सीता अथवा वैदेही, जानकी रामायण र रामकथामा आधारित अन्य रामायणहरू जस्तै रामचरितमानस की मुख्य पात्र हुन। सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिइन् । उनको विवाह अयोध्याका राजा दशरथको ज्येष्ठ सुपुत्र राम सँग स्वयंवरमा शिवको धनुष भंग गरे पछि भयो।
सीता | |
---|---|
देवनागरी | सीता |
संस्कृत | Sītā |
वर्ग: | लक्ष्मीको अवतार |
जीवनसाथी: | राम |
ग्रन्थ | रामायण |
भगवान् मर्यादा पुरूषोत्तम रामकी पत्नी, धर्मानुरागी, आदर्शराजा दशरथकी बुहारी र राजषिॅ जनककी छोरी सीता नेपाल भूमिकी गरिमामयी पुत्री हुन्। आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीका रूपमा बहुचर्चित सीता नेपाल पुत्री भएकीले उनलाई यहाँ राष्ट्रिय विभूति मानिएको छ। प्रथम नेपाली महिलाका सन्दर्भमा हेर्दा उनी नेपालकी पौराणिक प्रथम नेपाली महिला विभूति हुन्। उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृत्वासल्य, करूणामयी व्यक्तित्वका कारण संसारभरि उनी जगज्जननीका रूपमा पूजित छिन्।
आदर्श नारी सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपूर्ण हुनाका साथै रहस्यमयी छन्। साँच्चै भन्ने हो भने सीताका आमा, बाबु दुवै अज्ञात छन्। हुन त सीता नामले उनका बारेमा जान्न चाहनेलाई केही रहस्य उद्घाटन भने गरेकै छ। विभिन्न शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जोत्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन्। सीताको जन्म सन्दर्भमा यस्तै कथा पनि छ। यज्ञभूमि तयार पार्न राजषीॅ जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ।
सीताको जन्म सम्बन्धमा पुराणहरूमा एकरूपता पाइँदैन। वाल्मीकी रामायण, आनन्द रामायण, अद्भूत रामायण, अध्यात्म रामायण, कम्ब रामायण -तमिल रामायण), देवी भागवत आदि पुराणमा फरक कथा छन्।
सीताको जन्मसम्बन्धमा अनेक कथा रहेकाले यसै हो भन्न गाह्रो छ तर जनकपुरसँगको उनको सम्बन्ध भने अकाट्य छ। नेपालका राष्ट्रिय विभूतिमध्ये एक जनक हृस्वरोमाका पुत्र हुन् र जनकको पुराणप्रसिद्ध नाम शीरध्वज हो। राजा जनकको झण्डामा हलो चिहृन रहेकाले उनको नाम शीरध्वज हुनपुगेको हो। यज्ञका लागि जमीन जोत्दा फालीको टुप्पाका कारण सीता प्रकट भएकीले जनकको नाम शीरध्वज हुनपुगेको अड्कल काट्नसकिन्छ। जनककी छोरी भएकी नाताले सीताको अर्को नाम जानकी हो। वशिष्ठ ऋषिको श्रापले मरेका राजा निमिको शव मन्थन गर्दा 'मिथि' जन्मिएका र उनको राज्य मिथिला बनेको उल्लेख पाइन्छ। मिथिलालाई विदेह पनि भनिने भएकाले विदेहकी छोरीको अर्थमा सीताको नाम वैदेही पनि छ। रामायण र याज्ञवल्क्यस्मृतिमा राजा मिथि अनुसार मिथिला नगरीको उल्लेख पाइन्छ भने मत्स्यपुराणमा चाहिँ मिथिल नाम गरेका ऋषिको चर्चा पाइन्छ। राजाका नामबाट होस् अथवा ऋषिका नामबाट मिथिला नाम ज्यादै प्राचीन भएकोमा शङ्का रहँदैन।
