सिद्धिकाली मन्दिर नेपालको थिमिमा अवस्थित एउटा हिन्दू मन्दिर हो। दुई तले छानाको मन्दिर भगवान काली, शिव र गणेशलाई समर्पित छ। यो शक्तिपीठ सतीदेवीको दाहिने आँखा खसेको कारणले बनेको जनविश्वास रहेको छ। यो ठाउँ थिमीको उत्तर पश्चिममा इनायक्वोमा अवस्थित छ। यस मन्दिरलाई इनायक्वो द्यो पनि भनिन्छ र सिद्धिकाली मन्दिर अष्टमातृकाकी देवी चामुण्डा भनेर पनि चिनिन्छ। राजसी प्रभावशाली सिद्धिकाली मन्दिरको अगाडि धेरै पता:हरू छन्। मन्दिरको विपरितमा सतः (विश्रमगृह) र वरिपरि फल्चा, ढुङ्गे धारा, साना मन्दि (भैरव, शिव मन्दिर, सरस्वती मन्दिर, भीमसेन मन्दिर, बसुन्धरा मन्दिर, सहस्रभुज लोकेश्वर मन्दिर, बुद्ध चैत्य) रहेका छन्। सिद्धिकाली मन्दिर वरपरको कलाकृति उत्कृष्ट छ र नजिकबाट निरीक्षण गर्न लायकको रहेको छ।
सिद्धिकाली मन्दीर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | थिमि |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | भक्तपुर |
देश | नेपाल |
सिद्धिकाली मन्दिर एक सांस्कृतिक र धार्मिक स्थल हो। मन्दिर भित्र देवी सिद्धिकाली र मध्य भागमा भगवान गणेश सजिलै चिन्न सकिन्छ। यसका साथै मन्दिरभित्र भैरव र नवदुर्गा देवताहरू पनि छन्। चापाचो थिमीमा सिद्धिकाली द्योछेँ अवस्थित छ जहाँ सिद्धिकाली देवीको पूजा गर्न सकिन्छ। सिद्धिकाली देवीको जात्रा यहाँबाट सुरु भएर यहीँ आएर सकिन्छ। वर्षमा दुई पटक (वैशाख १ र येन्या पुन्ही) देवी सिद्धिकाली द्योछेँबाट सिद्धिकाली मन्दिरमा जात्रा गर्न लग्छ जसलाई द्यो ब्वेकेगु जात्रा भनिन्छ। देवी सिद्धिकालीको जिज्ञासु र रहस्य यो छ कि द्योछें मा भगवान गणेशको मूर्तिलाई सिद्धिकालीको रूपमा राखिन्छ र त्यही मूर्तिलाई बिस्का जात्रा (वैशाख १ र २) र येन्या पुन्ही सिद्धिकाली जात्रामा रथमा राखिन्छ।
सिद्धिकाली मन्दिर भक्तपुर जिल्लाको पुरानो सहर थिमिको बाहिरी भागमा अवस्थित एक शक्तिपीठ र पवित्र तीर्थस्थल हो। सिद्धकाली मन्दिरबाट सहर प्रवेश गर्न दुईवटा परम्परागत ढोका (ध्वाखा) छन्। विगतका दिनमा ध्वाखाबाट मात्रै आवासीय क्षेत्र सुरु हुन्छ । एउटा ध्वाखा नासनानी टोल नजिक थियो जुन पूर्ण रूपमा हराइसकेको छ र अर्को द्वोडा टोल नजिक छ जुन मन्दिरबाट नजिकैको आवासीय क्षेत्र हो। हाल मन्दिरको नजिकै दुईवटा नवनिर्मित प्रवेशद्वार पनि छन्।
सिद्धिकाली मन्दिर परिसरमा १० भन्दा बढी परम्परागत ल्हों हिटी (ढुंगाको धारा) र दुईवटा पोखरी छन् । अझै पनि अधिकांश ल्हों हिटीबाट प्राकृतिक पानी निरन्तर बगिरहेको छ । धेरै जसो ल्हों हिटीको आफ्नै नाम छ जस्तै ध्वो हिटी, पु हिती, नास: हिटी, दथु हिती, पतावाल हिटी।
सिद्धिकाली माताले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास छ । मन्दिरमा दिनहुँ धेरै भक्तजनहरु आउने गर्दछन् । मंगलबार र शनिबार सिद्धिकाली देवीको पूजा गर्ने विशेष दिन हो । मङ्गलबार र शनिबार राति धेरैजसो यहाँ मानिसहरु मन्दिरको वरिपरि इता: (कपास र तेलले बनाइने एक प्रकारको दियो) बालि पूजा गर्ने गर्दछन् जसलाई नेवा भाषामा चाकामता च्याकेउ भनिन्छ। भक्तजनहरूले मन्दिरको वरिपरि दियो मा तेल राखी बत्ति बाल्ने गर्दछन्।
