कविता

कविता लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाईन्छ।

प्रकार

मूलतः कविता २ किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता

  • छन्द मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ।

गद्य कविता

सामान्यतयाछन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ । यो कविता लेख्ने आधुनिक तरिका हो । जहाँ कविहरू आफ्नो भावना कुनै लगु, गुरु वा छन्द नियममा नरही स्वतन्त्र रूपले लेख्न सक्दछन् ।


' ब्याख्या '

                               उसले ईश्वर मान्दिन भन्नासाथ                                                 उसलाई-                               एउटाले बैज्ञानिक भन्यो,                                अर्कोले  बौलाहा भन्यो, 
                                  र केहीले....                                उसैलाई ईश्वर भनिदिए ..। ।                                                - आर्यश शर्मा घिमिरे 

पद्य कविता

पद्य शैलीमा छन्द, अनुप्रास र अक्षरहरु गनेर वा पंक्ति मिलाएर लेख्नुपर्छ ।

उदाहरण

झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्

भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्

जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा

सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।

-डा. कृष्णप्रसाद भट्टराई

कवितामा उपभेदका बारेमा संक्षिप्त चर्चा  :

कविताको लघुतम रूप : मुक्तक

कविताको सबैभन्दा सानो एकाइ लघुतम रूप हो । यस अन्तर्गत कविताका ज्यादै साना संरचनाहरू समेटिन्छन् । छोटो छरितो भनाइबाट व्यङ्ग्य प्रहार गर्ने कविताको एक झिल्का नै कविताको लघुतम रूप हो । यस्तो कविताको संरचना निकै सानो हुन्छ तर आफैमा पूर्ण हुन्छ । यो सर्जकका मनमा तत्काल जन्मन्छ अनि तत्काल समाप्त भएर जान्छ । कविताका यस्ता स्वरूपमा दुई, तिन वा चार पाउसम्मका मुक्तक, हाइकु, सायरी र लोकसूक्तिहरू पर्दछन् ।

कविताको लघु रूप : फुटकर कविता

कविताको लघुतम रूपभन्दा विस्तृत र मझौला रूपभन्दा सानो एकाइ लघु रूप हो । कविताको लघु रूप गद्य र पद्य दुवैमा रहेको हुन्छ । पद्यमा दुई श्लोकभन्दा बढी र गद्यमा दुई अनुच्छेदसम्मको रचना यसभित्र पर्दछ । कविताको लघु एकाइमा सानो घटनालाई सीमित घेरामा राखी भावपूर्ण, मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको हुन्छ । यस्ता रचनामा आख्यान तत्वको प्रयोग लघुतम रूपको अपेक्षा स्थूल रूपमा गरिएको हुन्छ । यसरी आख्यानको सूक्ष्मतालाई अपेक्षित मानिएकाले यी रचनाहरूका अभिव्यक्तिमा विविधता नआई भावमा समेत एकरूपता भएको हुन्छ । कस्ता रचनाहरूमा कविताको लघु रूप समेटिएको हुन्छ भन्ने सन्दर्भमा वासुदेव त्रिपाठीको भनाई उल्लेखनीय रहेको छ – “पत्र पत्रिका र कवि गोष्ठीमा प्रस्तुत गरेका अधिकांश साना कविता कृतिहरू फुटकर कविता नै हुन् जसले कविताको लघु रूपको प्रतिनिधित्व गर्दछन् ” (त्रिपाठी र अन्य, २०४८ः पृ. ४२–४३)। यस कुराबाट के स्पष्ट हुन्छ भने भावनाको संक्षिप्त पोखाइ भएको फुटकर रचना नै कविताको लघु रूप हो ।

कविताको मझौला रूप : खण्डकाव्य/लामो कविता

मुख्य लेख : खण्डकाव्य

कविताको ज्यादै विस्तृत र ज्यादै सङ्कुचित नभएको रचनालाई मझौला रूप भनिन्छ । यस्ता रचनामा एक विषय, एक घटना, एक सन्दर्भ र जीवनको एक पक्षको उद्घाटन भएको हुन्छ । अनुभूतिको उत्तरोउत्तर वृद्धि र विकास हुँदै जाँदा कविताको आख्यान तन्तु र संरचनागत सुगठनलाई अँगाल्न पुग्दछ त्यस अवस्थामा कविता मध्यम आयाममा प्रवेश गर्दछ । कविताको मझौला आयामलाई खण्डकाव्य वा लामो कविता पनि भनिन्छ । विषयवस्तुको आयाम विस्तार, आख्यान र संरचनाका कारणले गर्दा कविताको मझौला रूप फुटकर कविताबाट छुट्टिन थाल्दछ । कविताको मझौला रूपमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । आख्यानयुक्त रचना र सुगठित संरचना भएको कविताको आयाम नै कवितामा मझौला रूप हो र यो लामो कविता र खण्डकाव्यमा विभक्त भएको हुन्छ ।

कविताको बृहत् रूप : महाकाव्य

मुख्य लेख : महाकाव्य

कविताको सबैभन्दा ठूलो आयामलाई बृहत् रूप भनिन्छ । यसमा कविताका लामा रचना र खण्डकाव्यभन्दा माथिका सबै सिर्जनाहरू समेटिन पुग्दछन् । यस्ता रचनाको सिर्जना बृहत आख्यानीकरणबाट मात्र सम्भव हुन्छ र यसमा जीवन जगत्को सर्वपक्षीय अध्ययन भएको हुन्छ । कविताले जब सिङ्गो युग, जीवन र समाजलाई बोकेर हिँड्न लाग्छ र अनुभूतिको आख्यानीकरणमा कवित्वको महाप्रवाह बहन थाल्दछ तब कविताको बृहत् रूप महाकाव्य प्रकट हुन्छ । कविताको यस्तो आयाममा जीवन जगतको सिङ्गो प्रस्तुति, खण्डयोजना, सन्धि, अर्थ प्रकृति र कार्यावस्था जस्ता प्राविधिक कुराको संयोजन गरिएको हुन्छ । कविताको बृहत् रूप चाही अनुभूतिको महाप्रवाह, जीवनको सिङ्गो अभिव्यक्ति, मानव सभ्यता र समाजको सिङ्गो इतिहासलाई बोकेको विराट संरचना र आख्यानलाई बोकेको कविताहरूको स्वरूप हो । कविताको विस्तारित आयामयुक्त यस्तो रूपले सिङ्गो युगलाई नै आत्मसात् गरेको हुन्छ। कविताको बृहत् रूप विकासशील अवस्थामा रहेको हुन्छ र यसको प्रवाह निरन्तर रूपमा चलिरहेको हुन्छ । जसले गर्दा कविताको बृहत् आयाम ललित महाकाव्यबाट माथि उठेर आर्ष महाकाव्यका तहसम्म पनि विस्तारित हुन पुग्छ । यसकारण कविताको बृहत् आयाममा विकसित र विकासशील, ललित र आर्ष महाकाव्य समेटिन पुग्दछन् ।

कविता लेख्ने तरिका

कविता लेख्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।

नेपाली कविताका प्रमुख प्रवृत्ति

उन्नाईसौं शताब्दीको प्रारम्भतिरैबाट थालिएको नेपाली कविताले अढाई सय वर्षजतिको समयावधिभित्र अनेक प्रवृत्तिगत मोड वा घुम्तीहरू पार गरिसकेको छ । यस समयावधिलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्ने गरिएको छ तर त्यस हेराइमा एकरूपताको अभावका कारण नेपाली कविताको विकासक्रमको कालविभाजनमा सामान्य मतभिन्नताहरू पाइन्छन् । नेपाली कवितामा कालविभाजन प्रसिद्ध एवं प्रभावशाली शासक, विशिष्ट साहित्यकार व्यक्तित्व, साहित्यिक प्र्रभाव र प्रवृत्ति, राजनीतिक आन्दोलन, ऐतिहासिक कालखण्ड आदि विभिन्न आधारमा गर्ने गरेको पाइन्छ । हरेक कालखण्डमा प्रभावशाली शासक तथा विशिष्ट साहित्यकार नजन्मन सक्छ, साहित्यिक प्रभाव र प्रवृत्ति पनि लामो समयसम्म परिवर्तन नहुन वा समान रहन पनि सक्छ अनि आन्दोलन पनि सधैं नहुन सक्छ । यसर्थ यी आधारमा गरिएको साहित्यको कालविभाजन बढी विवादास्पद हुनपुग्छ । नेपाली साहित्यमा विभिन्न समयखण्ड, युगीन केन्द्रीय प्रतिभा, ऐतिहासिक–राजनीतिक मोड आदि विभिन्न आधारमा तथा बिना आधारमै पनि साहित्यिक इतिहासको जथाभावी कालविभाजन गर्ने परिपाटी चलेकाले ठूलो गन्जागोल उत्पन्न भएको हो । नेपाली कविताको कालविभाजन र त्यसमा पनि विशेषगरी आधुनिक काल वा आधुनिकताको प्रारम्भका बारेमा मतभिन्नताहरू रहेका छन् । खासगरी आधुनिकतासम्बन्धी अल्पज्ञता, पूर्वाग्रह, हठवादिता, अपव्याख्या, छिपछिपे र बोक्रे ज्ञान आदिका कारणबाट यस्तो स्थिति पैदा भएको हो । कविताको सिङ्गो इतिहासलाई खण्डखण्डमा विभाजन गरी समय निर्धारण गर्दा खास वैज्ञानिक आधार नलिई जथाभावी गरिएमा त्यो निरर्थक हुनजान्छ । यसर्थ वस्तुगत, तार्किक र वैज्ञानिक ढङ्गले आधुनिकतालाई अथ्र्याई उपयुक्त र मान्य किसिमबाट नेपाली कविताको कालविभाजन गर्नु अपरिहार्य छ ।

