देउडा गीत' (प्रचलित: देउडा गीत) नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रमा गाइने प्रचलित लोक गायन शैली हो। यसलाई डेउडा भाका, डेउडा गीत, लोक डेउडा आदि नाम दिएको पाइन्छ। यो गायन खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट र हुम्ला जिल्लाहरूमा मुख्य रूपमा अपनाइएका पाइन्छन् । यो पश्चिमेली भाषामा गाइन्छ । डेउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको डेउडाले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । डेउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह आदिमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रूपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाई प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरेको मानिन्छ । संस्कृत भाषाको देउंदुराय शब्दबाट देउदुरा हुँदै डेउडा शब्द बनेको हो भन्ने पनि छ ।
उत्पति | सुदूरपश्चिम नेपाल |
---|
डेउडा गीतको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान लगाइन्छ । कतिपय ठाउँमा पहिलेका दिनहरूमा डेउडा गीत गाउन लाज मान्ने चलन पनि थियो । त्यो अवस्थामा डेउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवालजवाफ चल्ने गर्दथ्यो । यति मात्र होइन, डेउडा गीतबाट नै कतिपयका घरबार बसेका कुरा पनि सुन्नमा आउँछन् । डेउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्रायः यसका गीतहरू खस भाषामा आधारित हुन्छन् । खास गरेर खस भाषाको उद्गमस्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ । पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तै:- बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदि ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । डेउडा गीत पनि यिनै राज्यमा प्रचलित भएको थियो र अहिले पनि तत्कालीन राज्यअन्तर्गत पर्ने स्थानहरूमा यो डेउडा गीत लोकप्रिय बन्दै गएको छ । पश्चिम नेपाल राज्यको नजरमा टाढा रहे पनि संस्कृतिमा सधैं सम्पन्न रहेको छ । नेपाली भाषाको उद्गमभूमिको रूपमा रहेको पश्चिम नेपालको आफ्नै इतिहास छ । पश्चिम नेपालमा गाइने न्याउल्या गीतको त झनै गौरवमय इतिहास छ । डेउडा गीतको ऐतिहासिक नाम न्याउल्या गीत हो । भारतको कुमाउँतिर अझै पनि ठाडीभाकालाई न्याउली भनिन्छ । पश्चिम नेपालका पहाडी जिल्लाहरूमा गाइने सबै गीतहरूलाई मिडियाले डेउडा भन्ने गरेको पाइन्छ । यति मात्र नभएर कतिपयले खस, अछामी, डोटेली, बैतडा आदि पश्चिम नेपालमा बोलिने भाषासहितलाई पनि डेउडा भाषा भन्ने गर्छन् । । नेपाली भाषाको उद्गम स्थल पश्चिम नेपाल हो भन्ने कुरा इतिहासले नै सावित गरिसकेको छ । nepali culture
अहिले कर्णाली र सुदूरपश्चिम भनेर छुट्टाइए पनि पहिले यो भूमी खस साम्राज्यका नामले प्रख्यात थियो । कत्युरी शासन कालमा पनि यो भाषाको प्रयोग भएको पाइन्छ । तर कत्युरीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन् । त्यस पछि खस साम्राज्यको उदय भयो । उनीहरूले जुम्लाको सिञ्जालाई राजधानी बनाएर शासन गरेका थिए । भारतको कुमाउँ, गढवाल लगायत तिब्बतको खार क्षेत्र र नेपालको त्रिशूलीसम्म खस साम्राज्य फैलिएको थियो । राजाले राजकिय भाषाको मान्यता दिएपछि यस भाषालाई खस भाषा भनेर पनि चिनिन थालियो । त्यहाँबाट सर्दै पूर्वी नेपालसम्म पुगेपछि यस भाषाले नेपाली भाषाको मान्यता पाएको थियो । नेपाली भाषाको मान्यता पाए पछि लेख्न र पढ्न सजिलो होस् भनेर केही विकसित गरियो ।
