गजल ( उर्दू भाषामा غزل) प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको काव्य विधा हो।
नेपाली गजलको इतिहास यस प्रकार छ।
वि.सं. १९४१–२००२
विक्रमको १९४० तिर मोतीराम भट्टले नेपाली भाषामा फारसी छन्दको प्रयोग गरी गजलको उदय गराए।
वि.सं.२००३–२०३५
मौलिक नेपाली लय तथा स्वनिर्मित लयमा यसपछिका गजलहरू रचना गरिए। भूपि शेरचन, म.वी.वी.शाह, भीम विराग, राम मान तृषित, शङ्कर लामिछाने, ईश्वरवल्लभ, गोपाल प्रसाद रिमाल आदि प्रतिभाहरू देखिन्छन्।
यस समयमा रचना गरिएका गजल भन्न रुचाइएका सिर्जनाहरूमा काफियाको व्यवस्थापन र प्रयोग अनि, रदीफ र तखल्लुस पनि प्राय भेटिदैन।
वि.सं.२०३६–२०५०
वि.सं. २०३६ सालको ‘मधुपर्क’ साहित्यिक पत्रिकामा ज्ञानुवाकर पौडेलको ‘मुक्तक’ शीर्षकमा प्रकाशन भएको एउटा रचनाले गजलले संरचनाभित्र प्रवेश गरेको मानिएको छ।
ललिजन रावल – केही गजलहरू (२०४२), विरानो यो ठाउँमा (२०४६), सिरानीमा आँसु (२०५९), धर्मागत शर्मा ‘तुफान’– तुफानका गजलहरू, देशको माटो दुख्ने गर्छ, रवि प्राञ्जल– ‘उही बाढी उही भेल’, ‘घामका झुल्काहरू’, ‘तारिदेऊ न माझी दाइ’ आदि गजल सङ्ग्रहहरू प्रकाशनमा भएको छ।
वि.सं. २०५० – हालसम्म
गजलकारहरू मनु ब्राजाकी डा. कृष्णहरि बराल, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि वरिष्ठताको श्रेणीमा बाँधिएका छन्।
यस कालका प्रमुख गजलकारहरू तथा कृतिहरूमा घनश्याम न्यौपाने ‘परिश्रमी’ – ‘यो मौसम ( २०५०) घामको छहारी ( २०५२) जून चुहेको रात (२०६०), मनु ब्राजाकी– गजलगङ्गा (२०५१) काँडाका फूलहरू (२०५६) के हेरेको ए जिन्दगी (२०६४), बूँद राना – रातो मलाई प्यारो (२०५६) चल्दैछ जिन्दगी (२०६४), वियोगी बुढाथोकी – आफन्तका चोटहरू (२०५२), राजेन्द्र थापा – सुर्जे पनि अस्ताउन मात्रै (२०६२) सहनैको छाती अचानो (२०६२), श्रेष्ठ प्रिया ‘पत्थर’ – पग्लिएका कथाहरू (२०५३) पत्थरका प्रलापहरू (२०५९) आँसुको सौगात (२०६०), कृष्ण पौडेल ‘बी’ – नानी हजुरको (२०६१), कृसु क्षेत्री – अद्र्धमुदित आँखाहरू (२०५८), मुन पौडेल – गजलोत्सव (२०५३), गोवद्र्धन पूजा – धर्तीको धूलोमा (२०५४). भीम विराग – भीम विरागका गीत गजल (२०५७) रासा –रात निदाएको रातमा (२०५८), माधव वियोगी –गुम्सिएका भावहरू (२०५८), ऋचा लुइँटेल – बाँसुरीका धुनहरू: (२०५८), पुष्पलता कलमका डोवहरू,- सन्तोश काफ्ले "स्पन्दन" ,२०६४-स्पन्दन, (२०६१ (बराल, २०६४, पृ.