गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । एउटा सिङ्गो इतिहास बोकेकी शारदाकालीन कवयित्री दुःख, आँशु, व्यथा र जलनकी कवयित्री भएर पनि समाजलाई दिशा-निर्देशन प्रदान गर्ने एक सशक्त नारी हस्ताक्षरको रूपमा सुप्रसिद्ध र प्रतिष्ठित बहुमुखी प्रतिभाकी धनी गोमा नेपाली साहित्यको इतिहासकी कहिले नमेटिने पाना हुन् ।
गोमा | |
---|---|
गोमा | |
जन्म | वि.सं.१९८२ जेष्ठ १५, ( राम्जामणि चौर, पर्वत, नेपाल | मे २९, १९२५)
मृत्यु | वि.सं. २०५९ साउन १४ (३० जुलाई २००२ | (उमेर ७७))
राष्ट्रियता | नेपाली |
नागरिकता | नेपाली |
शिक्षा | बी.ए. |
पेशा | शिक्षण, लेखन |
कार्यकाल | १९९४ सालदेखि |
चिनारीको कारण | कविता, निबन्ध, समालोचना |
उल्लेखनीय कार्य | जलन (कवितासङ्ग्रह), साहित्यिक फूलबारीका फूलहरु (समालोचना), बाँच्ने रहर (कवितासङ्ग्रह), कार्यशील महिलाको भूमिका (निबन्धसङ्ग्रह) |
धर्म | हिन्दु |
सन्तान | छोरी- गार्गी |
मातापिता | लक्ष्मीकान्त उपाध्याय-बुवा र नन्दकुमारी उपाध्याय-आमा |
आफन्त | ध्रुवलाल (पितामह), पार्वती (मातामह) |
पुरस्कार | रत्नश्री स्वर्ण पदक-२०२४, दीर्घ सेवा पदक-२०३६ |
जन्मिएको तीन महिनामा नै मातृत्वविहीन भएकी गोमा हजुरबुबाको लालनपालतमा हुर्किइन् । गोमा सानै हुँदा यिनकी आमा दिवङ्गत भएकाले जीवन र जगतको कारुणिक खेल यिनले आफ्नो जीवनभर देखिरहिन् । गोमा सानैदेखि तीक्ष्ण थिइन् । त्यसैले उनका असी वर्षिय हजुरबुबाले उनलाई बाल्यकालमै भानुभक्तको रामायण, महाभारत, दुर्गाकवच कण्ठ गराएका थिए । गोमालाई आठ वर्षै उमेरदेखि अमरकोश घोकाउन सुरु गरिएको थियो ।
"जलन"
जब यो भवमा जन्म लिएथें, दुःखले छायो जीवन भर
मैले रत्तिभर गर्न सकिन, सुखमय यो संसार
कसरी छाडूँ मेरो प्राण, चीर निद्रामा सुताई
माफ राख भगवान् तिमी, दीन-दुखीको दुःखदायी
राक्षस हूँ म राक्षस हूँ, जगकी एउटी पापी हूँ
महा अनन्त कालकी, एउटी दुःखी अबला हूँ
कुन ईश्वरले जन्म दियो हा, यो सुखमय संसारमा
कुन निर्दयले दुःख दियो हा, मेरो कोमल जीवनमा
यस शून्य मन-मन्दिर मेरो, गर है भगवान् आदर
दृष्टि राख्न यस पापी उपर, नगरन फेरि अनादर !
गोमाले २०१७ सालमा आफ्नी छोरी गार्गीसँग एस.एल.सी. दिइन् । त्यतिखेर छोरी दोस्रो श्रेणीमा र आमा तेस्रो श्रेणीमा एसएलसी पास भएका थिए ।
काठमाडौँ दरबारमा पसेर जागिर खाएकी ठूली हजुरआमासँग उनी आफ्नो पहाडी पहाडी घर छाडी काठमाडौँमा आईन् । त्यहाँ स्वअध्ययन गर्दै अघि बढ्ने, सानोतिनो जागिर गर्ने र १९९१ देखि प्रकाशित “शारदा“ साहित्यिक जस्ता पत्रिकामा आफ्ना मनका जलन र पीरहरु कविताको माध्यमले पोख्ने गर्न थालिन् । कविवर सिद्धिचरण श्रेष्ठदेखि लक्ष्मीप्रसाद देवकोटासम्मले उनको लेखनलाई हौसला दिए र “शारदा“ उनका रचना प्रकाशित गरी उनलाई एउटा नयाँ क्षितिज प्रदान गरियो । काव्य सिर्जनाप्रति सिद्धिचरणको प्रोत्साहन र प्रेरणा तथा प्रकाशनार्थको प्रेमराजको सक्रियताले गोमालाई नेपाली सिहत्यले एउटा सफल कवयित्रीका रूपमा पाउन सकेको प्रतीत हुन्छ ।
बाल्यावस्थामै सातआठ वर्ष सौतेनी आमाका गाली कुटाइ र यातनामा बिताएकी गोमा दश वर्ष टेक्तानटेक्तै बिहेको बन्धनमा परिन् । कालु उपाध्यायले तीन पत्नीपछाडि गोमालाई आफ्ना घरमा भित्र्याएका थिए । बिहेपछि गोमा दिनचर्या अझ कष्टकर बनेको थियो । जीवनदेखि थाकेर उनले आत्महत्याको प्रयाससमेत गरेकी थिइन् ।
