विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४ - २०३९ साउन ६) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए। कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।
जननेता विश्वेश्वरप्रसाद कोइराला | |
---|---|
२२औँ प्रधानमन्त्री (नेपाल) | |
कार्यकाल २०१६ जेष्ठ १३ २७ मे १९५९ – २०१७ साल पुस १ १५ डिसेम्बर १९६० | |
एकाधिपति | राजा महेन्द्र |
पूर्वाधिकारी | सुवर्ण शमशेर राणा |
उतराधिकारी | तुलसी गिरी |
व्यक्तिगत विवरण | |
जन्म | वाराणसी, ब्रिटिस राज (हाल भारत) | ८ सेप्टेम्बर १९१४
मृत्यु | २१ जुलाई १९८२ काठमाडौँ, नेपाल | (उमेर ६७)
राजनीतिक दल | नेपाली कांग्रेस |
जीवन साथी | सुशीला कोइराला |
मातृ शिक्षाप्रतिष्ठान | बनारस हिन्दु विश्वविद्यालय कलकत्ता विश्वविद्यालय |
हस्ताक्षर | |
कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाको समयको चर्चित राजनीतिक परिवार हो। यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काङ्ग्रेस पार्टीसँग आबद्ध छन्। विश्वेश्वरप्रसाद कोइराला कृष्णप्रसाद कोइरालाका साहिला सन्तान हुन्। उनको विवाह सुशीला कोइरालासँग भएको थियो। उनीहरूका प्रकाश, हर्ष र शशांक गरि ३ छोरा छन् भने चेतना कोइराला उनकी छोरी हुन्।
विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो। आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई वि.सं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो। यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो। वि.सं १९८८ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए। त्यसपछि बनारस हिन्दु विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरेका थिए। अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून व्यवसाय काम गरेका थिए। विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिक रहेका थिए। दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरिएको थियो। त्यहाँबाट छुटेपछि उनले वि.सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए जुन पछि गएर नेपाली कांग्रेस बन्न पुगेको थियो।
वि.सं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो। २००७ सालमा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गरेका थिए। सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो। त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बनेका थिए
सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ। तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद् र नेपाली कांग्रेस लगायतका पार्टी भाग लिएका थिए। सात सालको क्रान्ति सफल भएसँगै राणा शासनको अन्त्य भएको थियो।
भारतमा कैद रहेका कोइराला भारतीय स्वतन्त्रता आन्दोलन पछि रिहा भएका थिए। भारतको परिवर्तन देखेर उनले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गर्ने तयारी गरेका थिए। वि.सं २००३ सालमा, उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए। २००६ सालमा, नेपाली कांग्रेस पार्टी बनेको थियो। २००३ फागुन २६ मा कोइरालाका भाइ गिरिजाप्रसाद कोइरालालाई बिराटनगर जुट मिल हड्तालमा उत्रिन सहयोग गर्नका लागि उनी नेपालगन्ज पुगेका थिए। गिरिजाप्रसाद कोइराला र राष्ट्रिय कांग्रेसका अन्य चार नेतासहित उनलाई पक्राउ गरी २१ दिन थुनामा राखिएको थियो। उनलाई पछि रिहा गरिएको थियो।
पछि उनी फर्केर भारत गएका थिए। राणा शासन विरुद्ध सङ्घर्ष गर्नका लागि उनले सबैलाई एकत्रित गरेका थिए। अन्ततः कोइरालाले साल सालको क्रान्तिको नेतृत्व गरेका थिए, जसले नेपालको १०४ वर्षीय राणा शासनलाई परास्त गरेको थियो। राणा–कांग्रेस गठबन्धनको मन्त्रिमण्डल जसमा कोइरालाले गृहमन्त्रीका रुपमा ९महिना सेवा गरेका थिए। अन्तिम राणा प्रधानमन्त्रीलाई पछि बर्खास्त गरिएको थियो। त्यसपछि कोइरालाले नेपाली राजनीतिक संरचनाको विकास गर्नेतर्फ ध्यान दिएका थिए। राजा महेन्द्रले २०१५ मा स्वतन्त्र संसदीय निर्वाचन गर्न सक्षम बनाउने नयाँ संविधानको १ फागुन २०१५ घोषणा गरेका थिए। २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए। उनको सरकार १८ महिना मात्र सरकारमा रहेको थियो। नेपाली काङ्ग्रेस कुल १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो भने कोइराला नेपालको २२औँ प्रधानमन्त्री बनेका थिए। बिपी कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको छ । डकुमेन्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि लागेका आठ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत सङ्ग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बिपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ । डकुमेन्ट्री संपादन मान बहादुर थापा ले गरेका हुन भने छायांकन ओमा कार्की ले गरेकी हुन https://english.makalukhabar.com/2022/03/49817/
