ज्ञानेन्द्र शाह (जन्म: २३ असार २००४) नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु परेको थियो। वि.सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए। पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका थिए। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरबार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।
ज्ञानेन्द्र शाह | |||||
---|---|---|---|---|---|
नेपालको राजा | |||||
शासनकाल | २००७ कात्तिक २२ – २००७ पुष २३ | ||||
राज्याभिषेक | २००७ कात्तिक २२ | ||||
प्रधानमन्त्रीहरू | सूची हेर्नुहोस् | ||||
शासनकाल | २०५८ जेठ २२ – २०६५ जेठ १५ | ||||
राज्याभिषेक | २०५८ जेठ २२ | ||||
पूर्वाधिकारी | दीपेन्द्र शाह | ||||
उत्तराधिकारी | शासन समाप्ति (गिरिजाप्रसाद कोइराला नेपालको राष्ट्र प्रमुखको रूपमा) | ||||
प्रधानमन्त्री | |||||
जन्म | वि.सं २००४ असार २३ नारायणहिटी दरबार, काठमाडौँ, नेपाल | ||||
जीवनसाथी | रानी कोमल | ||||
सन्तान | पारस शाह प्रेरणा शाह | ||||
| |||||
घराना | शाह वंश | ||||
बाबु | महेन्द्र वीर विक्रम शाह | ||||
आमा | इन्द्र राज्यलक्ष्मी देवी शाह | ||||
धर्म | हिन्दु |
राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।
ज्ञानेन्द्र शाह युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौँ, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। उनको जन्मपछि, उनका पितालाई राजज्योतिषहरूले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्किएका थिए।
२००७ को राजनीतिक घटनाको समयमा उनका पिता (महेन्द्र) र हजुरबुवा (त्रिभुवन) र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए। उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि.सं. २००७ कात्तिकमा राजा घोषणा गरेका थिए। उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरू समेत निष्काशन गरिए। राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयाँ बजेट समेत छुट्याएका थिए। वि.सं. २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हालेका थिए।
ज्ञानेन्द्रको पढाई दाजु राजा वीरेन्द्रसँगै दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा भएको थियो। उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६९ मा स्नातक गरेका थिए।
उनले दाजु वीरेन्द्रको राज्यभिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रूपमा काम गरेका थिए। उनले श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरेका थिए।
उनको विवाह वैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवीसँग भएको थियो। उनीहरूका जम्मा दुई सन्तान छन् :-
२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको नरसंहारमा राजा राजा वीरेन्द्रको परिवारको हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। दीपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो।
जेठ २२ मा दीपेन्द्रको अचेत अवस्थामा नै मृत्यु भएपछि राज्य सहायक ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो। एकातिर परिवारको बिग्रह र अर्को तिर देशमा जारी रहेको सशस्त्र यतिबेलाको उनको मुख्य चुनौती थियो।
२०५८ असार २८ मा माओवादीको आक्रमणमा प्रहरीहरू परे। एक जना सइ (सब इन्सपेक्टर) भाग्न खोज्दा मारिए भने ६९ जना माओवादी कब्जामा परे। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले साउन ४ मा प्रहरीको उद्धार गर्न सेना परिचालन गरे। माओवादी विरुद्ध लड्न पठाइएको सेना उसैसँग सम्झौता गरेर फर्कियो। वास्तवमा सिपाहीलाई बिनातयारी लडाइँमा पठाएको थियो। सेना फिल्डमा त गयो, तर मानसिक र भौतिक रूपमा तयार थिएन।
सेनालाई फर्कन कसले निर्देशन दियो? सरकार स्वयं बेखबर थियो। आक्रोशित प्रधानमन्त्रीले सेनापतिको राजीनामा मागे। तर राजाले प्रधानमन्त्री कै राजीनामा मागे। आफ्नो स्वीकृतिबेगर कोइरालाले सेना परिचालन गरेकोमा राजा असन्तुष्ट थिए।
२०५८ मङ्सिर ८ माओवादीले सेनामाथि पहिलो हमला गरे। दाङको घोराही माओवादी छापामारले सेना, प्रहरी र निजामती अड्डाहरूमा एकसाथ आक्रमण गरे। त्यसक्रममा सेनानी नरेश उप्रेती सहित १४ सैनिक, सात प्रहरी र सात माओवादी मारिए। झन्डै २२५ आधुनिक हातहतियार, पचासौं हजार गोली, ८० क्विन्टल जिलेटिन सहित १२ गाडी सामान लुटेर लैजान माओवादी सफल भए। त्यसैल रात माओवादीले स्याङ्जामा र तीन दिनपछि सोलुखुम्बुमा हमला भयो।
सेना माथि हात हालेपछि विद्रोहीलाई सरकारले आतङ्ककारी घोषित गर्दै देशव्यापी सङ्कटकाल लगायो र फौजी कारबाही शुरु गर्यो।
उनले देशमा भइरहेको माओवादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे।
२०६३ बैशाख ११ मा राजा ज्ञानेन्द्रद्वारा राति ११:३० मा देशबासीको नाममा सम्बोधन गरे। सम्बोधनमा राजाबाट नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै रहेको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जन आन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनैतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याहरूको समाधान गर्दै तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा २०५८ जेठ ८ मा विघटित भएको प्रतिनिधि सभालाई नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम पुनस्थापित गरि, पुनस्थापित प्रतिनिधि सभाको बैठक वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद भवन सिंहदरबारमा बस्ने गरि आह्वान गरे।
प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका सात राजनीतिक दलले वि.सं. २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्।
गणतन्त्रको घोषणापछि उनी बालाजु माथि नागार्जुन जङ्गल भित्र रहेको दरवारमा बस्दै आएका छन् भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले सङ्ग्रहालय घोषणा गरेको छ।
उनी राजा भएको बेला नेपालमा ने.क.पा. माओवादीले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उद्देश्यले जन-युद्धको नाममा गुरिल्ला युद्ध चलाइरहेको थियो। त्यसबेला जनताको जनादेश पाएको भनी दावी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकिरहेका थिएनन्। राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुँदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने दलहरूमा पदको लुछाचुडी चलिरहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको विघटन गरे। तर उनले समयमा नै उक्त प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनन्। यसले संवैधानिक जटिलता छायो। नेपाली काङ्ग्रेस र नेकपा (एमाले) जस्ता ठुला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन्। त्यसबेला ने.क.पा माओवादी लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनीहरू प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकार गरेनन्। उनीहरूले राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिँडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदमपछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको पञ्चायती व्यवस्थामा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र ने.क.पा माओवादी बीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो र सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्यो।
आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी वि.सं. २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन। त्यसपछि वि.सं. २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले माओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।
अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आइसकेको र संविधानसभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछ्याउँदै संविधान सभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन्।
पूर्वाधिकारी वीरेन्द्र वीर विक्रम शाह | नेपालको राजा सन् २००१ -- सन् २००८ | उत्तराधिकारी पद अन्त्य |
पूर्वाधिकारी नयाँ पद | नेपालको मन्त्रीपरिषद्को अध्यक्ष ?? | उत्तराधिकारी - |
This article uses material from the Wikipedia नेपाली article ज्ञानेन्द्र वीरविक्रम शाह, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.