सिद्धिकाली मन्दिरमा हरेक दिन बिहान र हरेक शनिबार राती नित्य भजन र प्रत्येक शुक्रबार मध्यान्हमा रामायण भजन गरिन्छ ।
सिद्धिकाली मन्दिरमा पता: (मन्दिरको माथिबाट अगाडि झुण्डिएको लामो धातु) को धेरै संख्या छ। धेरै जसो पता: भक्तहरूबाट चढाइएकोछ जसले देवी सिद्धिकालीप्रति गहिरो आस्था देखाउँदछ।
एउटा खुचा (सानो खोला ) मन्दिर परिसर हुँदै बग्छ, जसको मुहान नगदेशमा अवस्थित बिशंताकी अर्थात् शिलेश्वोर महादेव तिर्थ को पोखरी लाई मानिन्छ । सिद्धिकाली मन्दिरको पश्चिम तर्फ त्यो खुचाको किनारमा भीमसेनको मन्दिर छ । त्यो विष्णुगंगा नामक तीर्थस्थल थियो, जसलाई भीमघाट पनि भनिन्छ। विगतका दिनहरूमा प्रायः रुन्चे (रुने) बच्चाहरूलाई मुख धुन यहाँ ल्याइन्छ। त्यो खोलाबाट मुख धोएपछि बच्चाहरु प्रायः रुन्चे समस्या बन्द हुने जनविश्वास छ । थिमिको उत्तरी भागका मानिसहरू अझै पनि यहाँ श्राद्ध (पितृहरूको विशेष पूजा, प्रायः मृत्यु मितिमा वार्षिक रूपमा गरिन्छ) पूरा गरेपछि आफ्ना पुर्खाहरूलाई पिण्ड चढाउन र प्रवाह गर्न यहाँ आउँछन्। हाल उक्त खोला ढलमा परिणत भइसक्यो । भीमसेन मन्दिर नजिकै एउटा महादेव मन्दिर छ, जसलाई गोपालेश्वर महादेव भनेर चिनिन्छ।
सिद्धिकाली मन्दिरको पूर्व भागमा कुटुङ्ग : डाँडा भनेर चिनिने सानो डाँडा छ । हनुमानले संजीवनी पहाड बोकेर हिँड्दा यहाँ संजीवनी पहाडको केही भाग खसेको जनविश्वास छ । कुटुङ्ग: नेवा भाषामा झरेको पहाड हो।
गठेमङ्गल– गथामुग चतुर्दशीका दिन सिद्धिकाली मन्दिर नजिकैको खुच्चाको किनारमा ३ वटा फरक–फरक गथामुग तानेर ल्याइन्छ र त्यहाँ जलाइन्छ । थिमीको नसनानी टोल, दिगु टोल र वाचुनानी–कुमानानी टोलबाट हरेक वर्ष ३ गथामुग यहाँ तानेर ल्याइन्छ । गथामुग चतुर्दशी एक अद्वितीय चाड हो जुन दिन देखि नेवा जातिको चाडपर्व सुरु हुन्छ।
दशैंको फुलपातीका दिन सिद्धिकाली मन्दिरबाट थिमीको लायकु तलेजु मन्दिरमा फूलपाती ल्याइन्छ भने विजयादशमीको भोलिपल्ट खड्ग जात्रा (खाँ: प्या वइगु) बालकुमारी मन्दिर परिसरमा मनाइन्छ ।
सिद्धिकाली जात्रा वर्षमा दुई पटक मनाइन्छ। एक पटक वैशाख महिनामा बिस्का जात्रा र अर्को भाद्र महिनामा येन्या पुन्ही जात्रा भनिन्छ। येन्या पुन्हीको रातमा द्योछें (भगवानको घर)बाट देवी सिद्धिकालीलाई मन्दिरमा ल्याइन्छ जसलाई द्यो ब्वेकेगु जात्रा भनिन्छ। मन्दिरमा विशेष पूजा गरी पुनः द्योछें फर्किन्छन् । द्यो ब्वेकेगु जात्रा को समयमा, धिमे बाजामा द्यो ब्वेकेगु ताल मात्र बजाइन्छ। भोलिपल्ट प्रतिपदा तिथिको रात सिद्धिकाली जात्रा (सिद्धिकाली जात्राको परम्परागत मार्ग) भित्र खट बोकेर, धिमे, भुस्या बजाएर र चिलाख (विशेष प्रकारको बत्ती) बोकेर मनाइन्छ। सिद्धिकाली जात्रा द्योछेंबाट सुरु भई थिमि कोर क्षेत्रमा परिक्रमा गरी पुनः द्योछेंमा समापन हुन्छ ।