२१६–२६८) जनक खड्का जे के विरक्त रहेका छन्। यसै गरी हाल आएर प्रबासमा रहनु भएका नेपाली गजलकारहरूले पनि नेपाली गजलमा ठूलो योगदान दि रहनु भएका छन । जस्तै कामको सिलसिलामा मलेसिया जानु भएका नेपाली गजलकारहरूले "प्रवासी कलम मलेसिया" नामक साहित्य संस्थ गठम गरेर २०७० साउन ३० गते देस तथा बिदेसमा रहेर गजल लेखी रहनु भएका १०३ जना अग्रज तथा समकालिन गजकारहरूको ५,५ ओटा गजल समाबेश गरेर जम्मा ५१५ वटा गजलको अहिले सम्म कै प्रवासबाट प्रकाशन गरिएको सबैभन्दा ठूलो एक बृहत संयुक्त गजल सङ्ग्रह "सामुन्द्रीक छल्का" प्रकाशन गरेर नेपाली गजलमा एक इटा थप्ने काम भएको छ । यो योगदानको निम्ती "प्रवासि कलम मलेसियाको" अध्यक्ष दिपेन्द्र "अश्रुमाली"लाई धन्नेबाद नदि रहन सकिन्न। यसै गरी, नेपाली भाषी भूटानी गजलकारहरूले पनि गजल लेखनमा ठूलो योगदान दिनुभएको छ। जसरी मोतिराम भट्टले गजललाई नेपाल भित्र्याए, त्यसरी नै भूटान भित्र नेपाली गजल भित्र्याउने पहिलो नेपाली भाषी गजलकार ‘शेरू राई उदास’ हुन्। उनले वि.सं. २०५५/५६ मा पहिलो पल्ट भूटानमा नेपाली गजल भित्र्याएका हुन्। नेपाली भाषी भूटानी समुदायबाट पनि थुप्रै गजल संग्रहहरू प्रकाशित भएका छन्। यसै गरि नेपालमा सहकार्य सयुक्त गजल सङ्ग्रह पनि नेपालको ईतिहासमा सबै भन्दा ठूलो र धेरै सर्जक भएको गजल सङ्ग्रह हो । यो गजल संङ्रहमा १५१ जनाको गजल समावेस भएको छ भने ५९ जिल्लाको सर्जकहरु हुनुहुन्छ । सहकार्य गजल सङ्ग्रहको सम्पादन तथा संयोजक दिपेन्द्र अश्रुमालीले गर्नु भएको हो म
गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ।
विषयवस्तुको आधारमा:- विषयवस्तुको आधारमा लेखिने गजल दुई किसिमका हुन्छन्।
रदीफको आधारमा:- यस आधारमा पनि गजल दुई किसिमका हुन्छन्।
गीत, गजल र कविता एउटै होईन। गजल भनेको गीत र कविता भन्दा छुट्टै विधा हो। गजलको आफ्नै परिधी वा संरचना हुन्छ।
शेरको पहिलो पङ्क्तीलाई मिसरा ए उला र दोश्रो पङ्क्ती मिसरा ए सानी भनिन्छ । शेरको एउटा मिसरा कम्तिमा पनि छ अक्षर हुनै पर्दछ । त्यसमा दुई रुक्न अनिवार्य मानिन्छ । सबै भन्दा सानो रुक्न तीन अक्षरको हुन्छ । हरेका शेरको मिसरा ए उलाले कुनै पनि विषय वस्तुको उठान गर्दछ र मिसरा ए सानीले त्यसलाई पुष्टि गर्नु पर्दछ ।गजलको हरफलाई मिसरा भनिन्छ।
गजलका प्रत्येक दुई मिसरालाई शेर भनिन्छ। हरेक शेर आफैमा एउटा स्वतन्त्र कविता हुन्छ। शेरको माथिल्लो मिसरालाई मिसरा-ए-उला र तल्लो मिसरालाई मिसरा-ए-सानी भनिन्छ। उलाले भावको उठान गर्छ भने सानीले त्यसको पुष्टि गर्छ।