प्राचिन खस भाषा पश्चिम नेपालमा अझै पनि रहेको छ । पृथ्वीनारायण शाहले दिव्योपदेशमा " मेरा साना दुःखले आर्ज्याको मुलुक होइन, चार जात ३६ वर्णको साझा फूलवारी हो सबैलाई चेतना भया" भनेका छन् । उनकै भाषाको आया, गया, खाया, भया जस्ता शब्दको प्रयोग भएको छ । त्यो भाषा पश्चिम नेपालमा अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ । पश्चिम नेपालमा अँझै पनि काँ जाँदा भयौ, काँ बाटी आयौ, क्या अद्दा छौ जस्ता शब्दको प्रयोग हुन्छ । भानुभक्त आचार्यले लेखेको रामायणको पहिलो श्लोक "एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी, ब्रह्मा ताहीं थिया पर्या चरणमा खुसी गराया पनि ।" त्यही भाषाको प्रयोग भएको छ । परिस्कृत भएर अहिले नेपाली भाषा भएको यस भाषाको मुहान प्राचिन नेपालको जुम्ला राज्य र डोटी राज्य हो । त्यो भाषासँगै न्याउल्या संस्कृतिले पनि मौलाउने अवसर पाएको हो । न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्यायन गर्दा न्याउल्या गीत न्याउली चरीको स्वर जस्तै सुमधुर रहेकाले सोही अनुसार नामकरण गरिएको पाइन्छ । अहिले यसलाई डेउडा गीत, डेउडा संस्कृती, डेउडा भाषा, डेउडा खेल आदि नामले चिनिन्छ ।
पहिले न्याउल्या गीत भनिने यस गीतलाई डेउडा गीत भनिने विभिन्न कारणहरू रहेका छन् । २०११ सालमा योगी नरहरिनाथले लेखेको इतिहास प्रकाश भाग-३ मा कर्णाली क्षेत्रका न्याउल्या गीतबारे व्याख्या गरिएको छ । उनले गीतहरू सङ्कलन समेत गरेका छन् । लोकवार्ता परिषदले दाङमा २०७२ सालमा सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा कुमाउ युनिभर्सिटीका प्रोफेसर देवराज पोखरियालले एउटा कार्य पत्र तयार गरेका थिए । उनले त्यस कार्यपत्रमा कुमाउ गढवाल से महाकाली अञ्चल तकका न्याउल्या गीत भनेर लेखेका छन् । अतः यो गीतलाई न्याउल्या नै भनिन्थ्यो डेउडा त पछि भनिन थालिएको हो । सञ्चार माध्यमहरूबाट डेउडा र डेउडा भनेर प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुण्डियो । जनजिब्रोमा झुण्डिएको कुरालाई कसैले थुत्न सक्दैन । सबैले डेउडा भनेर नै बुझ्नु पर्ने भयो ।
विसं २०१५/१६ सालको फागुन महिनामा धर्मराज थापा पश्चिम भ्रमणमा गएका थिए । उनले त्यहाँको संस्कृति र गीतसंगीत अवलोकन गरेका थिए । सोही क्रममा उनले सुदूर पश्चिममा होरी खेलेको देखे । त्यो खेल (नृत्य)मा प्रयोग हुने गीतहरूलाई होरी डेउडा भनिन्छ । धर्मराज थापा काठमाडौँ फर्किसकेपछि उनले सायद गोलाकार रूपमा खेलिने सबै डेउडा हुन् सोचे । धर्मराज थापा त्यो बेलामा रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउँथे । उनले पश्चिम भ्रमणको अवसरमा रेकर्ड गरेर ल्याएका सबै कार्यक्रमहरूलाई रेडियो नेपालबाट डेउडा भनेर प्रसारण गर्न थाले । रेडियो नेपालले तत्कालिन समयमा डेउडा भनेर प्रसारण गर्दा जनमानसमा सबै कुरा डेउडा रहेछ भन्ने पर्न गयो । जुन कुरा धर्मराज थापाले व्याक्तिगत धारणाका आधारमा भनेका थिए त्यो कुरा सबैमा कस्तुरीले आफूसँग भएको बिनाको सुगन्ध थाह नपाए जस्तै भयो । गहिरो अध्यायन नगरेर नै डेउडा बोलिन थालियो । कसैलाई थाह नभएको कुरा एकै चोटी रेडियो नेपालबाट डेउडा भनेर प्रसारण भए पछि पश्चिम नेपालको सबै कुरा डेउडा बन्न पुग्यो ।
डेउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले गरेका छन् । उनले कोल घुमेजस्तै गरेर गोलाकार रूपमा खेलिने खेललाई डेउडा भनिन्छ भनेर लेखेका छन् । अर्को पाटोमा भन्ने हो भने डेउडाको अर्थ देवताको उपासना गर्ने भन्ने पनि हुन्छ । पश्चिम नेपालमा देवताका मन्दिरहरूमा र धार्मिक उत्सवहरूमा धमारी, झोडा, चुटकिला आदी देवताहरूका गाथा गाउने चलन छ । जसमा दुई हरफ चौध अक्षरको पंक्तिमा पुरै देवस्तुती हुन्छ । दे भन्नाले देवता, उ भन्नाले उपासना र डा भन्नाले डाक्ने अथवा आवाहन गर्ने भन्ने पनि हुन्छ । देवताहरूको उपासना गर्ने डेउडा निश्चित चाडपर्वहरूमा गाइन्छ । भगवान कृष्णका चरित्र गाथा, देवकी नन्दनका चरित्र गाथा, रामका चरित्र गाथा, शिवका चरित्र गाथा, स्थानिय देवी देवताको वर्णन, प्रकृति वर्णन आदी होरीको डेउडामा गाइन्छ । कृष्ण जन्माष्टमीमा कृष्णको गाथा गाइन्छ । त्यसैले यी गीतहरूलाई डेउडा भनिन्छ । यहाँ उल्लेख गरिएका विभिन्न कारणहरूले गर्दा पहिलेका दिनहरूमा न्याउल्या भनिने यी गीतहरूलाई अब डेउडा गीत भनिएको हो ।
डेउडा गीतको हिसाबले र प्रयोगको हिसाबले धेरै प्रकारको हुन्छ । यसमा गायकहरूले विभिन्न ताल र लयको प्रयोग गरेर गायको देखिन्छ । कुनै तालमा बसेर गाइन्छ भने कुनैमा नाच्ने गरिन्छ । डेउडा गीतका ताल र प्रकार निम्न अनुसार रहेको छन् ।
यो ठाडीभाका लामो स्वर गरेर गाईन्छ। यो भिर, पाखा, गोठालो जाँदा गाईने हुनाले यसलाई गोठाले गीत पनि भनिन्छ। यसमा गायकले शांत र एकान्त ठाउँमा बसेर गाउँछन्। ठाडी भाकामा दुल्लुको ठाडी भाका निकै प्रचलित छ। यसमा गायक एकल यूगल हुन्छन्। वन जंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु नेपालको सुदूर तथा मध्य पश्चिम क्षेत्रको एक प्रमुख संस्कृति रहि आएको छ । लामो स्वर तानेर गाइने हुनाले ठाडी नाम दिइएको यो भाकालाई डेउडाको एक विधा मानिन्छ । समाजको अगाडि गाउन लाज मान्ने यस गीतमा बाजा बजाइदैन । आधुनिक जमानामा कलाकाकारहरूले ठाडी भाका गाँउदा बाँसुरी र हार्मोनियक बजाउने गरेको पनि पाइएको छ ।
हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाईन्छ। यसमा पुराना लडाईका कथाहरू समावेश गरिन्छन्। यो सामूहीकरूपमा गाईन्छ। यसमा गायकहरू २ समूहमा बाँडीएका हुन्छन्। एक समूहमा नाँच्ने हुन्छन् जसलाई हुड्के भनिन्छ। अर्को समूहमा बजाउने र गाउने हुन्छन् । जसलाई रागिला अथवा स्वरे भनिन्छ । यो खास गरी बैतडी र दार्चुला जिल्लामा विवाहादी उत्सवहरूमा गाइन्छ। यसलाई भारतको उत्तराखंडमा पनि प्रयोग भएको पाइन्छ ।धेरै जसो वैतडी दार्चूला भन्दा अछाममा बढी प्रयोग भएको पाईन्छ ।
डेउडा समूह अंतर्गत पर्ने एक अर्को प्रकारको भाका हो। यसमा गायकहरू गोलो घेरा बनाएर एकै तालमा हात खुट्टा बटार्दै दुई समूहमा गाउने गर्दछन्। धमारी खास गरी न्वारन र देवताको पूजा स्थानमा प्रयोग भएको पाइन्छ। यसलाई मुख्य रूपले बैतडी दैलेख, कालिकोट, डोटी र अछाममा प्रयोग भएको पाइन्छ। खास गरेर मेला महोत्सव र पूजा पाठका बेला धमारी खेल्लने प्रचलन छ ।
