वीरेन्द्रनगर (पूर्व नाम: चौहानचौर) नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा रहेको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र एक नगरपालिका हो। यो सहर तत्कालीन मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको थियो। सुर्खेत जिल्लाको पहिलो नगरपालिका रहेको यो नगरको नामकरण तत्कालीन राजा वीरेन्द्र शाहको नामबाट भएको हो। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरियाको उन्मूलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। सुर्खेत जिल्लाको तत्कालिन गोठी काँडा र जर्बुटा गाउँ पञ्चायतको आंशिक भाग र कटुकुवा गाउँ पञ्चायतको सम्पूर्ण क्षेत्रलाई वि.सं.
२०३३ फागुन १२ गते मिलाएर वीरेन्द्रनगर नगर पञ्चायत घोषणा गरिएको थियो। यसै प्रकार वि.सं. २०७२ बैशाख २४ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७२ बैशाख २४ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन लाटिकोइली र उत्तरगङ्गा गाउँ विकास समितिहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। पुन: एक पटक वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जर्बुटा गाउँ विकास समिति समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। यसै प्रकार सङ्घीय शासन व्यवस्था लागु भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन रतु, गर्पन र गढी गाउँ विकास समितिको सम्पूर्ण क्षेत्र गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। वर्तमान समयमा वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्रका साथै शिक्षा र स्वास्थ्यको पनि केन्द्र हो।
वीरेन्द्रनगर चौहानचौर | |
---|---|
निर्देशाङ्क: २८°३६′उ॰ ८१°३८′पू॰ / २८.६००°N ८१.६३३°E ८१°३८′पू॰ / २८.६००°N ८१.६३३°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | सुर्खेत जिल्ला |
नगर पञ्चायत | वि.सं. २०३३ फागुन १२ |
समावेश गाउँ पञ्चायत | गोठी काँडा र जर्बुटा (आंशिक) र कटुकुवा (पूर्ण) |
सम्मिलित (गाविस) | लाटिकोइली र उत्तरगङ्गा |
सम्मिलित मिति | वि.सं. २०७१ बैशाख २५ |
सम्मिलित (गाविस) | जर्बुटा |
सम्मिलित मिति | वि.सं. २०७१ पुस २८ |
सम्मिलित (गाविस) | रतु, गर्पन र गढी |
सम्मिलित मिति | वि.सं. २०७३ फागुन २७ |
नामकरण | राजा वीरेन्द्र |
सरकार | |
• मेयर | देव कुमार सुवेदी (नेपाली कांग्रेस) |
• उप मेयर | मोहनमाया भण्डारी (ढकाल) (नेकपा एमाले) |
क्षेत्रफल | |
• जम्मा | २४५.०६ किमी२ (९४.६२ वर्ग माइल) |
उच्चतम उचाई | ६६५ मिटर (२१८२ फिट) |
जनसङ्ख्या | |
• जम्मा | १००४५८ |
• घनत्व | ४१०/किमी२ (११००/वर्ग माइल) |
जातीयता | |
• मुख्य जातीयता | ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार, दमाई, सुनार, थारु |
भाषा | |
• मुख्य भाषाहरू | नेपाली, अवधी, गुरुङ, नेवारी, मगर, थारू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-८३ |
वेबसाइट | birendranagarmun |
नेपाल अधिराज्यको तत्कालीन राजा वीरेन्द्र शाहको नाममा यो नगर क्षेत्रको नाम वीरेन्द्रनगर राखिएको हो।
वि.सं. २०१९ मङ्सिर ५ गते तत्कालिन श्री ५ को सरकारको निर्णय र वि.सं. २०१९ पुष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि सुर्खेत जिल्ला गठन भएपछि सर्वप्रथम यसको सदरमुकाम 'सुर्खेत' गोठीकाँडा बजारमा रहेको थियो। वि.सं. २०२३ सालको हिउँदमा तत्कालिन श्री ५ को सरकारको निर्णय अनुसार जिल्ला सदरमुकामहरू विवादास्पद देखिएकोले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर सारिएको थियो।
नगर पञ्चायतको रूपमा स्थापना भएको वीरेन्द्रनगर विभिन्न समयमा सरकारद्वारा यसका छिमेकी गाउँ विकास समितिहरू यस नगर क्षेत्रभित्र गाभेपछि ती सबै स्थानको नेपालको वि.सं. २०६८ को जनगणना अनुसार समग्रमा सम्मिलित गर्दा वीरेन्द्रनगरको जनसङ्ख्या १,००,४५८ पुगेको छ। यस नगरमा कुल २३,७१० घरधुरी रहेका छन् भने कुल जनसङ्ख्यामध्ये ५१,६८७ महिला र ४१,८७७ पुरुष रहेका छन्।