(उला + सानी = शेर)
मिठो प्यार पाएँ [मिसरा-ए-उला]
काखमा रमाएँ। [मिसरा-ए-सानी]
- गोर्खे साइँलो
गजलको सबैभन्दा राम्रो शेरलाई "शाहे वैत" वा "बैत-उल-गजल" वा "हुस्न-ए-गजल" भनिन्छ।
शेरको विषयवस्तुको आधारमा, शेरलाई २ भागमा बाँढिएको छ।
गजलको पहिलो दुर्इ हरफलाई मतला भनिन्छ। मतलाको आधारमा रदिफ, काफिया र बहर छुट्याईन्छ। र, यसको पालना पुरै गजलमा गरिन्छ।
यदि कुनै गजलमा दुईटा मतला देखिएको छ भने तल्लोलाई हुस्ने मतला वा मतला-ए-सानी भनिन्छ।
स्वर समता र तुकबन्दीयुक्त अनुप्रासिक शब्दलाई काफिया भनिन्छ। यो मत्लाको दुवै मिसरामा र बाँकी शेरहरूको तल्लो मिसरामा रदीफको अगाडि वा रदीफविहीन गजलमा अन्तिममा प्रयोग हुने गर्दछ।
पूर्ण शब्दको प्रयोगलाई पूर्ण काफिया भनिन्छ जस्तैः गर्न तर्न छर्न झर्न मर्न आदि।
शब्दका अन्तिमका केही अक्षरहरू काफियाको रूपमा प्रयोग भएका छन् भने त्यस्तालाई शब्दांश काफिया भनिन्छ। जस्तैः कहानी, सिरानी, निशानी, जवानी, जिन्दगानी, तानी आदिमा आनी आंशिक वा शब्दांश काफिया हुन्छ।
उदाहरण:
[कहानी = क + ह + आ + नी, सिरानी = सि + र + आ + नी, जवानी = ज + व + आ + नी, तानी = त + आ + नी]
काफियाको साथमा जोडिएर आउने शव्दलाई “हम काफिया” भनिन्छ।
उदाहरण:
“आउने” शव्दलाई "आंशिक काफिया" भनिन्छ भने “वन्” र “विस्” हम काफिया हुन्छन्।
शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिएको छ भने त्यस्तालाई एक अक्षरे काफिया भनिन्छ जस्तैः कथा सदा मजा गला आदि त्यस्तै हो त्यो रातो कालो आदि।
काफियाको पछाडि बारम्बार दोहोरिएर आउने शब्द वा शब्दसमूहलाई रदीफ भनिन्छ। रदीफचाहिँ गजलको अपरिहार्यताभित्र पर्दैन। यो प्रायः एक शब्ददेखि तीन शब्दसम्म भएको हुन्छ।
कुनै कुनै गजलमा भएका दोहोरिएका रदीफहरूलाई हमरदीफ भन्ने चलन छ।
जस्तै:
माथिका 'अलि अलि'मा दोहोरिएका रदीफ छन् तिनलाई नै हमरदीफ भनिन्छ।
शेरमा एक शब्द प्रयोग भएको रदीफलाई एकल रदीफ भनिन्छ।
शेरमा एकभन्दा बढी शब्दहरू प्रयोग भएमा "बहुल रदीफ" भनिन्छ।
गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ।
मक्ताको कुनै मिसरामा गजलकारले आफ्नो छोटो नाम वा उपनामको प्रयोग अर्थपूर्ण तरिकाले गरेका हुन्छन्। यस्तो उपनामलाई तखल्लुस भनिन्छ। तखल्लुसको प्रयोगलाई अनिवार्य मानिदैन।
इ सानै उमेर्देखि मन हर्न लागे [मतलाको मिसरा-ए-उला]
यिनै सुन्दरीले जुलुम् गर्न लागे। [मतलाको मिसरा-ए-सानी]
