ग्रन्थ अर्थशास्त्र

यो विवरण अर्थशास्त्र ग्रन्थको बारेमा छ । अर्थशास्त्र (इकोनोमिक्स) को बारेमा जान्न अर्को विवरण अर्थशास्त्रमा हेर्नु होस् ।

अर्थशास्त्र ग्रन्थ का रचयितालाई कौटिल्य, विष्णुगुप्त, चाणक्य आदि विभिन्न नामले उल्लेख गरिएको पाइन्छ । तर स्वयं रचनाकारले आफ्नो नाम विष्णुगुप्त बताएका छन् । आचार्यको जीवनीकारहरूका अनुसार, नन्दबाट अपमानित भएका र नन्द वंश समाप्त पार्ने शपथ लिएका आचार्य विष्णुगुप्तले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा सङ्गठन खडा गरे । आफूले यो महान कार्य गरेको उल्लेख उनले यसरी गरेका छन्–

येन शास्त्रं च शस्त्रं च नन्द राजगता च भूः ।

अमर्षेणेद्धृत्यांन्याशु तेन शास्त्रमिदं कृतम् ।

दृष्ट्वा विप्रतिपत्तिं बहुधा शास्त्रेषु भाष्यकारणाम् ।

स्वयमेवविष्णुगुप्तश्चकार सूत्रं च भाष्यं च ।।

(जसले असह्य भएर शस्त्र, शास्त्र, र नन्दको हातमा परेको भूमि (राज्य व्यवस्था) उद्धार गर्यो, उही चाणक्य विष्णुगुप्तद्वारा विभिन्न शास्त्रहरुका मतभेदहरु अध्ययन गरेर यो शास्त्र रचना गरिएको हो ।)

चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल र बलियो साम्राज्य स्थापना भयो जसको राजधानी पाटलिपुत्र थियो । यस राज्य विस्तारलाई छोरा बिन्दुसार र नाति सम्राट अशोकले निरन्तरता दिएका हुन् । लगातार तीन पुस्ता (३००–१८० वि.पू.) सम्म निष्कण्टक सञ्चालित रहेको यो विशाल साम्राज्य कौटिलीय अर्थशास्त्रका नीतिहरूको जगमा स्थापित भएको थियो भन्नुमा अत्युक्ति हुने छैन ।

यद्यपि अटोस्टीन जोली, विन्टरविट्ज, कीथ आदि केही विद्वानहरूले यसको प्राचीनतामा शंका गर्दै  कौटिल्य तथा अर्थशास्त्र दुवै वास्तविक होइनन् र कुनै काल्पनिक रचनाकारले पाँचौ शताब्दीमा रचना गरेको बताउँछन् । तर के पी जायसवाल, रुद्रपत्तनम् श्यामशास्त्री, गणपति शास्त्री, फ्लीट, स्मिथ, र अमर्त्य सेन, सोमनाथ शर्मा, नयराज पन्त आदि विचारकहरूले प्रमाणपूर्वक के भनेका छन् भने कौटिल्यको अस्तित्व थियो त्यसैले आलोचकहरूका तर्कहरू महत्तत्वहीन छन् । त्यसैले आधुनिक समयमा विद्वान्हरूले कौटिल्यको ऐतिहासिकता असन्दिग्ध मान्दछन् ।

