नैतिक दृष्टान्त (१९७४) कविता लेखनाथ पौड्याल द्वारा लिखित कविता हो। यस कवितामा कवि लेखनाथ पौड्यालले प्रकृति र धर्म/संस्कृतिबाट विविध उदाहरणहरूका साथ नीतिशिक्षा दिएका छन् ।
== मूलपाठ.
नैतिक दृष्टान्त
== बडाले जो गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। १ ।।
गर्दैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। २ ।।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। ३ ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। ४ ।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ५ ।।
ज्यादा सोझो हुनूभन्दा टेढिनु छ फलाऽधिक ।
गरदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ।। ६ ।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महाऽऽत्मा जुन्किरीसित ।। ७ ।।
सानै देखी छुचो हुन्छ दुष्ट मानिसकि मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।। ८ ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।। ९ ।।
जो दिँदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मेघ उसैको हुन्छ घर्घर ।। १० ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।। ११ ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।। १२ ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।। १३ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। १४ ।।
मेटिँदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बनेर राम चौधै भुवनका पति ।। १५ ।।
धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।। १६ ।।
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ? ।। १७ ।।
सङ्गले पनि जाँदैन दुष्टको दुष्टता रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।। १८ ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।। १९ ।।
This article uses material from the Wikipedia नेपाली article नैतिक दृष्टान्त, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.