यी सबै सन्दर्भबाट हेर्दा समयको तीन खण्डे विभाजनसमेत समस्यारहित÷विवादरहित र पूर्ण वैज्ञानिक नभए पनि ऐतिहासिक कालखण्डकै आधारमा साहित्यको कालविभाजन गर्नु अलि बढी व्यावहारिक देखिन्छ । ऐतिहासिक एवं वैज्ञानिक दृष्टिकोणबाट बढी उपयुक्त र मान्य हुने गरी नेपाली कविताको विकासक्रमलाई तीन कालखण्डमा निम्नलिखित ढङ्गले समयावधि निर्धारण गरी देखाइन्छ :

  • प्राथमिक काल (सुरुदेखि १९४० सम्म)
    • पूर्वार्ध (सुरुदेखि १८७१ सम्म) : वीर धारा
    • उत्तरार्ध (१८७२ देखि १९४० सम्म) : भक्ति धारा
  • माध्यमिक काल (१९४१ देखि १९९१ सम्म)
    • पूर्वार्ध (१९४१ देखि १९७४ सम्म) : शृङ्गारिक धारा
    • उत्तरार्ध (१९७५ देखि १९९१ सम्म) : शास्त्रीयतावादी÷परिष्कारवादी धारा
  • आधुनिक काल (१९९१ देखि यता)
    • स्वच्छन्दतावादी धारा (१९९१ देखि २०१६)
    • प्रयोगवादी धारा (२०१७ देखि २०३५)
    • समसामयिक धारा (२०३६ देखि यता)

सिङ्गो नेपाली कविताको इतिहासमा विभिन्न धारा र प्रवृत्तिका कविताहरू सिर्जना गरिएको पाइन्छ । एउटा कालको मूल प्रवृत्ति पूरै परिवर्तन भएपछि वा प्रमुख प्रवृत्ति गौण भएपछि अर्को काल प्रारम्भ हुन्छ । प्रवृत्तिगत प्राधान्यका आधारमा कविताको इतिहासलाई भिन्नभिन्न कालमा विभाजन गरिए पनि एउटा समयावधिका प्रवृत्ति अर्को समयमा पनि केही न केही मात्रामा देखापर्न सक्छन् । आज पनि वीर, भक्ति, शृङ्गार र शास्त्रीयतावादी भावधाराका कतिपय कविताहरू लेखिएको पाइन्छ, तर आजको मूल प्रवृत्ति त्यो होइन । एउटा कालको समाप्ति र अर्को कालको प्रारम्भ भन्नाको तात्पर्य अब पहिलेका प्रवृत्तिका कविता लेखिंदैनन् वा लेख्नै पाइ“दैन भन्ने नभएर पहिलेको मूल प्रवृत्ति समाप्त भई वा गौण भई त्यसका ठाउ“मा अर्को प्रवृत्ति शुरु हुन्छ ।

== नेपाली कविहरूको जीवनी र सूची ==नेपाली हाम्रो श्रम र सिप

==सन्दर्भ सामग्री ==नेपाली हाम्रो श्रम र सिप

बाह्य कडीहरू

[[श्रेणी

  1. :कविता| ]]

बाछिटा के हाे ? कसरी लेखिन्छ प्रकाशित ८ चैत्र २०७७)

१. विषय प्रवेश

साहित्य जीवन, जगत् र भोगाइका अनुभूतिजन्य संवेदना र सञ्चेतनाको भाषिक अभिव्यञ्जना हो । साहित्यमा समाज, देश, काल र परिस्थितिका परिघटना र त्यसको प्रभावबाट मानवीय अन्तर्मनमा उत्पन्न भाव संवेगहरूलाई भाषाको माध्यमबाट कलात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ, त्यसैले जीवनको कथाव्यथा पनि साहित्य हो । समाजको दृश्य–परिदृश्य पनि साहित्य हो । प्रकृतिको छायाछवि पनि साहित्य हो । सृष्टिको विधिविधान पनि साहित्य हो । साहित्य अदृश्य भावहरूको दृश्यरूप हो ।

साहित्यको अध्ययनबाट जीवन, समाज र समयको यथार्थबोध हुन्छ । हृदयमा नव्य ऊर्जा आप्लावित हुन्छ । मस्तिष्कमा नव्य चेत झङ्कृत हुन्छ । नसानसामा नव्य स्फूर्ति संवाहित हुन्छ । यसर्थ साहित्यको अध्ययनबाट मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टि सम्प्राप्ति हुन्छ । यस्ता मनोरञ्जन, ज्ञान र आत्मसन्तुष्टिले जीवनभोगाइ सुखद, सुगम र सौन्दर्यमय बनाउँछ ।

साहित्य विशाल ब्रह्माण्डजस्तै हो । यसको क्षेत्र विशाल र व्यापक छ । जसरी ब्रह्माण्डभित्र यसअन्तर्गतका यावत् वस्तु अटाएका हुन्छन्, त्यसरी नै साहित्यभित्र यसअन्तर्गतका यावत् पाटाहरू अटाएका हुन्छन् । साहित्यका दुई पाटा छन् । ती गद्य र पद्य हुन् । गद्यसाहित्यमा उपन्यास, कथा, नाटक र निबन्धजस्ता भेदहरू छन् । पद्यसाहित्यमा महाकाव्य, खण्डकाव्य र स्फुट कविता र मुक्तकजस्ता भेदहरू छन् । उपन्यासमा जीवन, जगत् र भोगाइको बृहत् आयामलाई आख्यानीकृत गरिएको हुन्छ । कथामा जीवनको कुनै एउटा सग्लो पक्षलाई कथानक स्वरूपमा चित्रण गरिएको हुन्छ । नाटकमा जीवनको समग्र परिघटनालाई संवादात्मक स्वरूपमा परिवृत्त गरिएको हुन्छ । निबन्धमा देश, समाज र जीवनभोगका अनुभूतिजन्य यथार्थलाई भावनात्मक रूपमा अभिव्यक्त गरिएको हुन्छ ।

कविताका मुख्य चार भेदहरूमध्ये महाकाव्यमा देश, काल, प्रकृति, जीवन र भोगाइका बृहत्तम स्वरूप प्रबन्धनात्मक रूपमा पद्यमय भावाभिव्यक्तिमा चित्रण गरिएको हुन्छ र महाकाव्य बृहत् आकार र आयामको हुन्छ । खण्डकाव्यमा जीवन भोगाइको कुनै एउटा सिङ्गो स्वरूप पद्यमय शिल्प–शैलीमा चित्रित गरिएको हुन्छ र यो मझौला आकार र आयामको हुन्छ । स्फुट कवितामा जीवनको कुनै अनुभूतिजन्य भाव वा विचारलाई कलात्मक रूपमा व्यक्त गरिएको हुन्छ र यो लघुआकार र आयामको हुन्छ । स्फुट कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ । स्फुट कविताको आकार र आयामभन्दा पनि भिन्न स्वरूप र संरचनामा लेखिने लघुतम रूप मुक्तक हो । मुक्तकजस्तै प्रकृतिका छोटा र सूत्रात्मक आकार एवम् आयाममा अनुभूतिको सूक्ष्मतम र तीक्ष्णतम झिल्कोलाई टिपेर कविता लेखन गर्ने परम्परा पनि विकसित हुँदैगएको छ ।

आजको युग वैज्ञानिक युग हो । व्यस्त समयको युग हो । अध्ययन क्रममा थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने युग हो । साहित्य अध्ययनको भोक हुँदाहुँदै पनि लामालामा रचना अध्ययन गर्ने र त्यसमा डुबेर बस्ने समय सबैलाई नहुन सक्छ । तसर्थ यस्ता व्यक्तिहरू समयको सदुपयोग गर्दै थोरै अध्ययनबाट धेरै ग्रहण गर्ने चाहना राख्छन् । थोरै समयमा वा थोरैमा धेरै बुझिने र अध्ययनपश्चात् सियोको टुप्पोले चस्स घोचेजस्तो वा आगोको झिल्कोले चस्स पोलेजस्तो हृदयमा एक किसिमको झड्का दिने वा तरङ्ग उत्पन्न गर्ने र प्रभाव छोड्ने हुनाले अचेल छोटा, छरिता र ससाना वा सूक्ष्म स्वरूपका रचनाहरू सृजना हुनेगरेका छन् र यस्ता रचनाहरू लेखन र अध्ययनको केन्द्र पनि बन्दै गएका छन् । थोरै समयमा थोरै अध्ययनबाट धेरै ग्रहण गरिने स–साना स्वरूपका रचना सृजना गर्ने सन्दर्भमा एलाक, छोक, छेस्का, झिल्का, कृमुक, झर, दानाकविता, सूत्रकविता, बिम्बकविता, बीजकविता र बाछिटाजस्ता लघुतम र सूक्ष्म स्वरूपका काव्यिक उपविधाहरू प्रादुर्भाव भएका हुन् ।