अमरकोशका एक जना व्याख्याकार जातरूपले आफ्नो व्याख्यामा भनेका छन्– अर्थशास्त्र चाणक्यादि । यसबाट के स्पष्ट हुन्छ भने चाणक्य (कौटिल्य) र उनले उल्लेख गरेका अन्य अर्थशास्त्र विषयका प्रतिपादक हुन् । अतीतमा अर्थशास्त्र एक प्रतिष्ठित विद्या रहिआएको थियो र अनेक आचार्यहरूले संस्कृतमा अर्थशास्त्र नाम गरेका ग्रन्थहरु रचना गरेका थिए भन्ने कुराको प्रमाण कौटिलीय अर्थशास्त्रमा उल्लिखित अर्थशास्त्राणि शब्दबाट स्पष्ट हुन्छ । यो शब्द अर्थशास्त्रको बहुवचन हो । तर प्राचीन आचार्यहरूले रचना गरेका सबै ग्रन्थहरु सोही रूपमा भने उपलब्ध छैनन् । कौटिलीय अर्थशास्त्रको विषय वस्तु व्याख्या गर्ने क्रममा आचार्य कौटिल्यले ११२ स्थानमा पूर्वाचार्यहरूको कथन, सिद्धान्त, विश्लेषण, र उदाहरणहरू प्रस्तुत गरेका छन्  । औशनस र भारद्वाजको नाम सात पटक, बृहस्पति, वैशालाक्ष, र पराशरको नाम छ पटक, मनु, वातव्याधि, र पिशुनको पाँच पटक, कौणपदन्तको चार पटक, बाहुदन्तीपुत्र र आम्भीको नाम एक एक पटक सन्दर्भ उल्लेख गरिएको छ । अन्य अज्ञातनाम आचार्यहरूलाई मेरो आचार्य, आचार्य वा अन्य भनी उल्लेख छ । यस्ता आचार्यहरूको नाम ५९ पटक उल्लेख छ ।

कौटिल्यको वास्तविक नाम, जन्म स्थान र जन्म मितिबारे विद्वान्हरूमा विवाद पाइन्छ । बौद्ध साहित्यले उनलाई तक्षशिला निवासी मानेका छ । कौटिल्यको शिक्षा दीक्षा तक्षशिलामा भएको थियो र पछि उनी त्यहीं अर्थशास्त्रका आचार्य भएका थिए । कौटिलीय अर्थशास्त्र अनुसार उनको खास नाम विष्णुगुप्त हो । जीवनीकारहरूका अनुसार, मगधको राजा नन्द एक शक्तिशाली तर अन्यायी राजा थियो । जसको व्यवहारबाट सामान्य मानिसहरू अत्यन्त असन्तुष्ट थिए । सामान्य मानिसहरूको भावनाको प्रतिनिधित्व गर्दै अत्याचारी नन्द वंश समाप्त गर्ने शपथ लिएका चाणक्यले चन्द्रगुप्त मौर्यलाई शिष्य बनाई एउटा सङ्गठन खडा गरे । चन्द्रगुप्त मौर्य राजा भएपछि एक विशाल, सम्पन्न र बलियो मगध साम्राज्य स्थापना भयो । चन्द्रगुप्तको नाति सम्राट अशोक इतिहास प्रसिद्ध राजाहरू हुन् । इतिहासकारहरूले अशोकको साम्राज्य पूर्वमा आसामदेखि, पश्चिममा अफगानिस्तानसम्म र उत्तरमा कश्मीरदेखि दक्षिणमा कलिंगसम्म फैलिएको थियो भनेका छन् । यस साम्राज्यको राजधानी पाटलिपुत्र अर्थात् पटना थियो । वि.सं. ४००–३०० वि.पू. स्थापित यस साम्राज्यको स्थिरता र सम्पन्नता अर्थशास्त्र पुस्तकका सिद्धान्तहरूमा स्थापित भएको हो भन्नुमा अत्युक्ति हुने छैन । प्रजाको सन्तानवत् पालन गर्ने सिद्धान्त पनि अशोकले कौटिलीय अर्थशास्त्रबाट प्राप्त गरेको मानिएको छ । बौद्ध जातकहरूमा पनि मोरिय गणराज्यको नाम उल्लेख भएको छ र त्यसको स्थान लुम्बिनीको नजिकबताइएको छ । यो नै चन्द्रगुप्त मौर्यको जाति पनि हो । भविष्य पुराणमा चन्द्रगुप्तलाई शाक्य वंशी बुद्ध सिंहको सन्तान भनिएको छ ।

