वि.सं.
१९८७/८८ ताका जोगवीर सिंह, हरेकृष्ण श्रेष्ठ, बैकुण्ठप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तघर उपासकलगायत ४५/४६ जनाको प्रयासमा लाईब्रेरी खोल्न सहमतिको माग गरे। आखिर रामचन्द्र अधिकारीद्वारा राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना मिल्यो र रोक लगाई प्रत्येकलाई १० रूपैयाँ दण्ड गरियो र आधा रकम सूचना गर्ने रामचन्द्रलाई पुरस्कार दिइयो।
१९८३ मा चन्द्र शमशेरको निधन भएपछि भीम शमशेर श्री ३ महाराज तथा प्राइममिनिस्टर भएका थिए। राणा शासकहरूमध्ये पनि भीमशम्शेर कठोर मानिन्थे तथापि उनैले देशमा नेपाली, हिन्दी, अङ्ग्रेजी र नेवारीमा भाषाको उन्नति गर्न भनेर इस्तिहार जारी गरे । यो खबर पाएर काठमाडौंका केही युवाहरूले पठन संस्कृतिको विकास तथा देशविदेशका कुरा थाहा पाउन एउटा पुस्तकालयको आवश्यकता महसुस गरे ।
त्यसरी छलफलमा सहभागी युवाहरूबीच सरस्वती गुठी नामक संस्था खोली सामाजिक कार्य गर्ने अनि भारतमा भइरहेको क्रान्तिबारे काठमाडौंका युवाहरूलाई सुसूचित गर्ने उद्देश्यमा पनि छलफल भयोे । उनीहरूले त्रिचन्द्र कलेजका साथै भारतबाट अध्ययन गरेर फर्केका अन्य पढेलेखेका युवाहरूलाई पनि पुस्तकालय स्थापना गर्ने उक्त अभियानमा सामेल गराउन चाहे । त्यस्तो पुस्तकालय महेन्द्रबहालमा राख्ने योजनासहित ४५ जना युवाहरूले श्री ३ भीम शम्शेरसमक्ष निवेदन पेस गर्न हस्ताक्षर अभियान चलाए । हस्ताक्षर गराउने मुख्य जिम्मा बैकुण्ठप्रसाद लाकौलले पाएका थिए । पुस्तकालय खोल्न पाऊँ भनी पत्रमा हस्ताक्षर गर्ने ४५ जना युवाहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइराला, चित्तधर हृदय, योगवीरसिंह कंसाकार, वैकुण्ठप्रसाद लाकौल, तुलसी मेहर, शंकरप्रसाद नेपाल, महेन्द्रविक्रम शाह, शंकरदेव पन्तजस्ता साहित्य, भाषा, शिक्षा तथा सामाजिक सांस्कृतिक क्षेत्रमा प्रसिद्ध युवाहरू थिए ।
केही समयपश्चात हस्ताक्षर संकलन समेत भईवरी दरबारमा पत्र बुझाइयो । तर हस्ताक्षर नगर्ने रामचन्द्र अधिकारी (मनमोहन अधिकारीका पिता) नामक अर्का युवाले हस्ताक्षरकर्ता युवाहरूको अभियान राजनीतिक उद्देश्यको भएको र उनीहरूले श्री ३ को गाथगादी ताकेका छन् भन्ने उजुरी दरबारमा चढाए । यसरी सरस्वती गुठी नामक संस्था स्थापना गरी त्यसमार्फत् पुस्तकालय खोल्ने कार्यलाई राजनीतिक आवरणको आरोप लागेपछि दरबारले पत्रका हस्ताक्षरकर्ता सबैलाई पक्राउ गर्न उर्दी जारी गर्यो । अधिकांश हस्ताक्षरकर्ताहरूलाई पक्राउ गरी बयान लिने क्रममा उक्त घटनालाई 'लाइब्रेरी पर्व' भनी मुद्दा जाहेर भयो । बि. सं १९८७ साल वैशाख १६ र १७ गते दुई दिन गरी पुस्तकालय खोल्ने अभियानका युवाहरूलाई पक्राउ गरियो ।
त्यसरी पक्राउ परेका युवाहरूलाई दरबारबाट बिभिन्न सजाय तोकियो । ती मध्ये उमेश शाहलाई देश निकाला र मैनाबहादुर, खड्गमान, रंगनाथ आदिलाई जन्मकैदको सजाय सुनाइएको थियो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, कृष्णप्रसाद कोइरालालगायतलाई रु. १०० जरिवाना र अबका १२ वर्ष जनस्तरका कुनै कार्य गर्ने छैन भन्ने कागज गराई छोडिएको थियो । राज खानदानका भएर पनि दुनियाँका छोराहरूका साथ हिँडेको भनी जितेन्द्र बहादुर शाह र पद्म शाहलाई जनही रु. १००० जरिवाना गरिएको थियो ।
नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ। हरेक वर्ष वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकलाई आग्रह गरेको छ।
This article uses material from the Wikipedia नेपाली article लाइब्रेरी पर्व, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.