२. कविताको उपविधात्मक स्वरूपका रूपमा बाछिटा

कविता विधाका बृहत्, मद्यम्, लघु र लघुतम गरी चार भेदहरू रहेका छन् । बृहत् रूप महाकाव्य, मध्यम रूप खण्डकाव्य र लघु रूप फुटकर कविता हुन् र लघुतम रूप मुक्तक हो । फुटकर कवितामा जीवन भोगाइको एउटा सग्लो पक्षलाई कलात्मकता साथ व्यक्त गरिएको हुन्छ । फुटकर कविता गद्यात्मक र पद्यात्मक दुवै स्वरूपमा रचना गरिन्छ । कविताको फुटकर स्वरूपका रचनाका आकार र आयामभन्दा भिन्न स्वरूपका आकार र आयाममा सृजना गरिने पद्यात्मक वा काव्यात्मक शिल्प–शैलीका रचनालाई कविताको उपविधा भन्ने गरिएको पाइन्छ । यस्ता उपविधात्मक कविताको संरचनात्मक स्वरूप सूक्ष्म र प्रस्तुति तीक्ष्ण किसिमको हुन्छ । यही सूक्ष्म र तीक्ष्ण स्वरूपमा नेपाली कविताको उपविधाका रूपमा बाछिटाको जन्म भएको हो । तीन–पाँच–तीन (३+५+३) अक्षरको तीन पङ्क्तिपुञ्जमा प्रकृतिको बिम्बसहित प्रतीकात्मक प्रस्तुतिमा बाछिटा रचना गर्ने अवधारणा निर्माण गरिएको छ । बाछिटा शब्दको प्रकृति, व्युत्पति र अर्थको आधारमा यो अवधारणा निर्माण गरिएको हो । बाछिटाका तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्ज लघुतम काव्यिक परिकल्पनाका आधारमा परिनिर्मित भएको हो । विषयगत, आकारगत, आयामगत, संरचनागत र प्रस्तुतिगत भावभूमिका आधारमा बाछिटा सूक्ष्मतम, तीक्ष्णतम, लघुतम र सूत्रात्मक स्वरूपको काव्यिक उपविधा हो ।

बाछिटा कविता विधाको लघुतम स्वरूपको उपविधाका रूपमा रहेको छ । यो तीन–पाँच–तीन अक्षरका तीन पङ्क्तिपुञ्जमा रचना गरिन्छ । यसको रचना सोझो अर्थमा नभएर प्रतीकात्मक हुने गर्छ । सैद्धान्तिक अवधारणाअनुसार जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र अनुभूतिका संवेगहरूलाई प्रकृतिको स्वरूप वा झलकलाई बिम्ब बनाएर प्रतीकात्मक रूपमा बाछिटालेखन गरिन्छ अर्थात् बाछिटामा अनुभूतिको एक झल्कोको प्रस्तुति हुन्छ, जुन झल्कोले चस्स छोएर मनमस्तिष्कमा एक किसिमको झन्झनाहट उत्पन्न गर्न सक्नुपर्छ ।

३. बाछिटाको व्युत्पत्ति, अर्थ र संरचनात्मक स्वरूप

बाछिटा समस्त शब्द हो । यो शब्द कर्मधारय समास भएर बनेको हो । यसको विग्रह रूप बाङ्गो छिटा हुन्छ । तत्समको रूपमा रहेको वक्र शब्द तद्भव भएर बाङ्गो बन्छ । बाङ्गोको अर्थ सोझो नभएको वा टेढो चालको हुन्छ । त्यस्तै तत्समको रूपमा रहेको क्षिप्त शब्द तद्भव भएर छिटो शब्द बनेको हो । यसको अर्थ छचल्केर वा उछिट्टिएर आउने पानीको सानो थोपो, जलबिन्दु, जलकण वा शुद्धिक्रियाका निम्ति छर्केको पानीको थोप्लो भन्ने हुन्छ । बाछिटाको समग्र रूपको अर्थ हावाले हुत्याउँदा छड्के गरी परेको पानीको छिटा वा छानाको किनारबाट खस्दा बलेसीमा ठोक्किएर टेढो भएर उछिट्टिएको पानीको छिटा भन्ने हुन्छ ।

बाछिटा नेपाली भाषाको तद्भव शब्द हो । यो प्रकृतिपरक शब्द हो । यसको अर्थगत भावले बाङ्गो प्रवृत्तिको भन्ने सङ्केत गर्छ । यसैको आधारमा साहित्यमा कविता विधाको उपविधाका रूपमा बाछिटाको परिकल्पना प्रकृतिको बिम्बसहित बाङ्गो प्रस्तुति भएको लघुतम संरचना भएको काव्यिक रचनाका रूपमा गरिएको हो । शब्दको स्वरूपगत, व्युत्पत्तिगत र अर्थगत भावलाई मूल आधार मानेर बाछिटा काव्यिक उपविधाको रूपमा प्रतिपादन गरिएको हो । बाछिटा तीन अक्षरीय शब्द हो । काव्यिक रूपमा बाछिटाको पहिलो पङ्क्ति तीन अक्षरीय शब्दको परिकल्पना गरिएको हो । त्यस्तै दोस्रो पङ्क्ति दुई अक्षर थपेर पाँच अक्षरको र तेस्रो पङ्क्ति पनि पहिलोमा जस्तै तीन अक्षरको शब्द राखेर तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जको लघुतम स्वरूप भएको काव्यिक उपविधाको रूपमा बाछिटाको संरचनात्मक स्वरूप निर्धारण गरिएको हो । त्यसैगरी पहिलो पङ्क्तिमा विषय पक्रने वा उठान गर्ने, दोस्रो पङ्क्तिमा विषयलाई उत्कर्षमा पु¥याउने र तेस्रो पङ्क्तिमा विषयको मूल मर्म वा भावलाई चस्स छुने किसिमले व्यक्त गर्ने आधारमा विषयगत स्वरूपको परिकल्पना गरिएको हो । त्यसैगरी बाछिटा वाचन गर्दा पहिलो पङ्क्ति बुलन्द रूपमा पठन गर्ने र पठनपछि एकदमै छोटो विश्राम र विश्रामपछि दोस्रो पङ्क्ति पनि बुलन्द रूपमा पठन र पठनपछि त्यसैगरी छोटो विश्राम र तेस्रो पङ्क्तिको पनि बुलन्द रूपमै पठन गर्ने र पठनपद्धति प्रभावमय हुनुपर्ने प्रावधान अपनाइएको छ ।

बाछिटा प्रकृतिपरक शब्द भएको हुँदा त्यसको सार्थकताका निम्ति बाछिटामा प्रकृतिबिम्ब हुनैपर्ने र प्रकृतिबिम्बको उपस्थितिका निम्ति जीवन, धर्म, दर्शन, इतिहास, समाज, राजनीति आदिसँग सम्बन्धित भएर आउने प्रकृतिका स्वरूप वा झलकलाई प्रकृतिबिम्बको रूपमा प्रयोग गर्ने नीति निर्धारण गरिएको छ । त्यस्तै बाङ्गो छिटाको अर्थगत स्वरूपका आधारमा बाङ्गो भनाइ वा प्रतीकात्मक प्रस्तुति बाछिटामा हुनैपर्ने र प्रतीकात्मक प्रस्तुतिका निम्ति अभिधात्मक नभएर लक्षणात्मक र व्यञ्जनात्मक अभिव्यक्ति हुनुपर्ने मान्यता स्थापना गरिएको छ । बाछिटाका तीनै पङ्क्तिबीच अर्थगत सामञ्जस्यता हुनुपर्ने तथा अक्षरगणना भाषाको लेख्य स्वरूपअनुसार र शब्दचयन र लेखन सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्ने आधार बनाइएको छ । बाछिटा सूक्ष्म संरचनात्मक स्वरूपको लघुतम रचना भएको हुनाले यसको शीर्षक नदिएर बाछिटा नै लेख्नु उपयुक्त हुने ठहर गरिएको छ । यसरी बाछिटालाई लघुतम संरचनात्मक स्वरूप र सूत्रात्मक प्रस्तुति हुने प्रतीकात्मक काव्यिक उपविधाको रूपमा स्थापना गरिएको हो । बाछिटाको संरचनात्मक अवधारणालाई यसरी बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ ।

१) बाछिटा रचना तीन–पाँच–तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ ।

२) बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ ।

३)बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई उत्कर्षतिर लानुपर्नेछ ।

४) बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ ।

५) बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्यता हुनुपर्नेछ ।

६) बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्नेछ ।

७) बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ ।

८) बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ ।

९) बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु राम्रो हुनेछ ।

१०) बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखान तुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्ति सरह नबनाउनु नै उत्तम हुनेछ ।

बाछिटालेखनमा उल्लिखित मान्यताको सर्वोपरि महŒव रहेको छ । तीन–पाँच–तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृतिबिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । प्रकृतिलाई मानवीकरण वा मानवलाई प्रकृतीकरण गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको प्रयुक्ति देखिनुका साथै प्रतीकात्मकताको पनि उपस्थिति रहन्छ ।

 