वीरेन्द्रनगरलाई देशका प्रमुख स्थानसँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्गसँग जोड्दै पुरा गरेको छ। महेन्द्र राजमार्ग प्रयोग गरेर वीरेन्द्रनगरबाट नेपालका प्रमुख सहरहरू जस्तै बुटवल, भरतपुर, हेटौँडा, काठमाडौँ, इटहरी, धरान, विराटनगर, दमक, बिर्तामोड, काँकडभिट्टासँग जोड्ने गरेको छ। यसै सहरलाई काटेर गएको कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै दुर्गम जिल्लाको रूपमा रहेको कालीकोट, जुम्ला लगायतका जिल्लासँग जोडेको छ। यसै प्रकार दाङ उपत्यकाबाट सल्यान हूँदै सुर्खेत पसेको कच्ची सडकले यो सहरलाई तुल्सीपुर तथा त्रिभुवननगरसँग जोडेको छ तथा जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चौरजाहारीसँग जोडेको छ।
यो नगरको पूर्वमा सुर्खेत विमानस्थल रहेको छ जसलाई वीरेन्द्रनगर विमानस्थल पनि भन्ने गरिन्छ। यस विमानस्थलबाट नेपालको राजधानी सहर काठमाडौँ लगायत नेपालको पश्चिममा रहेका दुर्गम जिल्लाहरू जुम्ला जिल्ला, हुम्ला जिल्ला, कालिकोट जिल्ला, डोल्पा जिल्ला, मुगु जिल्ला लगायतका स्थानहरूका लागि सोझै उडान रहेको छ।
सन् १९९९ को मे महिनाको ५ तारिखमा वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४१.८ °से (१०७.२ °फे) दर्ज गरिएकोथियो, जबकि सबैभन्दा कम तापक्रम सन् २०१३ जनवरी ९ मा −०.७ °से (३०.७ °फे) दर्ज गरिएको थियो।
वीरेन्द्रनगर (सन् १९८१- सन् २०१०)को मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | १९.९ (६७.८) | २२.५ (७२.५) | २७.६ (८१.७) | ३२.८ (९१.०) | ३३.९ (९३.०) | ३३.१ (९१.६) | ३०.७ (८७.३) | ३०.६ (८७.१) | २९.९ (८५.८) | २८.४ (८३.१) | २४.९ (७६.८) | २१.२ (७०.२) | २८.० (८२.४) |
दैनिक औसत °से (°फे) | १२.६ (५४.७) | १५.२ (५९.४) | १९.७ (६७.५) | २४.७ (७६.५) | २७.२ (८१.०) | २८.० (८२.४) | २७.१ (८०.८) | २६.९ (८०.४) | २५.८ (७८.४) | २२.१ (७१.८) | १७.७ (६३.९) | १३.८ (५६.८) | २१.७ (७१.१) |
न्यूनतम औसत °से (°फे) | ५.४ (४१.७) | ७.९ (४६.२) | ११.८ (५३.२) | १६.६ (६१.९) | २०.४ (६८.७) | २२.९ (७३.२) | २३.५ (७४.३) | २३.३ (७३.९) | २१.६ (७०.९) | १५.८ (६०.४) | १०.४ (५०.७) | ६.४ (४३.५) | १५.५ (५९.९) |
औसत वर्षा मिमी (इन्च) | ३४.४ (१.३५) | ४२.५ (१.६७) | २६.० (१.०२) | २९.२ (१.१५) | ९१.३ (३.५९) | २५२.३ (९.९३) | ४७१.९ (१८.५८) | ४२२.६ (१६.६४) | १९०.९ (७.५२) | ४२.४ (१.६७) | ९.७ (०.३८) | १८.५ (०.७३) | १,६३१.७ (६४.२४) |
स्रोत: जल तथा मौसम विज्ञान विभाग, नेपाल सरकार |
वीरेन्द्रनगरमा सरकारी नियन्त्रणमा सञ्चालित स्वास्थ्य संस्थाहरू मध्ये मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, एक जिल्ला अस्पताल र एक नेत्र उपचार केन्द्र रहेका छन्।
कर्णाली प्रदेशको शैक्षिक सहरको रूपमा नाम कमाएको वीरेन्द्रनगरमा उच्च शिक्षाका लागि सरकारको लगानीमा स्थापना गरिएका सुर्खेत बहुमुखी क्याम्पस र वीरेन्द्रनगर बहुमुखी क्याम्पस रहेका छन्। यसको साथै सामुदायिक चिकित्सा क्याम्पस पनि यहाँको मुख्य शैक्षिक संस्था हो। वीरेन्द्रनगरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय समेत रहेको छ।
तिब्बतमा रहेको हिन्दुहरूको प्रसिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला जिल्लासम्म जानका लागि हेलिकप्टर तथा हवाई जहाज चढ्ने प्रमुख स्थान वीरेन्द्रनगर हो। यस नगर क्षेत्रभित्र रहेका देउतीबज्यै तथा काँक्रे विहार क्षेत्र यहाँका मुख्य प्राकृतिक तथा सांस्कृतिक आकर्षण हुन्। नगर भित्रै रहेको पश्चिम नेपालको एकमात्र घण्टाघर वीरेन्द्रनगर सहरको गौरव हो। नगरसँग टासिएर बुलबुल ताल तथा पार्क रहेका छन्।
This article uses material from the Wikipedia नेपाली article वीरेन्द्रनगर नगरपालिका, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.