उनको लेखनको प्रारम्भ कविताबाटै भएको हो, पछि आएर उनले सरल र परिष्कृत गद्य पनि लेखिन् । नेपाली साहित्यको आधुनिक कालको प्रारम्भसँगै वि.सं. १९९४ सालमा ‘जलन’ कविताबाट आफ्नो काव्यक यात्रा शुरु गरेकी गोमा जीवनका आखिरी समयसम्म सक्रियतापूर्वक साहित्य-साधनामा समर्पित भई जीवनमुखी साहित्य-सिर्जना गरिराखिन् र साहित्य सेवाको क्षेत्रमा अत्यन्त उल्लेखनीय योगदान प्रदान गरिराखिन् । वि.सं. २०३७ मा उनको ‘जलन’ शीर्षक एउटा कविता सङ्ग्रह नै प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहका यी जनलहरु कवयित्रीका हृदयका जलन् हुन् जुन सम्पूर्ण नेपालीहरुका हृदयका जनल र तापको रूपमा प्रस्फुटित भएका छन् । ‘शारदा’ पत्रिकामा ‘जलन’ प्रकाशित भएपछि उनका अन्य कविताहरु प्रकाशित हुन थाले । यसप्रकार ‘शारदा’ ले नै उनका काव्य यात्रालाई गतिशीलता र उन्नति प्रदान गर्योि । तत्पश्चात ‘उद्योग’, ‘साहित्य-स्रोत’हरू पत्रिकामा उनका केही कविताहरु प्रकाशित हुन थाल्यो । ‘रत्श्री’ पत्रिकाले उनका काव्य यात्रामा उच्चता प्रदान गर्दै अत्यधिक अग्रसरता प्रदान गर्योल र उनलाई उत्थानतर्फ उन्मुख गरायो । त्यस्तै ‘गोरखापत्र’, ‘माधुरी’, ‘कविता’, ‘मधुपर्क’ आदि पत्रिकाहरूले र ‘रेडियो नेपाल’का साहित्यक कार्यक्रमहरूले उनलाई धेरै प्रोत्साहित गर्योप । त्यसपछि गद्य र पद्य दुवै विधामा उनको कलम सुचारुरपमा चल्न थाल्यो । उल्लेखनीय कुरो यो छ कि उनले एस.एल.सी. परीक्षा दिनु अघि नै उनको कविता प्रवीणता प्रमाणपत्र तहको पाठ्यक्रममा समावेश भएको थियो ।
गोमाबारे राष्ट्रकवि माधव घिमिरे भन्छन् “गोमाका संवेदनाका तीन धाराहरु विरह, वेदना र करुणा र भक्तिभावना । किशोर र यौवन कालमा उनले रुमानी शैलीका फुटकर कविताद्वारा विरह वेदना प्रवाहित गरिन् र कविहरुबीच चर्चित रहिन् । प्रौढवयमा उनले दुःखित, उपेक्षित नारी विषयक खण्डकाव्यद्वारा करुणा प्रवाहित गरिन् । उत्तरवयमा उनले भजन गीत र महाकाव्य (गीति रामायण)“ द्वारा भक्ति भावना प्रवाहित गरिन् ।
गोमाका गद्य लेखन क्रमिकरूपले तर एक्कासि स्वतस्फूर्त ढङ्गबाट सशक्त रूपमा विकसित हुँदै गएको पाइन्छ । उनका समीक्षात्मक/आलोचनात्मक लेखन बाहेक स्वतस्फूर्त अध्ययनका आधारमा उनले लेखेका जीवनीपरक ढङ्गले तयार गरेका रचनाहरु अझ बढी सन्तुलित, प्रवाहमय, अभिव्यक्तिशील, सुस्पष्ट र अर्थपूर्ण लाग्छन् । गोमाका कविताहरु सरल छन् । तर तिनमा विचार छ । भाव छ । र नजानिँदो रूपमा नारीमाथि हुने गरेका सामाजिक, आर्थिक एवं सांस्कृतिक अन्यायका स्वरहरु मुखरित भएका छन् । यस अर्थमा उनका कविताहरु जहाँ छोयो त्यही आगो बल्ने, ताप पैदा गर्ने होइन कि अनन्तसम्म मन्दमन्द प्रभावित पार्ने सागर हो । खहरे होइन । यो नै उनको काव्यशिल्प हो ।
उनका कविताहरु सरल भएर पनि मार्मिक हुन्छन् । उनका रचनामा नारी सुलभ कोमलता, करूणा, प्रणयभावश, सौन्दर्य चेतनाका साथै सुधार र जागृतिका स्वरहरु अत्यन्त प्रभावोत्पादक रूपमा मुखरित भएको पाइन्छ । कतिपय रचनामा असन्तुष्टी र विद्रोहका भावहरु पनि प्रतिध्वनित भएको पाइन्छ । उनका सिर्जनामा पाइने नैराश्य र क्रन्दनका ध्वनिहरु पनि जीवनप्रतिको मोह र आस्थाको भावनाबाट अभिप्रेरित भएको देखिन्छ । सरल एवं सहज अभिव्यक्तिका साथ पाठकहरूको मनमा तत्काल प्रभाव पार्ने कोमल शैली नै गोमाजीको वैशिष्ट्य हो ।
अनेकौ पुरस्कार र सम्मानद्वारा सम्मानित नेपाली वाङ्मयकी अग्रणी साहित्यकार गोमाको हृदयाघातबाट आक्रान्त भई मिति २०५९ साल साउन १४ मा स्वर्गारोहण भएको हो ।
This article uses material from the Wikipedia नेपाली article गोमा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.