जन्म नदिए पनि पालनपोषण गर्ने राजाजनक सीताका पिता र सुनैना माता हुन्।सीतामा सानैदेखि विलक्षण प्रतिभा थियो। शूरवीरले उचाल्न नसक्ने शिवधनु पूजाकोठाको सरसफाइका बेला उनी सजिलै वर, पर राख्ने गर्थिन्। यही शक्ति देखेर नै जनकले शिवधनुमा ताँदो चढाउन सक्नेलाई छोरी दिने वाचा गरेका हुन्। स्वयम्बरका बेलामा देशदेशावरबाट अनेक राजामहाराजा आए। रावण पनि आएको थियो तर शिवधनु हल्लाउन समेत सकेन। अयोध्याबाट आएका रामले उचाल्नासाथ भाँचिनपुग्यो र धुमधामसाथ विवाह भयो। यो बिहेको सम्झना अद्यापि गरिँदैछ। मार्गशुक्ल पञ्चमीका दिन राम-जानकी विवाह महान् अवसरका रूपमा मनाउने चलन छ। यसपालिको विवाह पञ्चमी यही मङ्सिर महिनाको २४ गते परेको छ। यसदिन नेपाल तथा भारतका श्रद्धालु भक्तजनको ठूलो मेला लाग्दछ।
राजा जनकको पूजा कोठामा शिव धनुष राखिएको थियो। शिव धनुष विशाल भारी भएका कारण कोही पनि साधारण मानिसले उठाउन असम्भव थियो। सिताले संधै पूजा कोठाको सफाई गर्ने काम गर्थिन्। एक दिन राजा जनकले शिव धनुष राखेको ठाउँमा पोतेको देखेर अचम्म मान्दै सीतासँग शिव धनुषलाई कसरी सारेर पोत्यौ भनेर सोधे। सिताले पहिले धनुष उचालेर अर्को ठाउँमा राखेँ पोति सके पछि धनुष पहिले जस्तै गरी राखेको कुरा भनिन्। यो सुनेर राजा जनकले आजबाट सियाको नाम बदलेर सिता राख्नुका साथै जसले शिव धनुष उठाएर त्यसमा ताँदो चढाउन सक्छ त्यसै पुरुषसँग सिताको विवाह गरी दिने कुरा घोषणा गरे। एक दिन सिता बगैचामा एउटा रुखको छहारीमुनी बसिरहेको बेला रुखमा भएका सुवाको भाले पोथीहरू सिताको वर्णन गर्दै थिए। उनीहरू एक आपसमा सिता लक्ष्मीको अवतार भएको र यिनको विवाह भगवान विष्णुको मनुष्य अवतार अयोध्या पति दरशरथका पुत्र रामसँग हुने कुरा गर्दै थिए। यो सुनेर सिताले आफ्ना सखिहरू सँग ती पंक्षीहरूलाई समातेर ल्याउने आज्ञा दिईन्। यो सुनेर सबैले सुवाको जोडीलाई समात्ने कोसिस गर्न थाले। भाले सुवा उडेर गयो तर गर्भवती भएका कारण पोथी सुवा उड्न नसकेका कारण सिताको सखिहरूले समातेर ल्याए। त्यस पछि सिताले रिसाएर सुवा सँग "राम भनेकोको हो ? मेरा वुवाले मेरो विवाह शिव धनुष चलाउन सक्ने पुरुष सँग गरिदिने निश्चय गरेका छन् तिमीहरू जाबो पंक्षी भएर मेरो विवाह हुने पुरुषको तुलना गर्छौ" भनेर सोध्न लागिन् यो देखेर भाले सुवा आएर गर्भवती भएका कारण पोथी सुवालाई छोडि दिने बिन्ती गर्न थाल्यो। तर सिताले पोथि सुवालाई नछोडेकाले पोथी सुवाको मृत्यु भयो। त्यस पछि भाले सुवाले सितालाई गर्भवती अवस्थामा पति विछोडको श्राप दियो। त्यही सुवाको जोडीको पछि गएर अयोध्यामा धोबीको रूपमा पुनर्जन्म भयो। कालान्तरमा राजा जनकले सिताको सयम्वर गराए। अयोध्या राजकुमार रामले राजा जनकको प्रतिज्ञा पुरा गरेकाले सिताको विवाह रामसँग भयो|
उर्मिला, माण्डवी र श्रुतकीर्ति सीताकी बहिनी हुन्। यिनको बिहे पनि क्रमशः लक्ष्मण, भरत र शत्रुघ्नसँग भएको हो। माइतीमा जस्तै घरमा पनि सीताले सबैको मन जितेकी थिइन्।
