आँधीबेहरी (अङ्ग्रेजी: Aandhibehari) विलियम शेक्सपियरद्वारा अङ्ग्रेजी भाषामा लिखित नाटक द टेम्पेस्टको सुमन पोखरेलद्वारा गरिएको नेपाली अनुवादको पुस्तक हो । यो पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले वि.सं.
२०७५ सालमा प्रकाशित गरेको हो ।
लेखक | विलियम शेक्सपियर |
---|---|
मूल शीर्षक | द टेम्पेस्ट |
अनुवादक | सुमन पोखरेल |
देश | नेपाल |
भाषा | नेपाली |
प्रकार | अनुवाद |
प्रकाशक | नेपाल प्रज्ञा प्रतिष्ठान |
प्रकाशित मिति | २०७५ |
Published in English | 2018 |
पृष्ठ | ८४ |
आइएसबिएन | 978-9937-723-08-4 |
अनुवादक पोखरेलका अनुसार यस नाटकलाई चार शताब्दीअघिको बेलायतबाट अहिलेको नेपालमा ल्याउने क्रममा भूगोल र समयसँगसँगै कतिपय कुरालाई आवश्यकताअनुसार फेरेर ल्याइएको छ । उनले आफू शब्द, ध्वनी र नाटकसँग नजिक भएर हिँडिरहेको एउटा नेपाली नागरिक हुनुको नाताले विश्वमा सबैभन्दा बढी र सबैभन्दा धेरै भाषामा अनुवाद भएका लेखक शेक्सपीयरको यो नाटक नेपाली भाषामा अनुवाद गरेको बताएका छन् ।
यस पुस्तकको प्रकाशकीयमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले अनुवादकको अङ्ग्रेजी भाषा र नेपाली भाषामा समान विद्वता रहेकाले प्रस्तुत अनूदित कृति स्तरीय बनेको र यो ग्रन्थ नेपाली नाट्य-साहित्यका लागि विशेष पठनीय रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान, अनुवाद विभागका प्रमुख उषा ठाकुरका अनुसार यस अनूदित कृतिको अनुवाद कार्य अत्यन्त विश्वसनीय रहेको छ । उनले सहजता, सरलता, स्वभाविकताले परिपूर्ण यस अनुवादमा भावको मौलिकता अक्षुण्ण, भाषा भावानुकुल, वर्ण विन्यास र शब्द प्रयोग सराहनीय साथै स्थिर र स्थापित शैलीको प्रयोग प्रशंसनीय रहेको उल्लेख गरेकी छन् । साथै शेक्सपियरको एक कालजयी कृति र त्यसको सन्देशलाई नेपाली भाषामा अनुवाद गरेर सुमन पोखरेलले उल्लेखनीय कार्य गरेका बताएकी छन् । उनका अनुसार अत्यन्त मेहनत र इमान्दारीले गरेको यो अनुवाद कार्यको प्राज्ञिक महत्त्व हुनेछ र नेपाली नाटक साहित्यको श्रीवृद्धिमा यस अनुदित कृतिको योगदान उल्लेख्य हुनेछ ।
"नाटक अनुवादको चुनौतीहरूलाई आत्मसात् गर्दै “यस नाटकलाई चार शताब्दीअघिको बेलायतबाट अहिलेको नेपालमा ल्याउने क्रममा भूगोल र समय सँगसँगै कतिपय कुरालाई आफूले ठानेको आवश्यकताअनुसार फेरेर ल्याएको छु (पे.१०)।” भन्ने पोखरेल यस नाटकलाई अङ्ग्रेजी भाषाबाट नेपालीमा अनुवाद गरेर नेपाली बोलचालकै लवजमा अर्थात् नेपाली संस्कारकै शैलीमा प्रस्तुत गर्न सफल भएका छन्। यसरी अनुवाद गरिनुले यो नाटक मौलिक नेपाली नाटक हो कि भन्ने भान हुन सक्छ। त्यस समयको नाटक अहिले यस रूपमा आउन सक्नु खुशीको कुरो हो। यस नाटकको अनुवादमा कवि एवम् नाटककार सुमन पोखरेल अनुवादक मात्र नभएर कुशल शब्दशिल्पी र सिर्जनानुवादकका रूपमा देखा परेका छन्। पोखरेलका यही क्षमताका कारणले गर्दा नै यो नाटक पढ्दा पुस्तकमै मञ्चित भएझैँ लाग्दछ। नाटकका पात्रहरूको चरित्रअनुसार संवादमा शब्दहरूको छनोट र रखाइ प्रक्रिया कलात्मक ढङ्गले भएको भेटिन्छ। सहजता र आवश्यकताअनुसार ‘बतासे बजिया (पृष्ठ–१४)’, ‘यता मुन्टी (पृष्ठ–२४), खटिरे छाउरो (पृष्ठ–२३), भुस्याहा कुकुर (पृष्ठ–१४), झ्वाम्म, सन्काहा, लठारो आदिजस्ता झर्रो नेपाली भाषाका पद र पदावलीहरू, काँसघारी, घोरमुखा, विश्वासघाती आदि जस्ता समस्त शब्दहरू, आँधी नचर्काउनुस् (पृष्ठ–१३), कुहिएको घाँटीले धेर नभुक (पृष्ठ–१४), मेरो पाइतालाले अब मलाई सिकाउने भो? (पृष्ठ–३०), खुत्रुकै पार्ने (पृष्ठ–३७), सिस्नुको बीऊ छर्ने थिए (पृष्ठ–३६), हिलोको अत्तर छर्किएर (पृष्ठ–३३), फतरफतर नगरिकन बाटो देखा (पृष्ठ–४८) आदि जस्ता टुक्काहरूको प्रयोग गरिएका छन्। संवादहरू पढ्दा यिनै टुक्का तथा शब्दहरू नै उक्त ठाउँमा सबैभन्दा उपयुक्त हो, जस्तो लाग्दछ।" समीक्षक दिपक शम्चुले यस अनुवादबारेमा आफ्नो विचार व्यक्त गरेका छन् ।
This article uses material from the Wikipedia नेपाली article आँधीबेहरी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.