पहिलो विश्वयुद्ध एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो। सन् १८१४ देखि १८१८ सम्म चलेको यस युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो। जुन विश्वयुद्धमा नेपालले ब्रिटेनका पक्षमा सहभागीता जनाएको थियो। ब्रिटिस भारत सरकारका भाईसराय एवं गभर्नर जनरलको मागअनुसार पहिलो विश्वयुद्धमा नेपालले सैनिक सहायता उपलब्ध गराएको थियो।
२८ जून, १९१४ मा सेराजेवोमा ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या थियो। एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई।
पहिलो विश्वयुद्धमा नेपाल दुई ढङ्गले जोडिन्छ। एउटा ब्रिटिस गोर्खा सैनिकका माध्यमबाट अर्को नेपाली राज्यकै संलग्नताबाट भएको थियो। सन् २०१५ को अप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुगेको थियो। यसको अर्थ पहिलो विश्वयुद्ध हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए। विश्वयुद्ध हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा गोर्खा रेजिमेन्ट थपेको थियो ।
पहिलो विश्वयुद्ध अघि भएका चीन, इजिप्ट,क्रिमिया र अफगानिस्तानका लडाइँमा नेपालीले लडेका थिए। अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए। अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा बलभद्र कुँवर मारिएका थिए।
नेपालका तर्फबाट पहिलोपटक ६ हजार सैनिक भारत प्रस्थान गरेपछि नेपालबाट तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवन र श्री ३ महाराज चन्द्रशमशेरले गभर्नर जनरललाई अलगअलग खरिता पठाएर त्यसको जानकारी गराएका थिए। पहिलोपटक ६ हजार नेपाली फौज भारत गए पनि तिनको साथमा जाने अन्य सहयोगीसहितको कुल संख्या ७ हजार ३२३ थियो।
सन् १९१५ को ३ र ४ मार्च (वि.सं १९७१ साल फागुन २० र २१) मा नेपाली फौज भारततर्फ प्रस्थान गरेको थियो। ३ मार्चमा अपराह्न ४ बजेको साइतमा अबोटाबादका लागि चार पल्टन फौज काठमाडौँबाट प्रस्थान गरेको थियो। फौजको नेतृत्व कमान्डिङ जनरल पद्मशमशेर जबराले गरेका थिए। ती चार पल्टनमा राइफल कालीबक्स पल्टन, पुरानो गोरखा देवीदत्त पल्टन, पशुपतिप्रसाद भैरवनाथ पल्टन र शमशेर दल जबर जंग पल्टन थिए। ४ मार्चको बिहान ७ बजेको साइतमा देहरादुनमा रहने गरी दुई पल्टन फौज काठमाडौँबाट त्यतातर्फ प्रस्थान गरेको थियो। त्यसको नेतृत्व जनरल तेजशमशेर जबराले गरेका थिए। ती दुई पल्टन फौजमा काली बकस बर्द बहादुर दोस्रा राइफल थिए।
काठमाडौँबाट भारततर्फ प्रस्थान गर्नुपूर्व १ मार्चमा टुँडिखेलमा जम्मा भएका नेपाली सैनिकलाई प्रधानमन्त्री चन्द्रशमशेरले सम्बोधन गरेका थिए।
प्रधानमन्त्री चन्द्रशमशेरले भारत जाने नेपाली फौजको दल प्रमुखका रूपमा दिल्लीमा रहने गरी आफ्ना माइला छोरा जनरल बबरशमशेर जबरालाई पठाएका थिए। दिल्लीमा ब्रिटिस भारतीय सेनाका कमान्डर इन चिफको कार्यालय मातहत रहने गरी बबरशमशेर खटिएका थिए। त्यस्तै नेपालबाट फौज गएको दुई महिनापछि गभर्नर जनरलले देहरादुनमा नेपाली फौजको निरीक्षण गरेका थिए। नेपाली सैनिक देखेर उनीहरूको जिउज्यान, चालढाल एवं क्षमताबाट आफू प्रभावित भएको पत्र गभर्नर जनरलले चन्द्रशमशेरलाई पठाएका थिए।
ब्रिटिस सरकारको अनुरोधमा चार पटक गरी १५ हजार ६ सय ५८ नेपाली फौज भारत पठाइएको थियो। नेपालले युद्धकोषमा १ करोड ३७ लाख रुपैयाँ जम्मा गरिदिएको थियो। त्यसैगरी जिन्सीमा ४० हजार पाउन्ड अलैँची, ८४ हजार ६ सय ९९ पाउन्ड चिया, २ सय थान ज्याकेट, १२ थान ओभरकोट, नेपाली र तिब्बती कम्मल, ३ सय ४० थान बन्दुक, २ लाख थान रेलको स्लिपर र २२० वटा सिसौका रूख ब्रिटिसलाई सहयोगबापत उपलब्ध गराएको थियो। त्यस्तै रिक्रुटमार्फत २ लाख नेपाली युवाले ब्रिटिस सेनाका विभिन्न मोर्चाबाट उक्त युद्ध लडेका थिए।
त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ ।यो संख्या भनेको तत्कालीन पहाडी जनसङ्ख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसङ्ख्या नै ५४ लाख थियो ।[स्रोत नखुलेको] यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसङ्ख्या घटेको तथ्यांकले देखाउँछ ।
यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका सैनिक युद्धमा जान्थे । त्यो बेला नेपाल सरकारले केही सय थान राइफल पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि राणा सरकारले बेलायतलाई सहयोग दिएको थियो । ब्रिटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो । त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।