झोडा पनि धमारी जस्तै हो। तर यसमा गायकहरूको ताल र भाषा फरक हुन्छ।
डेउडा खेलबाट नै डेउडा संस्कृतिको उत्पत्ती भएको पाइन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गीतै गीतमा सवाल जवाफ हुन्छ । डेउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा प्राय: एक समूह यूवा र अर्को समूहमा युवती रहेका हुन्छन् । यूवा-यूवा बीच यूवती-यूवती बिच पनि यो सवाल जवाफको खेल हुन्छ । यो डेउडा प्रचलित सबै ठाउँमा खेलेको देख्न पाइन्छ । बर्तुलाकार समुहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गाईने र खेलिने खेल डेउडा हो । तिहार सकिने बितिक्कै बैतडी तथासुदूर पश्चिममा जाँत पर्व सुरु हुन्छन् । त्यसबेला बालक देखि वृद्ध वृद्धा सम्म डेउडा खेल्न ब्यस्त देखिन्छन् ।यो गौरा पर्व मा पनि खेल्ने गरिन्छ। डेउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) हो ।
झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने डेउडा नाच अथवा डेउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड स्टेप हान्नु पर्ने हुन्छ । एक स्टेपमा खुट्टा पुरा जान्छ भने अर्को स्टेपमा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकोले यस खेलको नाम डेउडा खेल र यसमा प्रयोग हुने गीतलाई डेउडा गीत भनिएको हो भन्ने भनाई छ । डेउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्ति मध्य पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पुरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । त्यसैले गायन र नृत्य दुईटैमा डेडीको प्रमुखता भएकोले यसलाई डेउडा भनिएको हो । डेउडा खेल अथवा न्याउल्या खेल भन्नाले कुनै खेलकुद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । डेउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रूपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । डेउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एक आपसमा पाखुरा समातेर सामुहगत रूपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् ।
विभिन्न उमेर समूहका महिला तथा पुरुषहरूले यस गीतमा छुट्टा छुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । डेउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यंग्यका साथै सामाजिक उत्पिडन, विषमता जस्ता विषयहरू डेउडामा मिहीन किसिमले केलाइएर प्रस्तुत गरिएको हुन्छ । सामूहिक डेउडा खेल्दा देउडियाहरू ठुलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुई जना गीदाउडा हरू हुन्छन् । गीतको उठान गर्ने व्याक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर डेउडा गायन र नृत्यमा झुम्मिन्छन् । यसरी प्रस्तुत गरिने सवाल जवाफलाई झिट्टा भनिन्छ । दोहरी शैलिमा डेउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ ।
