कालु कुमाले एक बहुप्रतिष्ठित नेपाली मूर्तिकार हुन्। क्रोधकला शिरोमणि उपाधिद्वारा विभूषित उनको वास्तविक नाम कालु दक्षप्रजापति थकु हो। मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबैभन्दा सिद्धहस्त व्यक्तित्वका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। कुमाले क्रोध भावभङ्गीमा झल्कने बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई विज्ञका रूपमा स्थापित गर्ने कुमालेले क्रोधकला शिरोमणिका अतिरिक्त प्रबल गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान सगरमाथा प्रतिष्ठान सम्मान लगायत दर्जनौँ विभूषण, पुरस्कार, सम्मान आदि प्राप्त गरिसकेका छन्।
क्रोधकला शिरोमणि कालु कुमाले | |
---|---|
कालु अवाले | |
जन्म | वि.सं. १९९० जेठ २७ गते थपाटहिटी, ओकुबहाल ललितपुर नेपाल |
राष्ट्रियता | नेपाली |
शिक्षा | सामान्य लेखपढ |
पेशा | परम्परागत मूर्तिकला |
चिनारीको कारण | मूर्तिकला, क्रोधकला शिरोमणि |
उल्लेखनीय कार्य | क्रोधकला |
गृहनगर | पाटन, ललितपुर |
जीवनसाथी | स्व. लक्ष्मीमाया कुमाले |
सन्तान | राजेश अवाले, स्व. काजीरत्न अवाले, राकेश अवाले, स्व. सुरेन्द्र अवाले, बीरेन्द्र अवाले, सुरज अवाले, पुनमाया महर्जन, शोभा महर्जन |
मातापिता | सानु थकूँ र ज्ञानी थकूँ |
पुरस्कार | गोरखा दक्षिण बाहु वि.सं. २०६२ क्रोधकला शिरोमणि वि.सं. २०७३ राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०६८) अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान |
कालु कुमालेको जन्म वि.सं. १९९० जेठ २७ गते पाटन, ललितपुरको थपाटहिटी, ओकुबहालमा बुबा सानु कुमाले र आमा ज्ञानी थकुको सन्तानको रूपमा भएको थियो। बुबाआमाका धेरै सन्तानमध्ये उनी र दिदीमात्र जीवित रहेकाले सानोमा धेरै मायामा हुर्किएका कुमाले सानोमा काम गर्नुभन्दा च्याम्पटी घुमाउन, पाङ्ग्रा गुडाउन र साथीभाइहरूसँग बरालिएर हिँड्न नै रमाउँथे। साधारण किसान भएकाले उनको बुबा बिहानैदेखि खेतको काम गर्न जान्थे भने खेतीपातिमा रूची राख्दैन थिए।
कमजोर आर्थिक अवस्थाका कारणले कालु कुमालेले चाहेको जत्ति पढ्न पाएनन्। साथीभाइहरू पढेको देखेर उनलाई पढ्ने चाहना हुन्थ्यो। धेरै जिद्दी गरेपछि बुबाले उनलाई गुरुकहाँ पढ्न पठाएका थिए भने पढ्ने किताब हराएपछि उनी पढ्न जान पनि छाडेका थिए। उनी १० रुपैयाँ शुल्क बुझाउन नसक्दा पढ्ने तीब्र चाहना हुँदाहुँदै पनि पढ्ने अवसरबाट बञ्चित बनेका थिए।