४. नवीन काव्यिक अभियानका रूपमा बाछिटा लेखन

बाछिटा काव्यको नवीनतम उपविधा हो । कविताभन्दा भिन्न संरचना, स्वरूप र आयामका आधारमा यसलाई उपविधा मानिएको हो । बाछिटाको आकार र आयाम लघुतम र प्रस्तुति प्रतीकात्मक वा वक्रोक्तिपूर्ण रहने गर्छ । त्यसैले सुन्दर बाछिटा सृजनाका निम्ति गम्भीर चिन्तन र निरन्तर साधनाको आवश्यकता पर्छ । सैद्धान्तिक अवधारणाको परिकल्पना निर्माण, बाछिटा नामकरण र काव्यिक उपविधाको रूपमा प्रवर्तनको विधिवत् घोषणा विक्रम संवत् २०७७ साल जेठ ४ गते अमर त्यागीले अमेरिकाबाट गरेका हुन् । यस घोषणामा खगेन्द्र बस्यालले नेपालबाट साथसहयोग दिएर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

(बाछिटा काव्यिक उपविधाका रूपमा परिकल्पना गर्नुको एउटा छुट्टै प्रसङ्ग रहेको छ । समयसापेक्ष रूपमा सूत्रलेखनको अभिरुचिका कारण सूत्रकविता, सूत्रकथा लेखन र पुस्तक प्रकाशन पनि भइसकेको अवस्थामा अन्य विधाका रचना पनि सूत्र रूपमा लेखन गर्न सकिने सम्भावना रहेको र सोच बनिरहेको परिस्थिति थियो । यस समयमा हाइकुकृति प्रकाशनको तयारी चलिरहेको र पूर्वरचित हाइकुहरूको परिमार्जन र नयाँ हाइकुहरूको पनि निरन्तर लेखन भइरहेको थियो । यही सन्दर्भमा हाइकुलाई सूत्र रूपमा पनि लेख्न सकिन्छ कि भन्ने सोच बन्यो । सूत्र रूपमा हाइकु कसरी लेख्न सकिन्छ त भनेर चिन्तनमन्थन गर्ने क्रममा तीन–पाँच–तीन अक्षर संरचनामा किगो वा ऋतुबिम्बसहित हाइकु फुर्यो र तत्काल यस्ता रचनाहरूको लेखनकार्य भयो । यस्ता रचनाबारे अन्य सर्जकहरूको पनि प्रतिक्रिया बुझ्ने चाहनाअनुरूप पहिलो चरणमा फेसबुकको हाइकुसम्बन्धी ग्रुपमा हाइकु नाम दिएरै केही रचना सार्वजनिक गर्ने काम भयो । यसमा अनेक सकारात्मक र नकारात्मक प्रतिक्रियाहरू आए । धेरैबाट हाइकु भनेकोमा आपत्ति जनाउँदै यस्ता रचनालाई काव्योक्ति वा अन्य नाम दिने सल्लाह आयो । यसै कालखण्डमा खगेन्द्र बस्यालबाट छेस्का, झिल्का आदि नाममा तीन–पाँच–तीन अक्षरीय रचनाहरू फेसबुकमा देखिए । यसै रचनाका कारण उहाँसँग सम्पर्क गर्ने काम भयो । प्रतिक्रियाको बारेमा छलफल भयो । अरूबाट जेजस्तो प्रतिक्रिया आए पनि यस किसिमको रचनालेखनमा निरन्तरता दिन मैले उहाँलाई अनुरोध गरेँ । त्यसपछि उहाँले लघुहाइकु नाममा यस्ता रचनाको लेखन गरिरहनुभयो । यस्ता रचनालाई के नाम दिन सकिन्छ र केकस्तो सैद्धान्तिक पृष्ठभूमि निर्माण गर्न सकिन्छ भन्ने विषयमा लामो चिन्तनमन्थनपछि प्रकृतिपरक बिम्ब वा झलकसहित प्रतीकात्मक प्रस्तुतिको रचनाको रूपमा मैले बाछिटा नामकरण गरेँ । त्यसपछि म सैद्धान्तिक पृष्ठभूमि लेखनमा तल्लीन रहेँ भने खगेन्द्र बस्यालसँग सम्पर्क गरेर तीन–पाँच–तीन अक्षर संरचनाको रचनालाई बाछिटा नामकरण गरिएको र बाछिटा शब्दको स्वरूप र अर्थअनुसार प्रकृतिबिम्ब र प्रतीकात्मक प्रस्तुतिसहित तीन–पाँच–तीन अक्षर संरचनामा बाछिटा रचना गर्नुपर्ने यथार्थ बताएँ । उहाँले तीन–पाँच–तीन अक्षर संरचनामा मात्र बाछिटालेखन गर्ने प्रकृतिपरकता र प्रतीकात्मकता अनिवार्यता नराख्ने सुझाव दिनुभयो । प्रकृतिबिम्ब र प्रतीकात्मक अभिव्यक्तिको अनिवार्यता नराख्ने हो भने बाछिटा नामकरणको औचित्य पुष्टि नहुने र सैद्धान्तिक आधार नबन्ने हुनाले बाछिटालेखनको मूल मियो प्रतीकात्मक प्रस्तुति र प्रकृतिपरक बिम्ब वा झलक राख्नैपर्ने कुरा बताएपछि उहाँले मौनरूपमा समर्थन गर्नुभयो र साथसहयोग दिँदै बाछिटालेखनमा निरन्तरता दिनुभयो । तर उहाँलगायत धेरैले पछिसम्म पनि यति सानो रचनामा अनुभूतिलाई व्यक्त गर्दा प्रकृतिबिम्ब आउन नसक्ने कुरा बताइरहनुभयो । त्यसपछि मैले मेरा आलेखमा ‘भावनाको तीव्रता र अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिबिम्ब वा झलक नआए पनि बाछिटा बन्न सक्छ’ भन्ने वाक्य थपेको हुँ । तथापि उहाँले बाछिटालेखनमा निरन्तर साथसहयोग दिएर यस काव्यिक उपविधाको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभयो । फलस्वरूप मेरो परिकल्पना, नामकरण र मेरै अध्यक्षतामा गठन गर्न लागिएको राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालको अध्यक्ष उहाँलाई बनाएर गठन गरिएको हो । अहिले बाछिटालेखन गर्ने र छिटो छरितो सञ्चार साधन फेसबुकबाट सार्वजिक गर्ने लहर चलेको छ र यो लहर व्यापक अभियानको रूपमा स्थापित भएको छ ।)

बाछिटालेखन अभियान जीवन भोगाइका संवेगहरूलाई प्रकृतिको बिम्ब वा झलकका माध्यमबाट प्रतीकात्मक रूपमा अभिव्यक्त गर्ने मान्यताको रूपमा अगाडि बढिरहेको छ । यो मान्यता बाछिटालेखनको मूल मियो हो ।

बाछिटालेखनको सैद्धान्तिक परिकल्पना गर्नुपूर्व वा अवधारणा निर्माण गरिनुपूर्व बाछिटाकै स्वरूपमा छिटा, छेस्का, झिल्का, सूत्रहाइकु, लघुहाइकु नामका रचनाहरू सृजना भएका पाइन्छन् । यस्ता रचनाहरू बाछिटा स्वरूपका लघुतमरचना हुन्, बाछिटा होइनन् । यस्ता रचनाहरूलाई पनि बाछिटा मान्ने हो भने वैदिक कालसम्मै पुग्नुपर्ने हुन्छ । वैदिक ऋचा, सूक्ति, पाणिनि व्याकरणका सूत्रहरू पनि बाछिटाजस्तै संरचनाका छन् । एलाक, छोक, दानाकविता र सूत्रकविताका स्वरूप पनि बाछिटाकै जस्तो छ । संरचना मिलेका त्यस्ता सबै रचनालाई बाछिटा मान्नुपर्ने हुन्छ र बाछिटाको सैद्धान्तिक अवधारणाको औचित्य रहन्न । त्यसैले संरचनागत स्वरूप बाछिटाजस्तै भए पनि त्यस्ता रचना बाछिटा होइनन्, किनकि ती रचना बाछिटालेखनको मूल मान्यताभित्र पर्दैनन् ।

बाछिटालाई काव्यिक उपविधाका रूपमा स्थापित गर्न र अभियानलाई संस्थागत रूपमा निरन्तरता दिन ‘राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपाल’को गठन भएको छ । यस संस्थाको सक्रियतामा बाछिटालेखन अभ्यासका निम्ति ‘बाछिटा अभ्यास चौतारी फेसबुक म्यासेन्जर समूह’ र ‘बाछिटा सार्वजनिकीकरणका निम्ति ‘बाछिटा चौतारी फेसबुक समूह’ सञ्चालित छ साथै संस्थाकै सक्रियतामा चित्रमा बाछिटा प्रतियोगिता, दृश्यमा बाछिटा र बाछिटा चौतारी समूहबाट बाछिटा लाइभ कार्यक्रम पनि सञ्चालन भइरहेको छ । बाछिटा प्रवर्तनको एक सय एघार दिनमा एक सय एघार बाछिटाकारद्वारा बाछिटा वाचन बृहत् कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

साहित्यको कविताविधाको उपविधाका रूपमा प्रवर्तित बाछिटा सूत्रस्वरूपमा सृजना गरिने लघुतम रचना मानिन्छ । सैद्धान्तिक मान्यताको मियोमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत बाछिटालेखन अभियान क्रियाशील रहेको छ ।