ग्रन्थको पुनरुद्धार एवं अनुवाद  

दक्षिण भारतको एक ब्राह्मणले वि.सं. १९५९ मा भट्टस्वामीका टीका सहितको एक हस्तलिखित ग्रन्थ मैसूर राज्यको ओरिएन्टल लाइब्रेरीका अध्यक्ष श्याम शास्त्रीलाई बुझाएको थियो । जसले मैसूरका राजा बोडियारको सहयोगले यसको शुद्धता साथ सम्पादन, अंग्रेजी अनुवाद र प्रकाशन गरे । यस पछि गणपतिशास्त्री, काङ्ले, गैरोला, रङ्गराजनले पुनः सम्पादन, अनुवाद र विश्लेषण गरे । जर्मन, इटालियन र अन्य यूरोपेली भाषामा कौटिलीय अर्थशास्त्रको अनुवाद प्रकाशित भयो । यसरी लगभग दुइ हजार वर्ष अघि रचना गरी बीचमा हराएको एक महत्त्वपूर्ण ग्रन्थ सार्वजनिक जानकारीमा आयो । यी अनुवादहरूले प्राचीन हिन्दु संस्कृतिमा अर्थशास्त्र, राजनीतिशास्त्र, कूटनीति, युद्धकला, र सैन्य संचालनका क्षेत्रमा गरिएको मौलिक, व्यावहारिक, र वस्तुगत चिन्तनबारे विश्वलाई जानकारी भयो । नेपालमा अर्थशास्त्र नामक यस अनुपम ग्रन्थको बारेमा वि.सं. २००३ मा चर्चा हुन थालेको हो । सम्पूर्ण कौटिल्य अर्थशास्त्र ग्रन्थको पहिलो नेपाली अनुवाद वि.सं.२०२४सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भयो । यसमा लगभग ९०० पृष्ठ छन् ।

कौटिलीय अर्थशास्त्र– संक्षेपमा

कौटिल्यले विद्यालाई चार भागमा विभाजन गरेका छन् –

आन्वीक्षिकी

आन्वीक्षिकी शास्त्र सबै शास्त्रहरूको गहनतामा प्रवेश गर्नसक्ने ज्ञानको प्रकाश हो । यसले कुनै समस्याको विश्लेषण र समाधानका वैज्ञानिक उपायहरू प्रस्तुत गर्नुका साथै अध्ययनको विषय वस्तुमा उचित के हो र कुन कुरा उचित छैन त्यो छुट्टयाउने आधार पनि प्रदान गर्छ । तसर्थ आन्वीक्षिकीले कुनै विषय विश्लेषणको दार्शनिक आधार, समस्याको उठानका तरीकाहरू र त्यसको विश्लेषणका वैज्ञानिक विधि र निष्कर्ष प्राप्त गर्ने विशिष्ट उपकरण निष्कर्ष प्राप्त गर्ने तरीका प्रदान गर्छ ।

त्रयी

त्रयी अन्तर्गत निम्नलिखित तीन वेदहरू पर्दछन्–  

क).ऋग्वेद

ख) यजुर्वेद

ग) सामवेद  

वार्ता

कौटिल्यको विचारमा वार्ताशास्त्रको मुख्य विषय वस्तु कृषि हो । यसका साथै पशुपालन र वाणिज्यलाई पनि उनले वार्तामा समावेश गरेका छन् । कौटिल्यका अनुसार– अर्थानर्थौ वार्तायाम् अर्थात् अर्थ आर्जन कसरी हुन सक्छ र त्यसको उपयोग कसरी हुन जान्छ त्यो कुरा वार्ताशास्त्रमा वर्णन गरिन्छ ।

दण्डनीति

राज्यको प्राप्ति, प्राप्त राज्यमा लोक कल्याणकारी काम, आर्थिक प्रगति, अन्य राष्ट्रसंग सन्धि र विग्रहका नीतिहरू बताउने शास्त्रलाई दण्डनीति भनिएको छ । दण्डनीतिलाई अर्को शब्दमा नयशास्त्र वा नीति शास्त्र पनि भनिन्छ । यस नीतिशास्त्रले नीतियुक्त के हो र के कुरा नीतियुक्त छैन त्यस कुरालाई निर्क्यौल गर्न मद्दत गर्छ ।