कालु कुमालेका बुबा सानु कुमालेको पेशा माटाका भाडा बनाउने थियो। उनको बुबा खेतीकिसानका अतिरिक्त मछिन्द्रनाथ, मीमनाथ, आदिनाथ (चोभार) र बसुन्धरादेवीकहाँ चढाइने माटाका भाँडाकुँडा बनाउन गुठियारहरूका साथ वर्षको एक महिना व्यस्त रहन्थे। त्यो समय बुबासँगै रहने कालु उनीहरूले बनाएका कामहरू हेरेर बस्ने गरेका थिए। बुबाले गरेको काम हेरेर र बुबाको आग्रहमा उनले सुरुमा जनावर र चराका मूर्ति बनाएर अभ्यास गरेका थिए। त्यसपछि उनले टोलको त्यतिबेलाका परिचित मूर्तिकार चिरिकाजी शाक्यसँग आफूले बनाएको मूर्ति देखाउन थालेका थिए। त्यतिबेला सामाजिक संस्कारका कारण उनले चिरिकाजी सँगसँगै बसेर सिक्ने अवसर नपाएका कारण परै बसेर चिरिकाजीले बनाएका मूर्तिहरू हेर्नृ गर्दथे। त्यहाँ बनाएको मूर्तिहरूलाई सम्झिएर उनले घरमा आफैले मूर्ति बनाउन कोशिस गरेका थिए। केही समयपछि युद्धका कारण तिब्बतीहरू ल्हासा छाडेर नेपाल आएका थिए भने उनीहरूले आफूसँगै टुटफुट भएका थुप्रै मूर्तिहरू पनि ल्याएका थिए। तिब्बतीहरूले ल्याएका मूर्तिहरूलाई कुमालेले मर्मत गरेका थिए। त्यतिबेलै उनले अजिमाको मूर्ति (पाल्देन ल्हामु) बनाएका थिए। त्यसपछि उनलाई कठिन मूर्ति बनाउने मूर्तिकारका रूपमा चिनिन थालिएको थियो। उनका जेठा छोरा राजेश अवाले मूर्तिकारका रूपमा परिचित छन् भने साहिँला छोरा राकेश अवाले कलायात्राका अतिरिक्त कालु आर्ट्स एण्ड ह्याण्डिक्याफ्ट प्रा. लि. सञ्चालन गरी उनको कलाकारितालाई देश तथा विदेशमा परिचित गराउन लागिपरेका छन्। एकातिर खेतीकिसानी नगरी खान नपुग्ने उनको परिवारमा मूर्तिकारिताबाट जीविकोपार्जन गर्न सकिन्छ भन्ने सम्भवाना नै नभएको त्यो बेलामा पनि मूर्तिकलामा लागेका उनलाई आफूले बनाएका मूर्तिहरू मन्दिर, गुम्बाहरूमा पुजिएको पाउँदा मूर्ति बनाउन थप प्रेरणा मिलेको थियो। निरन्तर साधनाका कारण उनले हालसम्म ६०० भन्दा बढी मूर्ति सिर्जना गरिसकेका छन्। उनले बनाएको मूर्तिहरू विश्वका विभिन्न मुलुकमा पुगेका छन्। उनले बनाएका कतिपय मूर्तिहरू इङ्ल्यान्डको भिक्टोरिया तथा एल्बर्ट सङ्ग्रहालयमा सङ्ग्रहित छन्। उनले सिर्जना गरेका मूर्ति विश्वका ४० भन्दा बढी देशमा पुगेको र त्यसमध्ये ताइवान, तिब्बत र भारतमा बढी व्यक्ति तथा संस्थाका सङ्ग्रहमा रहेका छन्। मूर्तिकलामा समर्पित भएवापत् वि.सं. २०४२ सालमा धातु मूर्तिकला प्रदर्शनीमा प्रथम पुरस्कार, प्रतिभाशाली कलाकार सम्मान, घरेलु तथा सानो उद्योग विकास समितिद्वारा उत्कृष्ट कलाकारिता पुरस्कार (२०५२), सन् २००१ मा गार्डेन जाङ्त्से गुम्बाबाट प्रशंसापत्र, विभिन्न गुम्बा, बिहार र मन्दिरका तर्फबाट कदरपत्र, ज्यापु समाजका तर्फबाट प्रतिभाशाली कलाकार सम्मान र नागरिक मञ्च नेपालका तर्फबाट राष्ट्रिय नागरिक सम्मान (२०६१), लाइभटाइम एचिभमेन्ट अवार्ड, नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार, प्रबल गोरखा दक्षिण बाहु चौथो, अरनिको राष्ट्रिय कला प्रज्ञा सम्मान लगायत थुप्रै पुरस्कार र सम्मानद्वारा सम्मानित भइसकेका छन्। उनी भारत, चीन, मलेसिया, थाइल्याण्ड, सिङ्गापुरलगायत देशको भ्रमण गरेका छन्। 