५. बाछिटा लेखन र सूत्रकविता लेखनबीच साम्य-वैषम्य

बाछिटा सूत्रात्मक संरचनायुक्त नवीन काव्यिक रूप हो । सूत्रकविता पनि सूत्रमय संरचनायुक्त काव्यिक रूप हो । एक शीर्षकमा क्रियापदविहीन सूत्रशैलीमा रचना गरिने एक पङ्क्तिको कविता नै सूत्रकविता हो । सूत्रकविता पूर्वीय साहित्यको सूक्ति र पाश्चात्य साहित्यको फर्मुला पोइट्रीजस्तै स्वरूपको हुन्छ । कवि अमर त्यागीले विक्रम संवत् २०६० सालमा सूत्रकविता सङ्ग्रह ‘अनुभूतिको जुलुस’ प्रकाशन गरेर सूत्रकविता लेखनको प्रादुर्भाव गरेका हुन् । बाछिटा र सूत्रकविता दुवैको संरचना र आयाम लघुतम रहेको हुन्छ । त्यसैले दुवै काव्यरूपमा एकापसमा साम्य रहेको देखिन्छ । तथापि यी दुवै काव्यरूपमा अक्षरगणना, पङ्क्तिगत सामञ्जस्यता र प्रस्तुतिगत अवधारणामा वैषम्य पनि रहेको छ । बाछिटा र सूत्रकविताबीचको साम्य वैषम्य स्वरूपलाई यसप्रकार देखाउन सकिन्छ ः

क) साम्य

बाछिटाको लेखन सूत्रात्मक रहेको छ भने सूत्रकविताको लेखन त झन् सूत्रात्मक हुने नै भयो । बाछिटाको आकार र आयाम लघुतम रहेको हुन्छ । त्यस्तै सूत्रकविताको आकार र आयाम पनि लघुतम नै रहेको हुन्छ । बाछिटाको प्रस्तुति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक स्वरूपको हुन्छ । त्यसरी नै सूत्रकविताको अभिव्यक्ति पनि प्रतीकात्मक वा व्यञ्जनात्मक नै रहेको हुन्छ । बाछिटामा जस्तै सूत्रकवितामा पनि प्रकृतिबिम्बको विविधाङ्गी स्वरूपको प्रयुक्ति रहेको हुन्छ । कतिपय सूत्रकविताको अक्षरीय संरचनात्मक स्वरूप बाछिटसँग मिल्दोजुल्दो पनि हुन सक्छ । एक पङ्क्तिको सूत्रकविताका अक्षरगत शब्दलाई तीन पङ्क्तिमा राख्ने हो भने बाछिटा बन्न सक्ने खालका छन् । यसरी बाछिटा र सूत्रकविताबीच कतिपय अवस्थामा संरचना, आकार, आयाम र प्रस्तुति साम्य रहेको छ ।

ख) वैषम्य

बाछिटालेखन र सूत्रकविता लेखन प्रक्रियामा कतिपय कुरा साम्य देखिएझैँ वैषम्य पनि रहेको छ । बाछिटा र सूत्रकविता दुवैको रचनाप्रक्रिया भिन्न रहेको हुन्छ । बाछिटाको रचना तीन पङ्क्तिमा आबद्ध हुन्छ भने सूत्रकविताको रचना एक पङ्क्तिमा मात्र हुन्छ । बाछिटाका हरेक पङ्क्तिको अक्षरगणना हुन्छ तर सूत्रकविताको रचनामा अक्षरगणनाको कुनै प्रावधान छैन । साथै बाछिटाको प्रस्तुति प्रतीकात्मक हुनुपर्ने मान्यता रहेको छ तर सूत्रकविताको प्रस्तुतिमा यो मान्यता अनिवार्य गरिएको छैन । त्यस्तै बाछिटामा प्रकृतिका विभिन्न स्वरूप वा झलकलाई प्रत्यक्ष वा अप्रत्यक्ष बिम्बका रूपमा प्रयोग गर्नुपर्ने नियम छ तर यो नियम सूत्रकवितामा छैन । बाछिटालेखन निर्धारित सैद्धान्तिक अवधारणाभित्र रहेर गर्नुपर्ने हुन्छ । तथापि सूत्रकविता लेखन स्वतन्त्र रहेको छ । यसरी संरचना, स्वरूप र प्रस्तुतिगत रूपमा बाछिटा र सूत्रकविताबीच वैषम्य रहेको हुन्छ ।

बाछिटा र सूत्रकविताबीच आकार, आयाम र सूत्रात्मक स्वरूमा साम्य रहे पनि संरचना, प्रस्तुति र प्रयोगगत भावभूमिमा वैषम्य रहेको हुन्छ । यही वैषम्यले बाछिटा र सूत्रकविता भिन्न काव्यिक उपविधाका रचना हुन् भन्ने कुरा स्पष्ट पार्छ । बाछिटा र सूत्रकविता भिन्न सांरच्य स्वरूप र शिल्पविधान भएका रचना हुन् र दुवैको सृजनधर्मिता स्वतन्त्र रहेको छ ।

६. पूर्वीय र पाश्चात्य साहित्यका काव्यरूपसँग बाछिटाको निकटता

संसारमा साहित्यका अनेक विधा–उपविधाहरू रहेका छन् र ती विधा–उपविधाहरूका संरचना, आकार, आयाम र प्रस्तुति पनि भिन्न रहेका छन् । गद्य र पद्य भेदअन्तर्गतका यस्ता विधा–उपविधाहरू बृहत् मध्यम, लघु र लघुतम स्वरूपका छन् । लेखनप्रक्रिया पनि शास्त्रीय र स्वच्छन्द रहेको छ । पूर्वीय र पाश्चात्य साहित्यको लघुतम सूत्रात्मक काव्यरूपसँग बाछिटाको केही निकट सम्बन्ध रहेको देखिन्छ ।

क) पूर्वीय साहित्यका काव्यरूपसँग बाछिटाको निकटता

पूर्वीय साहित्य सर्वप्राचीन वैदिक कालबाट प्रारम्भ भएको हो । वैदिक कालका ऋचाहरू नै पूर्वीय साहित्यको बीज हो । पूर्वीय साहित्य यही ऋचाबाट वा वैदिक कालबाट सुरु भएर लौकिक कालसम्म चलिरहेको छ । वैदिक साहित्यको प्रभावबाट कतिपय नव्य साहित्यिक विधा–उपविधाहरू पनि प्रादुर्भूत भएका छन् । लौकिक साहित्यको आदि स्रोत वैदिक साहित्य नै हो । वेदका ऋचाहरू बडो सुन्दर काव्यात्मक स्वरूपमा रचना गरिएको पाइन्छ । उषासूक्त सूक्तिमय काव्यिक रूपको नमुना हुन् । पाणिनि व्याकरणका सूत्रहरू पनि सूक्तिमय काव्यिक स्वरूपमा छन् । वैदिक ऋचा, सूत्र, पाणिनि व्याकरणका साथै प्रचलित सूक्ति र लोकोक्तिहरूमा गूढ रहस्यको उद्घाटन सूत्रात्मक र प्रतीकात्मक र प्रकृतिबिम्बसहित गरिएको पाइन्छ । त्यसैले यस्ता ऋचा, सूक्त, सूक्ति, उक्तिहरूसँग स्वरूप, संरचना र प्रस्तुतिका आधारमा बाछिटाको निकटता रहेको देख्न सकिन्छ । साथै पूर्वीय साहित्यिक धरातलका ससाना स्फुट कविता, श्लोक, मुक्तक, लघुकथासँग पनि लघुता, सूक्ष्मता र प्रस्तुतिगत आधारमा बाछिटाको निकटता रहेको छ । पूर्वीय साहित्यकै प्रभावमा प्रादुर्भूत सूत्रकविता, सूत्रकथा र अन्य सूक्ष्म स्वरूपका रचनाहरूसँग पनि संरचनागत र प्रस्तुतिगत आधारमा बाछिटाको निकटता रहेको छ । बाछिटा प्रकृतिपरक, प्रतीकात्मक, सूत्रात्मक, सूक्ष्म संरचनात्मक काव्यिक रचना हो । वैदिक ऋचा, सूक्त, सूक्ति, श्लोक, स्फूट वा मुक्त कविता, मुक्तक, सूत्रकविताहरू पनि अभिव्यक्तिका दृष्टिले प्रकृतिपरक, प्रतीकात्मक, सूत्रात्मक र सूक्ष्म संरचनात्मक स्वरूपको हुने भएको हुँदा यस्ता रचनाहरूसँग बाछिटाको निकटता रहेको देखिन्छ ।

ख) पाश्चात्य र अन्य देश वा भाषाको साहित्यका काव्यरूपसँग बाछिटाको निकटता

पाश्चात्य साहित्यमा पनि पूर्वीय साहित्यमा जस्तै काव्यका विविध स्वरूपहरू रहेका छन् । काव्यका बृहत् रूप महाकाव्यदेखि लघुतम रूप काव्यिक फिक्सनका उक्तिहरू पाश्चात्य साहित्यमा रहेका छन् । पाश्चात्य साहित्यका बृहत् तथा मझौला वा लामा कवितासँग निकटता नरहे पनि ससाना स्वरूपका कविता, काव्यिक उक्तिमय फिक्सन आदिसँग बाछिटाको निकटता रहेको छ । पाश्चात्य साहित्यका यस्ता काव्यिक फिक्सनहरू, लघुतम स्वरूपका कविताहरू र सनेटजस्ता रचनाका आकार, आयाम र प्रस्तुतिसँग बाछिटाको निकटता रहेको हो । साथै यस्ता काव्यिक रूपका रचनाहरूमा प्रकृति र प्रतीकको प्रयुक्ति तथा संरचनागत सूक्ष्मता र सूत्रात्मकता रहेको हुन्छ । यसरी मूलतः लघुतम रूपका कविता, कवितात्मक अभिव्यक्ति आएका फिक्सनसँग सूक्ष्मता, सूत्रात्मकता, बिम्बात्मकता, प्रतीकात्मकता, आकार, आयाम र भावको तीक्ष्णताका आधारमा बाछिटाको निकटता रहेको छ ।