कहाँ सम्म आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे।
अघि पर्न सक्दीन मैले हरिका [मक्ताको मिसरा-ए-उला]
नजर्देखि "मोती" पनि र्झन लागे। [मक्ताको मिसरा-ए-सानी] [तखल्लुस "मोती"]
- मोतिराम भट्ट
कुनै नियममा बाँधिएका शेरहरूको "वजन"लाई बह्र वा बहर भनिन्छ।
नेपाली गजलमा प्रयोग हुने शास्त्रीय लयलाई नै बहर भनिन्छ। संस्कृत काव्य परम्परामा छन्द भने झैं फारसी गजल परम्परामा "बहर" भनिन्छ। यसले गजलको लयअनुसानलाई निर्धारण गरेको हुन्छ। केही "पिङ्गला छन्द"हरू शास्त्रीय बहर सँग मिल्न जान्छन। त्यसैले पनि पिङ्गला छन्दको राम्रो ज्ञान भएकालाई शास्त्रीय बहरमा गजल सिर्जना गर्न सहयोग मिलेको देखिन्छ।
संस्कृत छन्दलाई यहाँ हेर्नु होला: छन्द
वजनलाई यहाँ हेर्नु होला: तक्तिअ
उदाहरण:
यहां:
मतलाको आधारमा बहर छुट्याईन्छ। बहर भनेको छन्द हो र, छन्द भनेको लय हो।
बहर (बह्र)को आधार भनेको "अरकान" ("रुक्न"को बहुवचन) हो। अरकान भनेको मात्रिक क्रमको समूह हो।
गजलको शास्त्रिय मान्यता भनेको, कुनै न कुनै छन्दमा बाँधिनु हो। संस्कृत छन्दमा अनेक वार्णिक र मात्रिक पिङ्गल छन्दहरू भए झै इस्लामिक काव्यशास्त्रमा वर्णमात्रामा आधारित अनेक इस्लामिक शास्त्रिय बहरहरू छन्।
छन्द वा बहरका केही प्रकार र उदाहरणहरू:
नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली बहरको लागि तल हेर्नु होला।
अक्षरको एकरूपता पनि नमिलेको र शास्त्रीय बहर पनि नमिलेको तर भावका दृस्टीले चोटिला गजल।।
केवल आक्षेरिक एकरूपतालाई आधार मानी लेखिने बहरलाई नेपाली बहर भनिन्छ। मिसरामा प्राय घटीमा ६ र बढीमा २० अक्षरहरू हुन्छन। नेपाली बहरमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन।
उदाहरण:
मिठो प्यार पाएँ [मि-ठो प्या-र पा-एँ = ६]
काखमा रमाएँ। [का-ख-मा र-मा-एँ = ६] - गोर्खे साइँलो
प्यासमा पानी पायौ [प्या-स-मा पा-नी पा-यौ = ७]
साथमा माया लायौ। [सा-थ-मा मा-या ला-यौ = ७] - गोर्खे साइँलो
समेनामा बोकी ल्यायौ भएँ प्यारा घर्की रानी [स-मे-ना-मा बो-की ल्या-यौ भ-एँ प्या-रा घर-की रा-नी = १६]
तिमी हुँदा तातो प्याला भएँ आफैँ पानी पानी। [ति-मी हुँ-दा ता-तो प्या-ला भ-एँ आ-फैँ पा-नी पा-नी = १६] - गोर्खे साइँलो
नेपालमा अक्षरको उच्चारणको आधारमा, केही नेपाली शैलीका लयहरू पनि निकै प्रचलनमा आएका छन्। नेपाली लोक छन्दमा अक्षर गनिन्छ, मात्रा गनिन्दैन
जस्तै:
केहि नेपाली लोक छन्दहरू:
अक्षर गन्दा कम बेश भए पनि यसका सबै मिसरामा मात्रा बराबर हुन्छ। र, लघु गुरूको क्रम समान हुँदैन।
संस्कृत मात्रिक छन्द हेर्ने भए यहां: मात्रिक छन्द
उदाहरण:
१ मात्रा हुने (लघु)
२ मात्रा हुने (गुरू)
उदाहरण
सिरानी यो हातमा निदाऊ - [उदाहरण: १२२ + २ + २१२ + १२२ = १७]
आउ मेरो साथमा निदाऊ। - [उदाहरण: २२ + १२ + २१२ + १२२ = १७]
- गोर्खे साइँलो
जागरुकताको दियो बालेर आए हुन्छ - [उदाहरण: २१२१२२ + १२ + २११ + २१ + २२ = २४]
सँगै लाने अधिकार पालेर आए हुन्छ। - [उदाहरण: २२ + २१ + १२२१ + २११ + २१ + २२ = २४]
- गोर्खे साइँलो
यहां उदाहरणमा मात्रा के हो बुझाउनलाई, सजिलो तरिकाले मात्रा गणना गरिएको छ।
बहरको नाम लिनु पर्दा सर्वप्रथम त उर्दू-फारसीमा बहर भनिने शब्द नै नेपालीमा प्रचलित पिङ्गल छन्द नै हो, संस्कृत छन्द नै हो। केही पिङ्गला छन्दहरू शास्त्रीय बहर सँग मिल्न जान्छन।
रुक्न भनेको गण हो। उर्दू भाषाको लेखाइ अनुसार रुक्नचाहिँ १ अक्षरेदेखि ७ अक्षरेसम्म प्रयोग भएर बन्ने गर्दछन्। रुक्नहरू भनेको पिङ्गल छन्दको लघुलाई । भने जस्तै १ र पिङ्गल छन्दको दीर्घलाई ऽ भने जस्तै २ लेखिन्छ।
रुक्नको बहुवचनलाई अरकान भनिन्छ।
रुक्नको बहुवचनलाई अर्कान भनिन्छ । तिनै अर्कानहरूलाई नै टुक्र्याएर आलग-अलग रुक्नको निर्माण गरिन्छ र त्यसलाई जिहाफत भन्दछन्। जिहाफ भनेको मात्रा घटनु हो र जिहाफत भनेको मात्रा घटाउने प्रक्रिया।
अर्कानको प्रकार
"लघु (१)" र "गुरू (२)" मात्राहरूको आधारमा अर्कानहरूलाई "७ मात्रा" र "५ मात्रा" भएको, २ भागमा विभाजन गरिएको छ:
सबाई अर्कान:
निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर, ७ मात्रिक वजन भएको अर्कानलाई सबाई अर्कान भनिन्छ। यो ६ ओटा छ।
खमासी अर्कान:
निम्न अनुसारको "लघु (१)" र "गुरू (२)" अक्षरहरूले बनेर, ५ मात्रिक वजन भएको अर्कानलाई खमासी अर्कान भनिन्छ। यो २ ओटा छ:
रुक्न/अरकान | मात्रिक वजन | रुक्न नाम | मात्रा क्रम |
---|---|---|---|
मूल रुक्न/अरकान | ७ | फायलातुन् | २१२२ |
मूल रुक्न/अरकान | ७ | मुस्तफ्यलुन् | २२१२ |
मूल रुक्न/अरकान | ७ | मफाईलुन् | १२२२ |
मूल रुक्न/अरकान | ७ | मुतफायलुन् | ११२१२ |
मूल रुक्न/अरकान | ७ | मफायलतुन् | १२११२ |
मूल रुक्न/अरकान | ७ | मफ्ऊलात | २२२१ |
खमासी रुक्न/अरकान | ५ | फऊलुन् | १२२ |
खमासी रुक्न/अरकान | ५ | फायलुन् | २१२ |