रानी केकैको वचन हारेका राजा दशरथको आज्ञा अनुसार राम १४ वर्ष वन जाँदा जिद्दी गरेर सीता पनि सँगै गइन्। साथमा लक्ष्मण पनि गएका थिए। अत्रि ऋषिका आश्रममा हुँदा सीताले सती अनुसूयासँग पातिव्रत्यधर्मको उपदेश लिएकी थिइन्। लक्ष्मणले नाक काटिदिएपछि रावणकी पत्नी शूर्पणखाले राम, लक्ष्मणलाई मार्न खर, दूषण र त्रिशिराको १४ हजार सैनिक ल्याई तर रामका प्रतापका अगाडि ती टिक्नसकेनन्। शूर्पणखाले दाजु रावणलाई उचाल्नपुगी। एकदिन राम वनमा गएका बखत 'मारिच'ले छल गरी रामकै स्वरमा लक्ष्मणलाई पुकार्दा सीता विहृवलित भई लक्ष्मणलाई कर गरी त्यतै पठाउँछिन्। मौका ढुकिरहेको रावण जोगीको भेष गरी आएर लक्ष्मणले बनाएको रेखा पार गरेमात्र भिक्षा लिने बताउँछ। सीताले त्यसै गर्दा रावणको फन्दामा पर्छिन्। आकाशमार्ग हुँदै रावणले सीताहरण गर्दा अगाडि आएका जटायुलाई घाइते बनाई अशोक वाटिकामा पुर्याउँछ र अर्धाङ्गिनी बनाउन अनेक तिगडम चाल्नथाल्छ। सीताको सतीत्व डगमगाउन ऊ सफल हुँदैन। मन्दोदरी र त्रिजटाको कोमल वाणीले सीतालाई केही राहत पुग्छ।सीताको खोजीमा निस्किएका राम, लक्ष्मण सुग्रीवसँग मितेरी गाँसी वाँदर सेना तयार गर्छन्। रामद्वारा पठाइएका दूत हनुमानलाई देख्दा उनी दङ्ग पर्छिन्। सीता सतीसाध्वी भएकीले हनुमानको पीठमा बसेर पतिछेउ पुग्न अस्वीकार गर्छिन्। राक्षसद्वारा पुच्छरमा आगो लगाइएपछि हनुमानलाई लङ्कादहन गर्ने अवसर प्राप्त हुन्छ। रामको सेना समुद्र तरी लङ्कामा पुगेपछि भीषण युद्ध हुन्छ। मेघनाद, कुम्भकर्ण, रावण आदि सबै दुष्ट मारिन्छन्। सन्तस्वभावका विभीषणलाई लङ्काको राजा बनाइन्छ।
सीता रावणको कब्जामा रहेकीले रामले सहजै स्वीकार गर्दैनन्। अग्निपरीक्षामा सीता निष्कलङ्क ठहरिएपछि आफ्नो पतिका साथ पुष्पक विमानद्वारा अयोध्या पुग्छिन्। लोकापवादले त्यहाँ पनि उनलाई छाड्दैन। रामले सीतालाई पुनः वनबास पठाउँछन्। गर्भवती सीतालाई महषिर् वाल्मीकिको आश्रय प्राप्त हुन्छ। यहीँ उनले लव र कुश सन्तान जन्माउँछिन्। रामले अश्वमेध यज्ञ गर्दा घोडा समाउने बालक यिनै हुन्। सीताको आज्ञा पाएपछि मात्र घोडा छाड्छन्। दरबारमा यी बालकले रामायण सुनाउँदा राम विहृवल हुनपुग्छन्। आफ्नो छोरा भएको ज्ञान भएपछि सीताको खोजीमा दौडन्छन्।
रामले वाल्मीकिको आश्रममा पुगेर सीतालाई अयोध्या फर्कन भन्छन् तर त्यसपूर्व सतीत्वको किरिया खान आग्रह गरिएपछि सीता ज्यादै द्रवित हुन्छिन् र धर्तीमाता सामु आफ्नो सतीत्व र पतिव्रता साँचो भए आश्रय दिन पुकार्छिन्, धर्ती फाट्छ अनि सीता धर्तीमाताको शरणमा सधैँ सधैँका लागि विलीन हुन्छिन्। यसरी धर्तीबाट जीवन लीला थालेकी सीताको कथा धर्तीमा नै समाप्त हुन्छ।
धैर्य, संयम र विवेककी प्रतिमूर्ति सहनशीला सीताको यो आदर्शकथा संसारभरि प्रसिद्ध छ। पुराणको सन्दर्भमा हेर्ने हो भने उनी बराबरकी आदर्श नारी कोही देखिँदैन। सीताको त्याग, परिश्रम र सच्चरित्रताकै कारण हुनुपर्छ-उनलाई भगवतीको दर्जा प्राप्त छ। उनको नाम स्मरण गर्नु मात्रले पनि जीवन धन्य हुने, परलोक सप्रने जनविश्वास छ। जगज्जननीको श्रद्धा, विश्वास र भरोसा हासिल गर्न सफल नारीव्यक्तित्व सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि महागौरवको कुरा हो।
This article uses material from the Wikipedia नेपाली article सीता, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.