प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसङ्घ, भारत तथा चीनको मैतृपूर्ण भ्रमण गरेका थिए। प्रधानमन्त्री बीपी कोइरालाले २०१६ फागुन २८ देखि चैत ११ सम्म चीनको भ्रमण गरेका थिए। त्यसबेला उनले चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई नेपाल भ्रमणको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै २०१७ वैशाख १४ देखि १७ सम्म चाउ एन लाईले दोस्रो पटक नेपालको भ्रमण गरेका थिए।
उनले त्यसबेला नेपाली संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेका थिए। त्यसै क्रममा २०१६ वैशाख १६ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए।
प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गराएका थिए। वास्तवममा भुमिसुधार विपी कोइरालाको आर्थिक सिद्धान्तको परिणाम थियो । सुरुमा विपी राजनीतिमा लोकतान्त्रीक विचारको पक्षपाती भएपनि अर्थतन्त्रमा भने मार्क्सेली विचारबाट प्रभावित थिए । भुमिसुधार गरेर वास्तविक किसानलाई जमिन वितरण गर्नु पर्छ भन्ने उनको विचार थियो । त्यसो गर्दा औद्योगिक विकासको लागि जगेडा श्रमशक्ति प्राप्त हुन्छ भन्ने उनकी विचार थियो । उनको विचार थियो- उत्पादनको विपुलतालाई वितरण गरेर नै समाजवादी व्यवस्था लागू गर्न सकिन्छ । उनले स्पष्ट शव्दमा भनेका थिए - समाजवाद भनेको गरिबीको वितरण होइन । एक एक चम्चा दूध वितरण गर्नु समाजवाद होइन । यसरी औद्योगिक पुँजिवादको विकासद्वारा ठूलो पैमानामा उत्पादन गर्ने र न्यायोचित वितरण गरेर समाजवाद ल्याउन सकिन्छ भन्ने विपीको विचार थियो । तर पछिल्लो समयमा भने उनले उच्चस्तरीय प्रविधीको प्रयोगद्वारा उत्पादन वृद्धि गर्ने नीति छोडिदिए । उनी गान्धीको आर्थिक सिद्धान्तबाट प्रभावित भए । मानवीय श्रममा आधारित मध्यमस्तरको प्रविधीको प्रयोगद्वारा उत्पादन गर्ने नीतिमा जोड दिए ।अमेरिका र युरोपको प्रगती एशिया र अफ्रिकी देशहरुको कच्चा पदार्थको उपभोगको कारण मात्र सम्भव भएको तर्क राख्दै पुरै संसारले त्यति नै उपभोग गर्ने हो भने संसारकोश्रोतले नपुग्ने तर्क गर्दै सादा जीवनको आवश्यकतामा जोड दिए । यसरी उनी पर्यावरणमैत्री मानव विकासको आर्थिक नीतिको वकालत गर्ने बिन्दुमा जीवनको उत्तरार्द्धमा पुगेको देखिन्छ ।
वि.सं. २०१७ साल पुस १ मा, राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए। त्यसपछि उनलाई कैद गरिएको थियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखिएको थियो। वि.सं २०२४ मा उनलाई बनारस निर्वासनमा जान दिइएको थियो। वि.सं २०३२ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गरेको थियो। अन्तर्राष्ट्रिय दबाबका कारण २०३४ मा उनका विरुद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लिएको थियो। २०३६ सालको आन्दोलन बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो।
प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्। कोइराला नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउन पहिलो आख्यानकार समेत हुन्।
उनको स्मृतिमा निम्न संस्थाहरू स्थापना भएका छन्:
१. वि.सं २०४८ मा बिपी कोइराला नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, भारत र नेपालका प्रधानमन्त्रीहरूले दुई देशबीचको समझदारी र मित्रतालाई निरन्तर पालनपोषण र थप प्रवर्द्धन गर्न राष्ट्रसेवक, सञ्चारकर्मी आदिलाई उपलब्ध गराएर सरकार–देखि सरकारी स्तरमा गरिने सामान्य सहयोग र अन्तरक्रियालाई परिपूर्ति गर्ने उद्देश्यका साथ स्थापना गरिएको थियो।
२. वि.सं २०४८ मा, विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको स्थापना गरी नेपालमा खगोल र ब्रह्माण्ड विज्ञानको क्षेत्रमा अनुसन्धानात्मक गतिविधि सञ्चालन गरिएको थियो।
३. बी. पी. कोइराला स्मृति ट्रष्टको स्थापना वि.सं २०५७ मा स्वर्गीय बी. पी. कोइरालाको स्मृतिमा भएको थियो। नेपाल सरकारले रोयल्टी सङ्कलन गर्ने, प्रतिलिपि अधिकार दाबी गर्ने र बी. पी. कोइरालासम्बन्धी कानुनी अनुमति दिने यो एक मात्र कानूनी संस्था हो। यस ट्रस्टले नेपाल सरकारबाट आर्थिक सहयोग प्राप्त गर्ने गरेको छ।
४. २०५१ पुष १४ मा, उनको स्मृतिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना चितवनको भरतपुरमा गरिएको थियो।
साथै नेपालमा उनको निस्वार्थ योगदानको स्मरण गर्नका लागि नेपाल बाहिर पनि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ।
नेपालकका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो। उनको अन्त्येष्टिमा झन्डै ५० लाख मानिसहरू उपस्थित भएका थिए।
https://www.prasashan.com/2017/01/30/14375/
पूर्वाधिकारी सुवर्ण शमशेर राणा | नेपालको प्रधानमन्त्री २०१६ जेठ १३ – २०१७ पुष १२ | उत्तराधिकारी तुलसी गिरी |
पूर्वाधिकारी मातृका प्रसाद कोइराला | नेपाली कांग्रेसको सभापति ?? | उत्तराधिकारी कृष्णप्रसाद भट्टराई |
This article uses material from the Wikipedia नेपाली article विश्वेश्वरप्रसाद कोइराला, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.