कौटिलीय अर्थशास्त्रको विषय विभाजन

यो विशाल ग्रन्थ १५ खण्ड अर्थात् अधिकरणमा विभाजित छ । प्रत्येक अधिकरणमा अनेक अध्यायहरू छन् । कौटिल्यले सुरुदेखि अन्तसम प्रकरणलाई निरन्तरता दिएका छन् । यसरी  कौटिलीय अर्थशास्त्रमा जम्मा १८० प्रकरणहरु छन् । कौटिल्यले आफ्नो ग्रन्थमा ६००० श्लोकको निबन्ध रचना गरिएको बताएका छन् तर अहिलेसम्म प्राप्त विभिन्न संकलनहरूको श्लोक संख्या ३८० र जम्मा सूत्र संख्या करीब ४८०० हुन आउंछ । यसबाट मूल ग्रन्थको केही सामग्री लोप भएको बुझिन्छ । यदि कौटिल्यले ६००० रचना गरेको भए लगभग १० प्रतिशत सामग्री उपलब्ध छैन ।

कौटिलीय अर्थशास्त्रको विषय वस्तुहरूलाई निम्नलिखित शीर्षकहरूमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ

१.परिचयात्मक खण्ड

२.राज्य संयन्त्र

३.अर्थव्यवस्था

४.आन्तरिक र बाह्य सुरक्षा

परिचयात्मक खण्ड–

प्रथम र पन्ध्रौँ अधिकरण ग्रन्थको विषय वस्तु, अर्थशास्त्रको परिभाषा र शोधविधिको परिचयस“ग सम्बन्धित छन् । प्रथम अधिकरणका तीन अध्यायहरूमा ग्रन्थको सम्पूर्ण विषय वस्तुको क्रम तथा आन्वीक्षिकी, त्रयी, वार्ता र दण्डनीति विषयको निरुपण गरिएको छ । पन्ध्रौँ अधिकरणमा आर्थिक तथ्यहरूको विश्लेषण गरी निष्कर्ष प्राप्त गर्ने विधिको वर्णन छ ।

राज्य संयन्त्र–

प्रथम अधिकरणको अध्याय ४ देखि अध्याय २० सम्मका अध्यायहरूमा राजकाजको दृष्टिले शासकका व्यवहार र कर्तव्य, मन्त्री, पुरोहित, राजकीय पदाधिकारी, राजदूत र गुप्तचर नियुक्ति सम्बन्धी विषयको विवरण दिइएको छ । दोस्रो अधिकरणको सुरुका चारवटा अध्यायमा जनपदहरूको स्थापना, किल्ला निर्माण, राजकीय पदाधिकारीका चालचलनको परीक्षा र अध्याय ६ देखि ३५ सम्मका अध्यायहरूमा राजकीय कोष, सेना, कृषि, उद्योग आदिका प्रमुख अधिकारीहरूको काम र कर्तव्यका बारेमा उल्लेख छ । अध्याय ३६ मा नागरिकको कर्तव्य उल्लेख छ । पाँचौ अधिकरणका छवटा अध्यायहरूमा सुगठित र अनुशासित आन्तरिक प्रशासन सम्बन्धी विषयहरूको वर्णन छ । छैटौं र आठौँ अधिकरणमा राज्यका प्रकृतिहरूलाई आदर्श बनाउने विधिहरू वर्णित छन् । सातौँ, नवौँ, दशौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ र चाधौं अधिकरणमा वैदेशिक सम्बन्ध, शत्रु र मित्र राष्ट्रसँगको कूटनैतिक व्यवहारबारे वर्णन छ ।