मुफरदको अर्थ: जसको सालिममा एउटै प्रकारको रुक्न हुन्छ र रुक्न के हुन्छ तय भएको। जस्तै: मुस्तफएलुनले मात्रै बनेको छ भने रजज, मुफाईलुनले मात्रै बनेको छ भने हजज, फाएलातुनले मात्रै बनेको छ भने रमल आदी।
क्रमांक | नाम | प्रकार | रुक्न | वजन |
---|---|---|---|---|
१ | रजज | मुफरद | मुस्तफएलुन | २२१२ |
२ | हजज | मुफरद | मुफाईलुन | १२२२ |
३ | रमल | मुफरद | फाएलातुन | २१२२ |
४ | मुतकारिब | मुफरद | फऊलुन | १२२ |
५ | मुतदारिक | मुफरद | फाएलुन | २१२ |
६ | कामिल | मुफरद | मुतफाएलुन | २२१२ |
७ | वाफर | मुफरद | मुफाएलतुन | १२११२ |
नियम:
गजलका बहरलाई ३ भागमा वर्गीकरण गरिएको छ:
उदाहरण:
यदि कुनै बहरमा फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन (२१२२ x ४) छ भने: माथी तालिका र नियम हेर्नु होला।
त्यस्तै:
फाएलातुन-फाएलातुन ( मुरब्बा सालिम - २ रुक्न ), फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसद्दस सालिम - ३ रुक्न), फाएलातुन-फाएलातुन-फाएलातुन-फाएलातुन ( मुसमन सालिम - ४ रुक्न )।
मात्राछन्दमा रचिएको मनुको प्रशिध्द निम्न गजलका दुई शेर ।
सुनेकै हो मैले पनि बूढा पाकाबाट ।
मुटुसम्म जाने बाटो हुन्छ आँखाबाट ।
यता हेर्दा उता हेर्छौ, उता हेर्दा यता,
जोगाउन मुटु लाई चोर डाँकाबाट ।
(गजलगङ्गा–२०५१)
चौध मात्राको यी शेरहरूलाई शास्त्रीय गायनमा ‘दीपचन्दी’ तथा लोक गायनमा ‘चाँचर’ नामले प्रशिध्द चौध मात्राकै तालमा निम्न लयतबतष्यल(स्वरलिपि) अनुसार यसरी पनि गाउन सकिन्छ ।
(क) ‘मत्ला’ वा स्थायी पंक्तिको स्वरलिपि
.प सा सा । सा – सा – । सा रे रे । रे – रे –
सु ऽ ने । कै ऽ हो ऽ । मै ऽ ले । प ऽ नि ऽ
सा ग ग । ग – रे सा । सा रे – । – – – –
बू ऽ ढा । पा ऽ का ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ
रे प प । प – पध प । ग – ग । रे – रे –
मु ऽ टु । सम् ऽ म ऽ । जा ऽ ने । बा ऽ टो ऽ
रे प ग । रे – ग रे । सा सा – । – – – –
हुन् ऽ छ । आँ ऽ खा ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ
× । २ । ० । ३
(ख) अन्तरा वा बाँकी शेरहरूको स्वरलिपि
ग ग – । ग – गप ग । रे रे ग । रे सा सा सा
य ता ऽ । हे र दाऽ ऽ । उ ता ऽ । हे र छौ ऽ
ध – ध । ध – प ग । ग प – । – – ध प
उ ऽ ता । हे र दा ऽ । य ता ऽ । ऽ ऽ ऽ ऽ
रे प प । प – पध प । ग – ग । रे – रे –
जो गा ऽ । उ ऽ न ऽ । मु ऽ टु । ला ऽ ई ऽ
रे प ग । रे – ग रे । सा सा – । – – – –
चो ऽ र । डाँ ऽ का ऽ । बा ट ऽ । ऽ ऽ ऽ ऽ
× । २ । ० ।३