डेउडा खेलमा छमक्म निरिमल छमक्क, छमक्क छमक्क, लौ बिरे छमछम, ए साली, मेरी बौजु, ए भिनाजु, तान तान बाज मैना चरी, हैक्या जिरा फूल फूल्याको छैक्या, आदि थेगोहरू प्रचलनमा रहेको पाइन्छ । यसरी डेउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टा छुट्टै रूपमा पनि डेउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवा युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतै गीतको सवाल जवाफ मार्फत परिचय गर्ने र मायाप्रेमका गीतहरू समेत अलाप्ने गर्दछन् ।
डेउडा गीतकोलागी प्रयोग हुने बाजाहरू मुख्य रूपले यस प्रकार रहेका छन्:
नन्दकृष्ण जोशी, भोजराज भट्ट, नरेन्द्रराज रेग्मी, टेकराज अवस्थी, यज्ञराज उपाध्याय, डिक्रादेवी बादी, विनोद बाजुराली आदि कलाकारहरूले डेउडा गीत गाएर यसलाई रेकर्ड गराएका छन् ।।
डेउडा गीत पश्चिम नेपालको पहचान गराउने एक संस्कृति नै हो । पहिलेका दिनहरूमा पश्चिम नेपालका प्रत्यक वन पाखामा र मेलापातमा घन्किने लोक डेउडा भाकाहरू अब आएर लोप हुन लागेका छन् । पश्चिम नेपालका वनपाखाहरूमा गुञ्जिने ठाडी भाकाहरू पाश्चात्य संस्कृतिको प्रभावका कारण हराउँदै गइरहेका छन् । बढ्दो आधुनिकतासँगै सूचना र प्रविधिको प्रयोगले डेउडा गीतलाई ओझेल पार्न लागेको छ । बढ्दो बजारीकरणका कारण गाउँहरूमा पनि आधुनिक र पप संगीतमा युवा पुस्ता रमाउन थालेपछि लोक डेउडा संस्कृती लोप हुन थालेको छ । केही समय पहिले डेउडा गीतहरू पश्चिम नेपालको सेरोफेरोमा मात्र सिमित थिए । अहिले डेउडा अन्तर्राष्ट्रिय करण भएको छ । डेउडा अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भएको छ । डेउडाको लोकप्रियता दिनानुदिन बढ्दो छ । लोकप्रियता बढेपनि यसको मौलिकता भने खस्किदै गएको छ । यो चिन्ताको विषय भएको छ । पहिलेका कलाकारहरूले सम्बन्धित ठाउँमा नै गएर मौलिकता सङ्कलन गरेर ल्याउने र रेकर्डिङ गर्दथे । अबका कलाकारहरूले मौलिकता सङ्कलन गर्ने दुःख गर्नु भन्दा पनि नयाँ जेनेरेसनले मौलिकतालाई बिर्सिएर नयाँ र्याप पपको नक्कल गरेर डेउडाको रेकर्डिङ् गराउने गर्छन् । त्यस्तो गर्नाले डेउडाको वास्तविक मौलिकता खस्किएको छ । केही रफ पपका टुक्काहरूमा पश्चिम नेपालका शब्दहरू जोडेर डेउडा भनेर प्रस्तुत गर्नु सरासर गलत हो । मौलिकतालाई जस्ताको तस्तै बाँच्न दिनु पर्छ । अर्को कुरा पश्चिमी संस्कृतिको प्रभावले पनि परम्परागत संस्कृतिको मौलिकता खस्किन पुगेको हो । अहिले गीतहरूको बजार पनि खस्किएको छ । त्यसमा पनि डेउडाको बजार त निकै सानो छ । अहिले प्रवधीले गर्दा सहज हुनु पर्नेमा मौलिकता सङ्कलन गर्नमा पुराना कलाकारहरूलाई झनै गाह्रो भएको छ । अहिले पहिलेका जस्तै गीतहरू पनि बजारमा आइरहेका छैनन् । त्यसैल पनि नयाँ पिंढीलाई परम्पागत संस्कृति तर्फ आकर्षण गर्न नसकेको हो । अहिले नेपाली चलचित्रहरूमा डेउडाको प्रयोग हुन थालेको छ, तर वास्तविक मौलिकता छैन। पहिलेका दिनहरूमा पश्चिम नेपालमा बिहान बेलुका डेउडा खेलिन्थ्यो । विवाह आदी शुभ कार्यमा डेउडा खेलिन्थ्यो । रत्यौलीमा डेउडा खेलिन्थ्यो । गहुँको दाईं गर्न समेत डेउडा खेलिन्थ्यो । तर अब डेउडा हेर्न चाडवाड र मेला पर्व नै कुर्नु पर्छ । त्यहाँ पनि पुरानो मौलिकताको डेउडा देखिन्न । सबै ठाउँमा नयाँ रफ पप र डिजेको चलन चलेकाले डेउडाको स्थिती निकै न्युन स्तरमा पुगेको छ ।
This article uses material from the Wikipedia नेपाली article डेउडा गीत, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.