अर्थव्यवस्था–

पहिलो अधिकरणको अध्याय २ र ३, दोस्रो अधिकरणका सबै अध्याय, तेस्रो अधिकरणको अध्याय १० देखि १४, चौथो अधिकरणको अध्याय १ र २ तथा पाँचौं अधिकरणको अध्याय २ र ३ को विवरणले के स्पष्ट गर्छ भने राजकीय अर्थव्यवस्था विषयमा प्राचीन कालमा उत्कृष्टतम लेखन कार्य उपलब्ध थियो । कृषि, पशुपालन, वाणिज्य, राजकीय वित्त, राजकीय र निजी उद्यम व्यवस्था, आर्थिक प्रशासन इत्यादि अनेक आर्थिक क्षेत्रको विस्तृत र वैज्ञानिक विश्लेषण यी अध्यायहरूमा गरिएको छ ।

दोस्रो अधिकरणमा राज्यका ३६ विभागका प्रमुख अधिकारीहरूको काम र कर्तव्यको बारेमा उल्लेख छ । यस अधिकरणमा आन्तरिक र वैदेशिक व्यापारका साथै भूमि व्यवस्था, पूँजी लगानी इत्यादिद्वारा राष्ट्रिय आयमा वृद्धि गर्ने विषयहरू उल्लेख छ । कर सङ्कलन गर्ने शौल्किक, कर विभाग प्रमुख,तथा करारोपणका नियमका बारेमा सूक्ष्म विवरण दिइएको छ । बढी कोषको आवश्यकता पर्दा लिनु पर्ने राजकीय निर्णयहरूको बारेमा पाँचौं अधिकरणमा बताइएको छ । राजकीय कोष लेखाङ्कनका विधि, फाइलिंग प्रणाली र नियमहरुका बारेमा अक्षपटलाध्यक्ष अध्यायमा विवरण दिइएको छ । तेस्रो अधिकरणमा ज्याला, ब्याज र नाफाका सैद्धान्तिक र कानुनी समाधानहरू प्रस्तुत गरिएको छ । पाँचौं अधिकरणमा राजकीय कर्मचारीहरूको ज्याला निर्धारणका नियमहरू बनाइएको छ ।

आन्तरिक र बाह्य सुरक्षा–

शान्ति सुरक्षालाई कौटिलीय अर्थशास्त्रमा राज्यको सर्वाधिक महत्त्वपूर्ण काम बताइएको छ । तेस्रो, चौथो, र पाँचौं अधिकरणहरूमा आन्तरिक सुरक्षाका लागि स्थानीय निकाय, सेना, रक्षक, र गुप्तचर निकायहरूको व्यवस्था गरिएको छ । धर्मस्थीय अधिकरणमा धर्मशास्त्रमा आधारित विधि संहिताको विवरण दिइएको छ । कण्टकशोधन अधिकरणमा नाफामुखी व्यापारी, अशान्ति मच्चाउने अपराधी, प्रजापीडक कर्मचारी आदि समाजलाई कण्टक तत्त्वहरूलाई दण्डित गरी तह लगाउने नियमहरूको वर्णन छ । नवौं र दशौँ अधिकरणमा युद्ध अभियानको तैयारी र युद्ध सञ्चालन गर्दा पालन गर्नु पर्ने नियम, व्यूह रचना, शत्रुमाथि आक्रमण आदिको विवरण छ । एघारौं अधिकरणमा संघराज्यहरूमा फूट पार्ने तथा आफ्नो केन्द्रीय राज्यमा मिलाउने विधिहरूको प्रतिपादन गरिएको छ । बाह्रौं अधिकरण दुर्बल राज्यले बलिया राज्यसँग गर्नु पर्ने कूटनैतिक व्यवहार र सावधानीहरूको वर्णन छ । तेह्रौं अधिकरणमा शत्रुको दुर्ग जितेपछि कब्जा गर्ने र त्यसमा आधिपत्य कायम गर्ने विधिहरूको वर्णन गरिएको छ । चौधौं अधिकरणमा शत्रु माथि प्रयोग गरिने विष, टुना मुना र मन्त्रहरूको प्रयोग विधि बताइएको छ ।