'स्यवम्भू, मैत्री गुम्बा, कोमनगुम्बा, हिमालयन हिलिंग सेन्टर, फर्फिङका गुम्बा साथै भारतको गार्डेन जाड्त्से थासाङ् नोर्लिङ्ग गुम्बा, सेराजे मैसुर, ग्युतो तान्त्रिक विश्वविद्यालय, सेग्यु गुम्बामा उनका मूर्तिहरू रहेका छन्। पाटनको बालकुमारी मन्दिरको भैरव मूर्ति, भन्वन्तरी बराहीको बराही मूर्ति, पाटनको महाबौद्ध मन्दिर अगाडिको बज्र, काठमाडौँ सतुङ्गलस्थित विष्णुदेविको मन्दिरको अष्टमातृका मुखाकृति उनकै कलासिर्जना हुन्।' बज्रयोगिनी, साम्देलिङ् गुम्बाको कालो महाकाललगायत धार्मिक क्षेत्रमा कालुका कलात्मक मूर्तिहरू प्रसस्त भेटिन्छन्। मेघसंवर, जोगिनी, पाल्देन ल्हामु, काजुपा महाँकाल, ताला मेम्बर, सेरा ताम्दिन, कालो महाँकाल, सेतो महाकाँल, कुख्कुली, आर्यावलोकेश्वर, चक्रशंबर, गोम्पो छाक्सीपा, महाँकाल उनले बनाएका उत्कृष्ट मूर्तिहरू मध्ये केही हुन्।
तत्कालीन संस्कारअनुसार १२ वर्षको उमेरमा नै उनको बाल विवाह भएको थियो। उनको पहिलो विवाह धेरै समय टिक्न सकेन। त्यसपछि १५ वर्षको उमेरमा उनको लक्ष्मीमायासँग दोस्रो विवाह भएको थियो। उनीहरूको जन्मिएका १३ सन्तानमध्ये आठ सन्तानमात्र जीवित छन्। उनको श्रीमतीको पनि केही वर्ष पहिले मृत्यु भइसकेको छ भने उनका माहिला छोरा काजीरत्न र काइँला छोरा सुरेन्द्रको पनि मृत्यु भइसकेको छ। हाल उनका ४ जना छोराहरू राजेश अवाले, राकेश अवाले, वीरेन्द्र अवाले, सुरज अवाले र २ छोरी पुनमाया महर्जन र शोभा महर्जन छन्। हाल उनी ललितपुर जिल्लाको हात्तीवनमा बसोबास गर्दै आएका छन्।
कालु कुमाले समाजसेवीका रूपमा समेत परिचित छन्। उनले थुप्रै मूर्ति तथा आर्थिक सहयोग गरेर समाजसेवाको कार्य गरेका छन्। असहायलाई आर्थिक सहयोग र भोजन गराउन निकै रूची राख्ने उनी नेपाल कलाकार समाज, नेपाल रेडक्रस सोसाइटी, शाक्य सिंह विहार, सुमङ्गल महाविहार, ओकुबहाल महाबुद्ध, पेशागत कालिगढ संस्था, रोटरी क्लवलगायत विभिन्न सङ्घसंस्थामा संलग्न छन्। ललितपुर सिद्धपोखरीमा निर्माण भएको जलकुण्डल बिहारका लागि बुद्ध प्रतिमा दान, पाटन बालकुमारी मसानमा १ नं. पाटी, पाटन ज्याठा गणेश पाटी, थपाहिटी गणेश मन्दिर र ललितपुर महानगरपालिका वडा नं. ६ स्थित विकेन्द्रीकरण सामुदायिक स्वास्थ केन्द्रका लागि क्लिनिक कोठा निर्माणमा उनको उल्लेखनीय योगदान रहेको छ।
ललितपुरको हात्तिवनस्थित कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्टमा क्रोधकला शिरोमणि कालु कुमालेको ८७औँ जन्मोत्सवमा आयोजित कार्यक्रममा उहाँद्वारा सृजित कलाकृतिहरू तथा कार्यक्रमका तस्वीरहरू
This article uses material from the Wikipedia नेपाली article कालु कुमाले, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.