धनकुटा नेपालको कोशी प्रदेश मा पर्ने धनकुटा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। नेपालको तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम रहेको यो नगरपालिका धनकुटा जिल्लाको प्रमुख व्यापारिक, शैक्षिक तथा स्वास्थ्यको केन्द्र पनि हो। पूर्वी नेपालको सुन्दर नगरी धनुकटा राणाकालदेखि नै धनकुटा गौँडा भई प्रसिद्धि पाएको थियो।
धनकुटा | |
---|---|
निर्देशाङ्क: २६°५९′०″उ॰ ८७°२०′०″पू॰ / २६.९८३३३°N ८७.३३३३३°E ८७°२०′०″पू॰ / २६.९८३३३°N ८७.३३३३३°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | धनकुटा |
नगर पञ्चायत | वि.सं. २०३५ माघ १५ |
समावेश गाउँ पञ्चायत | चुलिवन, धनकुटा बजार र निगाले |
सम्मिलित (गाविस) | भिरगाउँ र बेलहरा |
सम्मिलित मिति | वि.सं. २०७१ पुस २८ |
सरकार | |
• मेयर | चिन्तन तामाङ्ग |
• उप मेयर | शकुन्तला बस्नेत |
क्षेत्रफल | |
• जम्मा | १११ किमी२ (४३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३६६१९ |
• घनत्व | ३३०/किमी२ (८५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाकी सङ्केत | ५६८०० |
क्षेत्रीय सङ्केत | ०२६ |
वेबसाइट | dhankutamun.gov.np |
नगर पञ्चायत ऐन २०१९ बमोजिम तत्कालिन सरकारले वि.सं. २०३५ साल माघ १५ गते तत्कालीन धनकुटा बजार, निगाले र चुलिवन गाउँ पञ्चायत मिलाएर धनकुटा नगर पञ्चायत बनाएको थियो। यो नगर धनकुटा जिल्लाकै पहिलो नगरपालिका समेत हो। धनकुटालाई तत्कालिन सरकार मन्त्रिपरिषदको विकास समितिले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन भिरगाउँ तथा बेलहरा गाविसलाई समावेश गरेर यो नगरपालिकाको क्षेत्र विस्तार गरेको थियो।
पुरानो इतिहास बोकेको यस नगरको उत्तरतिरका जिल्लाहरू भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायत धनकुटा जिल्लाका प्रायः सबै गाउँपालिका तथा नगरपालिकाहरूको लागि यो नगरले व्यापारिक तथा आवतजावतको केन्द्रका रूपमा भूमिका निर्वाह गर्दै आइरहेको छ।
क्षेत्रीय विकासमा सन्तुलन ल्याउने उद्देश्यले वि.सं. २०२९ सालमा नेपाललाई चार विकास क्षेत्रहरूमा विभाजन गरिएपछि धनकुटा नगरपालिका रहेको क्षेत्र पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामका रूपमा विकास भएको हो। यस क्षेत्रको जनसङ्ख्या वृद्धि हुँदै गई तत्कालीन नगर पञ्चायत बन्नका लागि आवश्यक पूर्वाधारहरूमसमेत तयार भएकाले तीनवटा गाउँ पञ्चायतहरू चुलिवन, धनकुटा बजार र निगालेलाई मिलाएर वि.सं. २०३५ साल माघ १५ गते यसलाई तत्कालीन सरकारले नगर पञ्चायत घोषणा गरेको थियो। पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले धनकुटा स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।
वि.सं. २०३५ सालको नगर पञ्चायत चुनावमा मोहनप्रसाद पोखरेल प्रधानपञ्च र शेरबहादुर गोङ्वा उपप्रधानपञ्चमा छानिएका थिए। यस्तै वि.सं. २०३९ सालको चुनावमा मोहनप्रसाद पोखरेल पुनः प्रधानपञ्चमा र इन्द्रमणि श्रेष्ठ उपप्रधानमञ्च भएका थिए। वि.सं. २०४३ सालको चुनावमा राजेन्द्रबहादुर प्रधान प्रधानपञ्चमा र पावित्री राई उपप्रधानपञ्चमा निर्वाचित भएका थिए।
वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् वि.सं. २०४९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सुशीलकुमार कर्माचार्य र हेमबहादुर तामाङ क्रमशः नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए। यसै प्रकार वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वाङ्दी लामा र जीवप्रसाद पोखरेल क्रमशः प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका थिए। वि.सं. २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका चिन्तन तामाङ नगर प्रमुख पदमा निर्वाचित भएका छन् भने नेकपा एमालेकी शकुन्तला बस्नेत नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।
धनकुटाको नामकरणका सम्बन्धमा विभिन्न भनाई रहेको छ जसमध्ये एक स्थानीय भनाई अनुसार यस क्षेत्रको दुवैतिर अग्ला डाँडाहरूलाई धान कुट्ने ढिकीको खम्बा र पोखरीलाई ओखल जस्तो देखिने भएकाले मानिसहरूले यसलाई धान कुट्ने ठाउँ पो रहेछ यसलाई धानकुटा भन्नुपर्छ भनेर भन्दै जाँदा यही कालान्तरमा धनकुटामा परिणत भएको हो। यस्तै सत्रौँ शताब्दीअघि धनकुटाको अस्तित्व नभए पनि नेपाल-तिब्बत युद्धताका सैनिक तथा व्यापारीहरूलाई खाद्यान्न तराईबाट सिमानासम्म लैजान धेरै टाढा भएकाले यस ठाउँबाट धान कुटेर लैजाने गरिएकाले धानकुटा भन्न थालिएको र त्यही नाम पछि गएर धनकुटामा परिणत भएको जनश्रुतिहरू पाइन्छ।
भौगोलिक दृष्टिकोणले १११ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका महाभारत पर्वत शृङ्खलामा रहेकाले यस नगरको उचाइ, तापक्रम, वर्षा, वनस्पति तथा कृषि प्रणालीमा ठूलो विषमता रहेको देखिन्छ। समुद्री सतहबाट २ सय ५० देखि दुई हजार १ सय ४४ मिटरसम्मको उचाइ, दुई डिग्री सेल्सियसदेखि ३० डिग्री सेल्सियससम्म तापक्रम र औसत १२०० मिलिमिटरसम्म पानी पर्छ। यस नगरमा समशीतोष्ण र शीतोष्ण प्रकारको हावापानी पाइन्छ। यहाँका प्रमुख नदीनालाहरूमा तमोर नदी, ताङखुवा खोला, पात्ले खोला, निबुवा खोला, सिस्ने खोला र ठोका खोला छन्।
कोशी प्रदेश स्थित धनकुटा जिल्लाका साविक भिरगाउँ र बेलहरा गाविसहरूलाई मिलाएर वि.सं. २०७१ सालमा धनकुटा नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर धनकुटा नगरपालिकाको जनसङ्ख्या ३६,६१९ रहेको छ।
यस नगरको पूर्वमा छथर जोरपाटी गाउँपालिका, पश्चिममा सहिदभूमि गाउँपालिका, उत्तरमा पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिका तथा दक्षिणमा साँगुरीगढी गाउँपालिका पर्दछ। धनकुटा नगरपालिकाका विशेषता भनेको ऐतिहासिक धनकुटा गौंडा, सल्लेरी वन, बिहीबारे साप्ताहिक हाट बजार, ऐतिहासिक बाउन्न ढोके दरबार, श्रीपञ्चमी पार्क, थामडाँडा, चुलिवन, टुँडिखेल र धरहरा ऐतिहासिक भाषा स्कूल र ऐतिहासिक गोकुण्डेश्वर स्कूल, निशान भगवती, गुराँसे र नारायणी टी स्टेट, क्षेत्रीय सङ्ग्रहालय र पर्यटकीय तथा व्यापारिक स्थल मानिएको हिले बजार छन्। यस नगरमा ब्राह्मण, क्षेत्री, नेवार, राई, लिम्बु, मगर, आठपहरिया, तामाङ, शेर्पा, दमाई, कामी, सार्की जातिहरू बसोबास गर्छन्।
This article uses material from the Wikipedia नेपाली article धनकुटा नगरपालिका, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.