त्यसरी नै बाछिटाको जापानी काव्यिक रूप सेदोका, ताङ्का र हाइकुसँग पनि संरचना र प्रस्तुतिगत स्वरूपमा निकटता रहेको छ । बाछिटाको सबैभन्दा निकटता रहेको काव्यिक रूप हाइकु हो । हाइकु र बाछिटालाई काव्यिक जगत्को दाजुभाइ उपविधा मान्न सकिन्छ । आकार, आयाम, संरचना र प्रस्तुतिको निकटताका कारण हाइकु र बाछिटालाई काव्यको उपविधा मानिएको हो । काव्यिक उपविधाका रूपमा बाछिटाको परिकल्पनाको बीजाङ्कुरण सूत्र हाइकु र लघुकाइकु लेखनको सन्दर्भमा भएकाले पनि यसो भनिएको हो ।

बाछिटाको रचना तीन पङ्क्तिपुञ्जमा हुन्छ, हाइकुको रचना पनि तीन पङ्क्तिपुञ्जमा हुन्छ । बाछिटा रचनामा प्रकृतिबिम्ब र हाइकु रचनामा ऋतुबिम्ब हुनैपर्छ । बाछिटामा जस्तै हाइकुमा पनि प्रतीकात्मक प्रस्तुति रहेको हुन्छ । बाछिटा र हाइकु दुवैको रचनामा सूत्रात्मक स्वरूप रहेको हुन्छ । विषयको सूक्ष्मता, भावको तीक्ष्णता र प्रस्तुतिमा लाक्षणिकताका कारण हाइकुसँग बाछिटाको निकटता रहेको छ । तथापि बाछिटा र हाइकु छुट्टाछुट्टै र स्वतन्त्र काव्यिक उपविधा हुन् । आकार, आयाम र पङ्क्तिगत स्वरूपमा निकटता रहे तापनि संरचना र प्रस्तुतिमा हाइकु र बाछिटा भिन्न छन् । हाइकुसँग बाछिटाको पङ्क्तिगत रूपमा समानता रहे पनि अक्षरगत समानता छैन, अर्थात् हाइकु पाँच सात पाँच अक्षर संरचनाको हुन्छ भने बाछिटा तीन–पाँच–तीन अक्षर संरचनाको हुन्छ । हाइकुमा किगो वा ऋतुबिम्बको प्रयोग अनिवार्य छ तर बाछिटामा प्रकृतिसँग सम्बन्धित भएर आउने कुनै पनि बिम्बको प्रयोग गर्न सकिन्छ । बाछिटाको प्रस्तुति प्रतीकात्मक हुनैपर्छ तर हाइकुमा यो अनिवार्यता छैन । हाइकु लेखनको लामो इतिहास छ तर बाछिटा नवीनतम काव्यिक उपविधा भएकाले यसको इतिहास निर्माण भइसकेको छैन । त्यसर्थ हाइकु र बाछिटा दुवै छुट्टाछुट्टै संरचना, स्वरूप र प्रस्तुति रहेका स्वतन्त्र काव्यिक उपविधा हुन् भन्ने कुरा पुष्टि हुन्छ ।

पूर्वीय र पाश्चात्य साहित्यका कतिपय लघुतम संरचनाका काव्यिक रूपसँग आकार, आयाम, बिम्बप्रयोग, प्रतीकात्मक प्रस्तुति, सूत्रात्मकता, सूक्ष्मता, तीक्ष्णता र प्रभावकारिताजस्ता रचनागत प्रवृत्तिसँग बाछिटाको निकटता रहेको छ । यद्यपि बाछिटा स्वतन्त्र सैद्धान्तिक स्वरूप र मान्यता रहेको स्वतन्त्र काव्यिक उपविधा हो ।

७. कविताका लघुतम स्वरूपका अन्य उपविधाका सापेक्षतामा बाछिटा

साहित्यमा बाछिटाजस्तै लघुतम स्वरूप वा संरचना र प्रस्तुति हुने अन्य विविध काव्यिक उपविधाहरू पनि रहेका छन् । त्यस्ता उपविधाहरूको प्रस्तुति तीक्ष्ण, विषयवस्तु सूक्ष्म र संरचना लघुस्वरूपका छन् । एलाक, छोक, क्रिमुक, दानाकविता, सूत्रकविता, मुक्तक, हाइकु, ताङ्का, सेदोका आदि लघु, सूक्ष्म र तीक्ष्ण स्वरूपका काव्यिक उपविधा हुन् । यस्ता उपविधाहरूको संरचनागत र प्रस्तुतिगत मान्यता भिन्नाभिन्नै रहेका छन् ।

उल्लिखित उपविधाहरूमा अनुभूतिको एक झलकलाई तीक्ष्ण वा मर्मस्पर्शी रूपमा सूत्रात्मक शैलीशिल्पमा अभिव्यक्त गरिएको हुन्छ । केही साम्य र केही वैषम्य रचनागत मान्यता रहेका यस्ता काव्य रूपमा सर्जकहरूले आ–आफ्नो सृजन क्षमताअनुसार कलात्मकता प्रदान गरेका हुन्छन् । यस्ता काव्यिक उपविधाहरूका सापेक्षतामा बाछिटा एक नवीनतम, लघुतम र सूक्ष्म संरचनात्मक स्वरूपको प्रभावपूर्ण काव्यिक उपविधा हो । यसको रचनाप्रक्रिया भिन्न र नियमबद्ध छ । यसको सैद्धान्तिक नियमभित्र नपरेका रचनालाई बाछिटाको कोटिमा राख्न सकिन्न । अक्षर संरचना मिलेर मात्र हुन्न, प्रकृतिपरकता, प्रतीकात्मकता, विषयको उठान, विस्तार, निष्कर्ष र अर्थगत सामञ्जस्यता पनि हुनैपर्छ । बाछिटामा दृश्य रूपमा पनि अदृश्य भाव अन्तर्गर्भित हुनुपर्छ, अर्थात् प्रतीकात्मक वा वक्रोक्तिपूर्ण वा लक्षणात्मक र व्यञ्जनात्मक प्रस्तुति हुनुपर्छ । अन्य कतिपय लघुतम काव्यिक उपविधा लेखनको सैद्धान्तिक आधारसमेत नभएको परिप्रेक्ष्यमा बाछिटालेखनको निश्चित सैद्धान्तिक आधार रहेको छ । बाछिटा शब्दको संरचनात्मक प्रकृति, व्युत्पत्ति, अर्थ र भावगत स्वरूपलाई मूल आधार मानेर बाछिटालेखनको परिकल्पना गरिएको हो र सोहीअनुसार सैद्धान्तिक आधारसमेत निर्माण गरिएको हो । अन्य कतिपय काव्यिक उपविधाका सापेक्षतामा बाछिटालेखन जटिलजस्तो लाग्न सक्छ, तर प्रकृतिको मानवीकरण र मानवको प्रकृतीकरण गरेर बाछिटालेखन गर्दा सहज हुन्छ र बाछिटा सम्प्रेष्य पनि बन्छ । यही नै बाछिटालेखनको सामान्यीकृत स्वरूप पनि हो ।

८. बाछिटालेखनको अन्तर्वस्तु, सङ्केत र व्यङ्ग्य

जीवन, जगत् र भोगाइका अनन्त संवेगहरूलाई तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जमा प्रकृतिका वैविध्यपूर्ण स्वरूप वा झलकलाई बिम्ब बनाएर प्रतीकात्मक वा वक्रोक्तिपूर्ण वा लक्षणात्मक र व्यञ्जनात्मक प्रस्तुतिका आधारमा गरिएको व्याकरणिक भाषिक अभिव्यञ्जनालाई बाछिटा भनिन्छ । यो परिभाषागत मान्यता बाछिटालेखनको मूल अन्तर्वस्तु हो । तीन–पाँच–तीन पङ्क्तिको पहिलो पङ्क्तिमा विषयको सूक्ष्म रूपमा सङ्केत, दोस्रो पङ्क्तिमा त्यस सङ्केतको उत्कर्ष र तेस्रो पङ्क्तिमा साङ्केतिक विषयको मूल भाव वा मर्म वा सन्देश प्रतिबिम्बित गरिनुपर्छ । बाछिटामा सूक्ष्म रूपमा गहन भावको सङ्केत गरिएको हुनुपर्छ र त्यो भावप्रतीकात्मक रूपमा आएको हुनुपर्छ । अर्थात् दृश्यमा अदृश्य भावको सङ्केत गरिएको हुनुपर्छ र यो सङ्केत अनन्त सम्भावनाका रूपमा आएको हुनुपर्छ । नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश रहेको हुनाले प्रकृतिबिम्बको प्रयोग गरी प्रतीकात्मक अभिव्यक्तिका मूल मान्यतामा रहेर यहाँ बाछिटालेखनका अनन्त सम्भावना रहेका छन् ।

