलेजहरूको नियन्त्रण निकाय हो।
This article uses material from the Wikipedia नेपाली article आयुर्वेद, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.