बिस्का जात्रा वैशाख १ गते बिहान द्योछेंबाट सिद्धिकाली देवीलाई मन्दिरमा लगेर द्यो ब्वेकेगु जात्रा गरिन्छ । वैशाख १ गते थिमि इलाकाका लागि ठूलो दिन हो। यस दिन पुरै दिन पूजा गरिन्छ। थिमीका धेरैजसो मानिस पूजा गर्न मन्दिर जाने गर्छन् । वैशाख १ गते साँझ मन्दिर परिसरमा सिद्धिकाली गणको ठूलो जात्रा मनाइन्छ। सिद्धिकाली गणमा पर्ने सात खट(सिद्धिकाली, कोशी इनाय गणेश, विश्व विनायक, कोर्की इनाय गणेश, गांचा इनाय गणेश, राज गणेश र शिवा गणेश) एकसाथ भेला भएर सिद्धकाली मन्दिर परिसरमा ठूलो बिस्का जात्रा मनाउने गरिन्छ, यसलाई सिद्धकाली जात्रा र ब्यालिसिया जात्रा पनि भनिन्छ। । भीड, धिमे र भुस्या को आवाज , नाए खिँ, सिंदूरको रङ, चिलाख, सात खट र छत्र घुम्ने जात्राका उत्कृष्ट क्षण हुन् । जात्राले थिमिको माथिल्लो भाग पनि परिक्रमा गर्नेछ । वैशाख २ गते बिहान बालकुमारी मन्दिर परिसरमा सिद्धिकाली गण सहित १९ वटा खट भेला भएर सुथसिया बिस्का जात्रा/बालकुमारी जात्रा मनाउने गरिन्छ र थिमि नगरको परिक्रमा गर्ने गरिन्छ ।
वैशाख १ गते बिस्का जात्रामा सातवटा खट मन्दिर परिसरमा भेला हुन्छन् । तर एउटा खट (विश्वविनायक) मन्दिर परिसरको ध्वाखा (शहर प्रवेश गर्ने परम्परागत ढोका) पार गर्दैन र ध्वाखा नजिकै रोकिनेछ र अन्य सबै खटहरू मन्दिरमा पुगेर सिद्धिकाली मन्दिरको परिक्रमा गर्नेछन्। सिद्धिकाली मन्दिरको देब्रेपट्टि ल्हों हिटी (ढुङ्गाको धारा) रहेको छ जसमा अझै पनि अलौकिक शक्ति छ । ढुङ्गाको धारामा घोली नाग र विश्वविनायकको आसनमा पनि घोली नाग रहेको विश्वास गरिन्छ । दुबै घोली नाग एकअर्कालाई भेट्न नहुने भएकोले विश्वविनायकको खट ध्वाखा नजिकै रोकिन्छ र त्यो ध्वाखा पार गर्दैन।
पुरातन कालदेखि सिद्धिकाली जात्रासँग सम्बन्धित गुठीहरू थुप्रो सङ्ख्यामा छ। जात्रा अवधिमा प्रत्येक गुठीको आ-आफ्नै जिम्मेवारी हुन्छ। सिद्धिकाली जात्रासँग सम्बन्धित केही गुठीहरू सिद्धिकाली द्यो गुठी, सिद्धिकाली मू धिमे गुठी, सिद्धिकाली धिमे गुठी, छत्र गुठी, नोल गुठी, सिन्ह गुठी, फल्चा गुठी, दलबु गुठी, सिद्धिकाली बासुरी खल: हुन्।
मु धिमे सिंगो थिमि सहरको विशेष धिमे हो। यो धिमे एउटा मात्र हुन्छ जहाँ अन्य धिमे थुप्रो संख्यामा र समूहमा बजाइन्छ। बिस्का जात्रामा धेरै भुस्या, च्वामो (चमार) र पङ्खा वरपर भएको मुधिमे बिस्का जात्रा को एउटा मुख्य आकर्षण हो। यो धिमे वर्षमा दुई दिन (वैशाख १ र २) मात्र बाहिर बजाइन्छ। बाँकी दिन मु धिमेछेंमा राखिन्छ । बिस्का जात्रा जात्रामा मू धिमे आएपछि मात्रै सिद्धिकालीको खट उचालिन्छ। जसले गर्दा बिस्का जात्रामा यसको प्रमुख भूमिका हुन्छ । यो धिमेलाई नागको प्रतीक भनिन्छ। यस धिमेको ताल अन्य सामान्य धिमे तालहरू भन्दा पूर्ण रूपमा फरक र अद्वितीय छ। जात्रामा र कुनै पनि अवसरमा अन्य आम धिमेले मू धिमे तालहरू बजाउन हुन्न र मिल्दैन पनि ।
सिद्धिकाली मन्दिर परिसरमा मनाइने प्रमुख चाडहरूमा बिस्का जात्रा (चैत्र महिनाको अन्तिम दिन, वैशाख १ र वैशाख २), दिगु पूजा, गथेमंगल, येन्या पुन्ही जात्रा, मोहनी (दशैं), बाला चतुर्दशी, श्रीपञ्चमी/वसन्त पञ्चमी, भीम द्वादशी, होली पूर्णिमा र महा शिवरात्रि पर्दछन्।
ढाँचा:Hindu temples in Nepal
This article uses material from the Wikipedia नेपाली article सिद्धिकाली मन्दिर, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.