बाछिटालेखन अभिधार्थ नभएर लक्षणार्थ र व्यञ्जनार्थ हुनुपर्ने मान्यता रहेको छ अर्थात् बाछिटालेखन सोझो अर्थ वा अभिधार्थमा हुनुहुँदैन । अभिधार्थले बाछिटामा प्रतीकात्मकता ल्याउँदैन । त्यसैले अभिधार्थ बाछिटालेखनको मूल मान्यतामा पर्दैन । बाछिटालेखन वक्रोक्तिमय वा प्रतीकात्मक हुनुपर्ने मान्यता रहेका लक्षणार्थ र व्यञ्जनार्थको सङ्केत गर्दछ । लक्षणार्थले रूढि वा प्रयोजनको आधारमा बाङ्गो अर्थको सङ्केत गर्दछ र यही अर्थसङ्केतका आधारभूमिमा अचेल अधिकांश बाछिटाहरू लेखिइरहेका छन् । व्यञ्जनार्थले व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थको सङ्केत गर्दछ । व्यञ्जनावृत्तिमा बाछिटाहरू कम लेखिन्छन् । व्यञ्जनापूर्ण बाछिटाहरू सर्वोत्कृष्ट मानिन्छन् ।

जीवन भोगाइ तथा देश, काल, परिस्थितिका परिदृश्यलाई बाछिटामा लक्षणावृत्तिमा व्यक्त गरिएको हुन्छ । त्यस्तै विकृति, विसङ्गति, बेथिति र पाखण्डपूर्ण प्रवृत्तिहरूलाई व्यञ्जना वा व्यङ्ग्यार्थवृत्तिमा व्यक्त गरिएको हुन्छ । प्रकृतिबिम्ब र प्रतीकात्मक स्वरूपको लक्षणावृत्ति र व्यञ्जनावृत्ति बाछिटाको मूल अन्तर्वस्तु हो । दृश्यमा अदृश्य भावको खोजी नै बाछिटालेखनको मूल सङ्केत हो । वास्तवमा बाछिटा प्रकृति, जीवन र अनुभूतिको त्रिवेणी हो ।

९. बाछिटाका मूल मान्यता र अभिलक्षण

तीन पाँच तीन अक्षर संरचनाका तीन पङ्क्तिपुञ्जमा प्रकृतिबिम्ब वा झलकसहितको प्रतीकात्मक प्रस्तुति बाछिटाको मूल अभिलणक्षा हो । बाङ्गो छिटाको अर्थगत मान्यताअनुसार बाङ्गो भनाइ वा वक्र उक्तिका रूपमा यो अभिलक्षणाको परिकल्पना गरिएको हो । बाङ्गो भनाइ वा वक्रउक्ति (वक्रोक्ति)को उपस्थिति प्रतीकात्मक प्रस्तुतिमा हुने भएकोले प्रतीकात्मक प्रस्तुति बाछिटामा हुनैपर्ने मान्यता रहेको हो । त्यसै गरी बाछिटा प्रकृतिपरक शब्द भएकोले यसको सार्थकताका निम्ति प्रकृतिको कुनै पनि रूप वा झलक बिम्बको रूपमा बाछिटामा आउनुपर्ने मान्यता पनि सर्वोपरि रहेको छ । यसरी प्रकृतिबिम्बसहित प्रतीकात्मक रूपमा जीवन, जगत् र भेगाइका विविधाङ्गी संवेगहरूलाई अभिव्यञ्जित गर्नु नै बाछिटालेखनको मूल मान्यता हो । विषयवस्तुलाई सङ्केतका रूपमा व्यक्त गर्दै एउटा मार्मिक भावसंवाहन गर्नु बाछिटाको मूल अभिलक्षण हो । जीवन भोगाइको एउटा सूक्ष्म झिल्कोलाई सशक्त रूपमा लेखनमा उतार्ने र यसको पठनबाट हृदयमा एउटा अमीट छाप छोड्ने शक्ति बाछिटामा हुनुपर्ने परिकल्पनामा बाछिटा काव्यिक उपविधाका रूपमा प्रवर्तित गरिएको हो । यही परिकल्पना– अनुसार बाछिटालेखनमा नैरन्तर्य यसको सम्प्राप्ति हो ।

१०. बाछिटालेखनको गन्तव्य र भावी दिशाबोध

कुनै पनि साहित्यिक विधा–उपविधाको निश्चित गन्तव्य हुँदैन, तर त्यसको समृद्ध अवस्थालाई त्यसको गन्तव्य मान्नुपर्ने हुन्छ, किनकि कुनै पनि कार्यको गन्तव्य भनेको त्यसको समृद्घ अवस्था नै हो । साहित्यको काव्य विधा समृद्ध अवस्थामा छ । यही समृद्ध अवस्थाको परिकल्पना गरेर नै काव्य लेखनारम्भ गरिएको हो । तथापि काव्य विधा पूर्ण समृद्ध भइसक्यो वा गन्तव्यमा पुगिसक्यो अब लेखिरहनु पर्दैन भन्ने अवस्था भने छैन, काव्यरचना निरन्तर चलिरहेको छ र चलिरहन्छ पनि । यस सन्दर्भमा बाछिटा त झन् नव्य शिशु काव्यिक उपविधा हो । तथापि यो उपविधा जन्मिएको छोटो समयमै धेरै बाछिटाकारहरूको उदय हुनु तथा नवसर्जकदेखि अग्रज वा स्थापित र वरिष्ठ सर्जकहरूले समेत बाछिटालेखनमा निरन्तर सक्रियता देखाउनुले यस उपविधाको समुन्नत गन्तव्यको कल्पना गर्न सकिन्छ । हाइकु, मुक्तक लेखनको लामो कालखण्डमा त यी उपविधाहरू समुन्नत अवस्थामा छैनन् । हाइकु, मुक्तकले बोकेको कालखण्डभित्रमा बाछिटा उत्कर्षतिर उन्मुख हुनेछ, किनकि यो नेपाली हावापानी र माटोको उपज हो । यसमा नेपालीपन छ, लेखनमा दिनानुदिन बढ्दो आकर्षण छ र निरन्तरता पनि छ । यसैले काव्यिक उपविधा बाछिटाको समुन्नत गन्तव्यको दिशाबोध गर्दछ ।

बाछिटा नेपाली भाषाबाहेक अन्य भाषामा लेखिने क्रम पनि बढ्दो छ । अङ्ग्रेजी भाषामा समेत बाछिटालेखनको अभ्यास भइरहेको छ । पत्रिकामा विशेषाङ्क निस्किने क्रम पनि बढिरहेको छ । सामूहिक, संयुक्त र एकल बाछिटा कृतिहरू प्रकाशनको तयारीमा छन् । चुनिएका बाछिटाहरूको अङ्ग्रेजी अनुवाद अमेरिकाबाट प्रकाशनको तयारी भइरहेको छ । निकट भविष्यमा बाछिटा कृतिहरू अङ्ग्रेजी अनुवाद गरेर विश्वव्यापी बनाउने कार्यमा सक्रियता बढाइएको छ । यस्ता कार्यहरूमा निरन्तर संलग्नता र सक्रियता नै बाछिटाको समृद्ध गन्तव्यको पूर्वसङ्केत हो । यो सङ्केत नै बाछिटाको समृद्ध भविष्यको दिशाबोध पनि गरेको छ ।

११. कविता विधाको नवीन सम्प्राप्तिका रूपमा बाछिटा

कविता साहित्यको समृद्ध विधा हो । यस विधाको इतिहास गौरवमय र समुन्नत रहेको छ । कविता विधाका विभिन्न भेद र स्वरूपहरू रहेका छन् । यस विधाअन्तर्गतका भिन्न काव्यिक रूपलाई उपविधा मान्ने गरिएको छ । बाछिटा कविता विधाको लघुतम स्वरूपको उपविधा हो । यो उपविधा प्रवर्तनको छोटो समयमै यसप्रतिको आकर्षण र लेखनमा सक्रियता दिनानुदिन बढिरहेको छ । बाछिटालेखनको परिकल्पनाका आधारमा सैद्धान्तिक अवधारणा निर्माणले सार्थकता पाइसकेको अवस्था छ । यसबाट बाछिटालेखनको सैद्धान्तिक स्तरीकरण वा स्थिरता स्थापित गर्ने कार्य भइरहेको छ । ‘बाटिछा सिद्धान्त र सृजना’ ग्रन्थ प्रकाशनको समेत तयारी भइरहेको छ । बाछिटालेखनको सैद्धान्तिक मान्यताका आधारमा विभिन्न समालोचकहरूद्वारा बाछिटाहरूको समालोचना तथा विश्लेषणहरू भइरहेका छन् । यस आधारमा बाछिटा कविता विधाको नवीन सम्प्राप्तिको रूपमा रहेको तथ्य स्पष्ट हुन्छ । यस सम्प्राप्तिलाई सबै बाछिटाकारहरूले आत्मसात् गरेर बाछिटालेखनमा निरन्तरता दिइरहेका छन् ।