गजलकार रवि प्राञ्जल ज्युको भनाई
यो घराना शब्दको प्रयोग र घराना अन्तर्गतको गुरुकुल परम्परा र पालना गजल गायकीमा हुन्छ । गजल गायनको निमित्त पूर्वीय संगीतमा भारत,पाकिस्तान जस्ता मुलुकहरूमा विभिन्न संगीत घराना एवं गजल गायकीहरूको परम्परा चल्दै आएको छ । नेपालमा भने गुरु–शिष्य परम्परामा आधारित गजल गायकीको विकास भइसकेको छैन ।
आरम्भमा फारसी बहर वा शास्त्रीय छन्दमा गजल निर्माण हुनु अनिवार्य जस्तै भएका कारणले गुरु–शिष्य परम्पराबाट गजलसम्बन्धी ज्ञान प्राप्त गरेर मात्र गजल निर्माण गर्नु आवश्यक हुन्थ्यो । वर्तमान समयमा भने संस्कृतको पिंगल छन्द वा बहरमा नबाँधिएरै पनि स्वनिर्मित छन्दमा स्तरीय गजलहरूको सिर्जना भइसकेको हुंदा संगीँत तथा कलाका अन्य प्राबिधिक क्षेत्रमा जस्तो गजलमा गुरु–शिष्य परम्पराको अनिवार्यता छैन । गुरुशिष्य परम्परा बिना घरानाको विकास गजल लेखनमा सम्भव छैन ।
विशेष गरी शास्त्रीय सङ्गीतमा घरानाको ठूलो महत्त्व रहेको हुन्छ । शास्त्रीय सड्गीत अन्तर्गत ध्रुपद,धमार र बडा छोटा खयालको शास्त्रीय गायनभन्दा तल ठुमरी र ठुमरी भन्दा तल गजललाई राखिएकोछ । अर्थात ध्रुपदभन्दा निम्नतर कोटिमा उपर्युक्त बिधाहरू पर्छन् र त्यसपछि मात्र भाव सङ्गीत अर्थात आधुनिक गीत र फिल्मी गीत भजनहरु पर्दछन् । यसरी हेर्दा ठूमरीभन्दा एक तहमुनि स्थापित गजल शास्त्रीय सङ्गीतकै उपबिधा हो भनेर भन्न सकिन्छ ।
गायनका अतिरिक्त वाद्यवादनमा पनि घरानाको लामो परम्परा छ शास्त्रीय सङ्गीतमा । गायनमा पटियाला घराना,दिल्ली घराना,बनारस घराना,ग्वालियर घराना जस्ता थुप्रै घराना भएजस्तै वाद्यवादनमा पनि धेरै घरानाहरु छन् l वाद्यवादनमा पनि तालवादन तर्फ (तबला मृदङ्ग पखावज आदि) र सूरवादन तर्फ (सितार,इसराज,भायोलिन,सरोद,बाँसुरी आदि) का दिल्ली, फरुखावाद, अजराडा जस्ता थुप्रै घरानाहरू छन् । नेपालमा भने गायनमा स्व नरराज ढकालको घरानालाई उहाँका सुपुत्रद्वय प्रभु ढकाल र प्रतिक ढकालले अगाडि बढाइ राख्नुभएको छ ।
नेपालमा गायनको अपेक्षा वादनतर्फ घरानाको केही विकास भएको देखिन्छ । सितारवादनमा विद्यावारिधी गर्नुभएका चर्चित सितारवादक डा. ध्रुवेशचन्द् रेग्मीले आफ्नो हजूरबुबाको सितारवादनको शैलीलाई अहिले निरन्तरता दिँदै सितारवादनको प्रशिक्षण दिँदै अर्को नयाँ पुस्ता तयार गरिरहनुभएको छ ।
This article uses material from the Wikipedia नेपाली article गजल, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.