उपसंहार

यदि एडम स्मिथलाई आधुनिक अर्थशास्त्रका जनक भनिन्छ भने कौटिल्यलाई पूर्वीय अर्थशास्त्रका जनक भन्न सकिन्छ । तर स्वयं कौटिल्यले शुक्र र बृहस्पतिका सम्प्रदायको आधारमा ग्रन्थ रचना गरेका हुन् । शुक्रनीति र महाभारतको उल्लेख अनुसार, शुक्र र बृहस्पतिका ग्रन्थहरु पैतामह तन्त्रको आधारमा रचना गरिएका हुन् । बृहस्पतिलाई पनि अर्थशास्त्रका आधिकारिक व्यक्ति भनिएको छ । यी सबै तथ्यहरूको आधारमा अर्थशास्त्र विषयका विविध ग्रन्थ थिए र सो विषयका अनेक आचार्य थिए भन्न सकिन्छ  । 

सन्दर्भ सामग्रीहरू

Tags:

ग्रन्थ अर्थशास्त्र ग्रन्थको पुनरुद्धार एवं अनुवाद  ग्रन्थ अर्थशास्त्र कौटिलीय अर्थशास्त्र– संक्षेपमाग्रन्थ अर्थशास्त्र कौटिलीय अर्थशास्त्रको विषय विभाजनग्रन्थ अर्थशास्त्र उपसंहारग्रन्थ अर्थशास्त्र सन्दर्भ सामग्रीहरूग्रन्थ अर्थशास्त्रअर्थशास्त्र

🔥 Trending searches on Wiki नेपाली:

विक्रम सम्वत्पारस्परिकता (संस्कृतिक मानवशास्त्र)सुवासचन्द्र नेम्वाङनेपालमा कृषिजीव विज्ञानबङ्गाली भाषाकेराबारी गाउँपालिकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनचीनलागत लेखाविधिनवलपरासी जिल्लाबैजनीशुक्रराज शास्त्रीनेपालका जिल्लाहरूवैशाखदमकलसुर्खेत जिल्लाशिक्षाकृषिगोत्रक्यूआर कोडजयपृथ्वीबहादुर सिंहनेपालको जनआन्दोलन २०४६बसाइँ सराईउखान-टुक्काकाभ्रेपलान्चोक जिल्लाकुखुराप्रविधिमाटोवीरेन्द्र सैनिक अस्पतालनेपालका स्थानीय तहहरूपुनर्जागरणजनक शिक्षा सामग्री केन्द्रउधौलीइलाम २ (निर्वाचन क्षेत्र)अन्तर्राष्ट्रिय श्रमिक दिवससामाजिक सञ्जालजनसाङ्ख्यिकीय लाभांशवाणिज्य बैंकबडिखेलसुदूरपश्चिम प्रदेशजीवनीसुवेदीसिन्दुरे जात्रा (नुवाकोट)नेपालमा महिलाको अवस्थाबौद्धनाथनेपाल विद्युत प्राधिकरणगुल्मी जिल्लाभियतनामविद्यार्थीमानव विकास सूचकाङ्कदरबार हत्याकाण्डनेपाल प्रहरीकास्की जिल्लामहाभारत पर्वत शृङ्खलानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लातनहुँ जिल्लापशुपतिनाथ मन्दिरसरकारी बजेटउदित नारायण झाकोशी प्रदेशको मुख्यमन्त्रीमहानगरपालिकालैङ्गिकताबंगलामुखी मन्दिरकटारी नगरपालिकाआवश्यकता शृङ्खला सिद्धान्तदोलखा जिल्लाडेउडा गीतकावासोती नगरपालिकाघोडाघोडी तालपहाडी प्रदेश (नेपाल)नेपालका राष्ट्रिय निकुञ्जहरूबागमती नदीगङ्गा नदीसहरीकरण🡆 More