१२. बाछिटा विश्लेषणको आधार

बाछिटा सूक्ष्म संरचनात्मक स्वरूपको लघुतम काव्यिक रचना हो । यसको विषय पनि सूक्ष्म हुन्छ भने विषयको उठान, विस्तार र निष्कर्ष पनि सूक्ष्म स्वरूपकै हुन्छ । बाछिटामा विषयको प्रस्तुति प्रतीकात्मक हुने हुँदा त्यसको निष्कर्ष वा मूल भाव अदृश्य वा साङ्केतिक हुने गर्छ । बाछिटा अदृश्य भावयुक्त साङ्केतिक स्वरूपको रचना पनि हो । तसर्थ बाछिटाको विश्लेषण पनि सूक्ष्म रूपमै गर्नुपर्ने हुन्छ । त्यसैले बाछिटा विश्लेषणका मुख्य तीन आधार वा अवधारणा अवलम्वन गर्न सकिन्छ ।

क. विषयको उठान, विस्तार र समापन

ख. विषयको प्रतीकात्मक प्रस्तुति

ग. विषयको मूल मर्म वा भावको सङ्केत

यस अवधारणाका आधारमा निम्न बाछिटाको विश्लेषण यसरी गर्न सकिन्छ ।

लिस्नोका

खुट्किलाहरू

सिस्नोका

क) विषयको उठान, विस्तार र समापन

लिस्नो नामपद हो । यस पदले बाछिटामा विषयको उठान गरेको छ । बाछिटामा निम्न स्थानबाट उच्च स्थानमा पुग्न चढिने साधन वा माध्यमको सङ्केतको रूपमा लिस्नो पद प्रयुक्त छ । त्यस्तै खुट्किलाहरू पनि नामपद नै हो । यस पदले बाछिटामा विषयको विस्तार गरेको छ । बाछिटामा निम्न स्थानबाट उच्च स्थानमा पुग्ने खण्ड वा तह र त्यसमा गर्नुपर्ने यत्न वा श्रमको सङ्केतको रूपमा खुट्किलाहरू प्रयुक्त छ । त्यसरी नै सिस्नो पनि नामपद नै हो । यस पदले बाछिटामा विषयको समापनको काम गरेको छ । बाछिटामा निम्न स्थानबाट उच्च स्थानमा पुग्ने खण्ड वा तहमा गरिने यत्न वा श्रम सहज नभएर कष्टपूर्ण वा असहज हुने सङ्केतका रूपमा सिस्नो पद प्रयुक्त छ ।

ख) विषयको प्रतीकात्मक प्रस्तुति

लिस्नो उन्नति वा समृद्धिको प्रतीक हो । समृद्धिको गन्तव्यमा पुग्न कुनै पनि साधन वा माध्यमको आवश्यकता पर्छ, त्यही साधन वा माध्यमको प्रतीकको रूपमा यहाँ लिस्नो प्रयुक्त छ । त्यस्तै खुट्किलाहरू समृद्धिको गन्तव्यमा पुग्ने तह वा आधारको प्रतीक हो । गन्तव्यमा पुग्ने यस तह वा आधारमा गरिने निरन्तरको यत्न वा श्रमको प्रतीकको रूपमा समेत यहाँ खुट्किलाहरू प्रयुक्त छ । त्यसरी नै सिस्नो दुःख, कष्ट वा कठिन अवस्थाको प्रतीक हो । समृद्धिको गन्तव्यमा पुग्न सहज नहुने र अनेक दुःख, कष्ट र असहजताको सामना गर्नुपर्ने हुन्छ र त्यही कष्टपूर्ण असहजताको प्रतीकका रूपमा सिस्नो पद प्रयुक्त छ ।

ग) विषयको मूल मर्म वा भावको सङ्केत

बाछिटामा विषयको मूल मर्म वा भाव साङ्केतिक रहेको छ । समृद्धिको शिखर चुम्न सहज नहुने, कुनै साधन वा माध्यम वा आधारमा निरन्तरको यत्न वा श्रम गर्नुपर्ने र यस यत्न वा श्रममा अनेक दुःख, कष्ट र असहजताको सामना गर्नुपर्ने र यसरी असहज परिस्थितिको सामनाबाट गन्तव्यमा पुग्न सकिने मूल मर्म वा भाव साङ्केतिक वा प्रतीकात्मक रूपमा बाछिटामा व्यक्त गरिएको छ ।

बाछिटा लघुतम वा सूक्ष्मतम आयामको रचना भएको हुँदा यसको विश्लेषण सहज नहुन सक्छ, तर उल्लिखित मान्यता वा स्थापित अवधारणाको आधारमा विश्लेषण गर्दा भने सहज हुन सक्छ ।

१३. निष्कर्ष

बाछिटा नवीनतम काव्यिक उपविधा हो । यसको रचना सूत्रात्मक हुन्छ । यसमा सूक्ष्म विषयलाई गहन रूपमा प्रस्तुत गरिन्छ । यसमा तीन–पाँच–तीन अक्षरका तीन पङ्क्तिहरू रहन्छन् । यसमा प्रकृतिका कुनै पनि रूप वा झलकलाई बिम्बको रूपमा प्रयोग गरिन्छ । यसको प्रस्तुति प्रतीकात्मक हुन्छ । यसमा विषयको उठान, उत्कर्ष र मर्मस्पर्शी निष्कर्ष अन्तर्निहित रहन्छ । यसका तीनै पङ्क्तिबीच अर्थगत सामञ्जस्यता रहेको हुन्छ । सूत्रहाइकु र लघुहाइकु लेखनको पृष्ठभूमिबाट काव्यिक उपविधाको रूपमा बाछिटाको प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै प्रशस्त नवसर्जकदेखि स्थापित र वरिष्ठ सर्जकहरूको समेत बाछिटालेखनमा निरन्तर क्रियाशीलता देखिएको छ । बाछिटालेखनको परिकल्पनाअनुसार सैद्धान्तिक अवधारणा निर्माण पनि भइसकेको छ । बाछिटाको समुन्नतिका निम्ति संस्थागत कार्यहरू पनि भइरहेका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय नेपाली साहित्यिक क्षेत्रका बाछिटालेखन अभियान तीव्रता साथ चलिरहेको छ । यसर्थ बाछिटाको भविष्यमा एउटा समुन्नत काव्यिक उपविधाको रूपमा स्थापित हुने र प्रसिद्धि प्राप्त गर्ने सङ्केत अहिलेदेखि नै देखिएको छ । समग्रमा बाछिटालाई यसरी परिभाषित गर्न सकिन्छ ।

“बाछिटा तीन–पाँच–तीन अक्षरीय तीन पङ्क्तिपुञ्जयुक्त प्रकृतिपरकता र प्रतीकात्मकता अन्तर्गर्भित लक्षणा र व्यञ्जना शब्दशक्तिद्वारा भावलाई झङ्कृत पार्ने सूत्र वा सूक्ष्म संरचना भएको सशक्त, गहन र लघुतम काव्यिक उपविधा हो ।” प्रतीकात्मकता बाछिटालेखनको मूल अभिलक्षण हो । तसर्थ, यसमा प्रतीकात्मक प्रस्तुति हुनैपर्ने मान्यता रहेको छ । बाछिटामा भावनाको तीव्रता र अनुभूतिको तीक्ष्णता प्रतीकात्मक र मार्मिक रूपमा आएमा प्रकृतिबिम्ब वा झलक नआए पनि बाछिटा बन्न सक्छ ।

Tags:

कविता प्रकारकविता मा उपभेदका बारेमा संक्षिप्त चर्चा  :कविता लेख्ने तरिकाकविता नेपाली का प्रमुख प्रवृत्तिकविता बाह्य कडीहरूकविताकलासाहित्य

🔥 Trending searches on Wiki नेपाली:

महाभारतदादुरामध्यवर्ती क्षेत्रराम मन्दिर, अयोध्यानेपालमा भूकम्पको इतिहाससामाजिक सञ्जालविराट कोहलीहिमाली प्रदेश (नेपाल)चट्याङडाँफेपुष्पकमल दाहालराष्ट्रिय सभा निर्वाचन, २०८०मुख्यमन्त्री (नेपाल)अनुसन्धानविनोद चौधरीदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रविक्रम सम्वत्भारोपेली भाषा परिवारइन्सास राइफलदैलेख जिल्लाआगोगाउँपालिकानेपालको सर्वोच्च अदालतसप्तकोशी नदीदरबार हाई स्कुलदार्जिलिङफेसबुकई सेवाभारद्वाज ऋषिडिजिटल साक्षरताझमक घिमिरेबागमती प्रदेशनारायणहिटी दरबार सङ्ग्रहालयबौद्धनाथऔद्योगिक क्रान्तिमोरङ जिल्लानेपालका सहिदहरूतेह्रथुम जिल्लानेपालका अञ्चलहरूबाजुरा जिल्लाॐ मणि पद्मे हूँट्विटरप्रवेशिका परीक्षाभारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरूधनुषा जिल्लासमासपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीराम नवमीरघुबीर महासेठबाल विकासआँचल शर्माहलेसी महादेवनेपालको राजनीतिअमरसिंह थापाकृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)कालिका मन्दिर, बागलुङनेपालको पहिलो संविधान सभाविश्वकर्मा जातिनेपाली सेनानिम्न माध्यमिक विद्यालयजापानी भाषातनहुँ राज्यमहानगरपालिकाबैजनीसंस्कृतनेपाली शब्दकोशकोशी प्रदेश सभागुठीसन ह्युङ-मिनपरराष्ट्र मन्त्रालय (नेपाल)विप्रेषणनेपालको शिक्षा मन्त्रीहरूमानव विकास सूचकाङ्करेबिजनिबन्धदार्चुला जिल्लाहङकङ🡆 More