त्यस बेला केही कैदीलाई पनि राणाहरूले बेलायती सेनामा भर्ना गराएको मानिन्छ । एकजना ४० वर्षका बाबुले गोरखपुरनेरको कुनाघाटमा भर्ती गराउन आफ्नो १६ वर्षको छोरालाई लिएर गएछन् । ब्रिटिसले बाबुछोरालाई नै भर्ती गरिदियो । युद्धका लागि उनीहरूलाई सिपाही चाहिएको थियो । यसैले नेपालका कति पहाडी गाउँबस्ती खाली हुनेगरी युवालाई भर्तीमा पठाइयो ।
'घर जलाएर खरानी' भनेजस्तो यसले नेपाललाई केही फाइदा पनि गर्यो । वि.सं. १९१४ मा श्री ३ जंगले भारतीय विद्रोह दमन गरे बापत १९१७ मा नयाँ मुलुक फिर्ता पाए। पहिलो विश्वयुद्धमा पनि बाँकी तराई र गुमेको नेपाल फिर्ता पाउने आशा थियो तर चन्द्र शमशेरले वार्षिक दस लाख नगद आफ्नो खल्तीमा हाल्न ललचाएका हुँदा भारतका गभर्नर जनरलको सिफारिस कार्बाही हुन पाएन।
यो युद्धले नेपाली समाज र अर्थतन्त्रमा पनि प्रभाव पार्यो । युद्धमा मर्नेका घरमा पनि दुई/चार पैसा आयो । युद्ध सकिएपछि १ लाख जवानहरू फिर्ता आए । उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमान अनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । त्यतिबेला नेपालमा बजेट बनाउने चलन थिएन । यदि हुन्थ्यो भने त्यो रकम वाषिर्क बजेट बराबर हुने थियो । अहिले वाषिर्क ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । १८ खर्बको जिडिपीका तुलनामा यो २५ प्रतिशत हो ।
यसका साथै युद्धबाट फर्किएका सैनिकले केही नयाँ बस्तीहरू बसाले । नेपालमा तास, चुरोट, ससाना भट्टी र रक्सीको बढी चलन यसै बेलापछि बढेको मानिन्छ । गाउँघरका केटीहरू लाहुरेसँग भाग्ने क्रम पनि चल्यो । ज्यालादारी गर्ने भरियाले पैसा पाउन थाले । युद्धमा मान्छे मारेर वा धेरै मानिस मरेको देखेर आएका हुनाले यिनले अलग किसिमको दृष्टिकोण पनि समाजमा ल्याए । नयाँ खाले खेलहरू पनि ल्याए ।
गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो । यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए ।
भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्यो।(नेपालका विृकृतीहरुलाइ यथास्थानमाराखी,विश्वयुध्दवाट फर्कीएपछी नेपाली सेनाका अवधारणाका अग्रगती विकासनै आजका नेपालहुन्)-बिष्णुहरिलामिछाने-
युद्ध सकिएको पाँच वर्षपछि सन् १९२३ मा बेलायतले नेपाललाई युद्धमा सघाएको गुन फर्कायो । बेलायतले नेपाललाई सार्वभौम मुलुक मानेर शान्ति तथा मैत्री सन्धि गर्यो । वर्षको ५-१० लाख सहयोग पनि गर्यो । त्यो पैसा राणा र पछि पञ्चायतका शासकहरूले आफ्नो खल्तीमा हाले । पछि डीएफआईडी र ब्रिटिस वेलफेयरजस्ता बाटोबाट पैसा आएपछि यो बन्द भयो ।
प्रथम विश्वयुद्ध विजेता बेलायतले ‘पोष्ट वार रि–कन्स्ट्रक्सन फण्ड’ अन्तर्गत युद्धको भरपर्दो सहयोगी नेपाललाई उपहारस्वरुप १९८२ सालमा ‘त्रिचन्द्र मिलिटरी हस्पिटल’ बनाइदिएको थियो। विश्वयुद्धमा भाग लिएका र ज्यान गुमाएका नेपाली सैनिकको सम्झनामा निर्मित यही अस्पताल थियो, जसले मुलुकमा पहिलो पटक फाइबर अप्टिक इन्डोस्कोपी प्रविधि भित्र्यायो।
अहिले आएर हेर्दा सबैलाई लाग्छ, नेपालले यो युद्धबाट अझै कुनै पाठ सिकेको छैन । युद्धमा नेपालको कुनै शत्रु थिएन । हामी युद्धमा सहभागी हुनुपर्ने कुनै कारण थिएन । तैपनि नेपाल युद्धमा गयो । नेपालको ध्यान ब्रिटिस साम्राज्यसँग जोगिएर आफ्नो अलग अस्तित्व कायम गर्नेमा हुनुपर्ने थियो तर शासकहरूले आफ्नो शासन सत्ता जोगाउन देशलाई युद्धमा होमिदिए ।विदेशीको सेवा गर्ने उनीहरूको दलाली गर्ने काम गरे । देशमै उद्योग धन्दाको विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा जनशक्ति विदेश निर्यात गरेर ढुक्क हुने चलन अहिले पनि कायम छ । वीर गोरखाली भनेर विदेशी सेनामा भर्ती हुने कुरालाई एउटा अवसरका रूपमा व्याख्या गरियो । यति भए पनि नेपालको खासगरी पश्चिम पहाडको चित्र बनाउँदा लाहुरे बिनाको कुनै चित्र बन्दैन । ती लाहुरे पहिले ब्रिटिसका थिए, अहिले अरबका होलान् ।
This article uses material from the Wikipedia नेपाली article पहिलो विश्वयुद्धमा नेपाल, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.