बुद्ध धर्म एक अनिश्वरवादी धर्म हो। ऐतिहासिक रूपमा यो धर्म शाक्यमुनि बुद्ध (गौतम बुद्ध) र उनका अनुयायीहरूका शिक्षामा आधारित धर्म हो। बुद्ध धर्मको परम्परामा भने गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धको रूपमा मानिन्छ। उनी छैंटौं देखि पाँचौं शताब्दी ईसा पूर्व सम्म जीवित थिए। उनी बितेको अर्को पाँच शताब्दीहरूमा बौद्ध धर्म सारा भारतीय उपमहाद्वीपमा फैलियो, र अर्को दुई हजार वर्षहरूमा मध्य, पूर्वी र दक्षिण-पूर्वी जम्बू महाद्वीपमा पनि फैलिन गयो। आज, बौद्ध धर्ममा तीन मुख्य सङ्घ छन्: थेरवाद, महायान र वज्रयान। बौद्ध धर्मलाई पैंतीस करोड भन्दा अधिक मानिसहरू मान्दछन् र यो दुनियाको चौथो सबैभन्दा ठुलो धर्मको रूपमा रहेको छ।
बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ। जो व्यक्ति आफ्नै प्रयासले विना गुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीहरूलाई दु:खनिरोधको मार्गदर्शन गर्दछन् उनलाई सम्यक सम्बुद्ध भनिन्छ। भनिन्छ कि गौतम बुद्धभन्दा अघि अनेक सम्यक सम्बुद्धहरू उत्पन्न भइसके र भविष्यमा पनि अनेकौँ सम्यक सम्बुद्धहरू उत्पन्न भई दु:ख निरोधको सनातन शिक्षा दिनेछन। बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति। बुद्धले दु:ख मुक्तिसँग सरोकार नराख्ने दार्शनिक प्रश्नहरूलाई महत्त्व दिदैंनथे। उनी भन्दथे, "भिक्षुहरू म केवल एउटा कुरा मात्र सिकाउंछु: दु:ख र दु:ख निरोधको उपाय।" शीलको जगमा रहेर ध्यानद्वारा समाधि पुष्ट गर्दै पज्ञा उत्पन्न् गराउन सकेमा नै दु:खमुक्तिको अवस्था निर्वाणको साक्षात्कार गर्न सकिन्छ भन्ने उनको मूल शिक्षा हो।
लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो। इ.पू.६२३ मा यहाँको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो उनले जन्मने बित्तिकै सात पाइला हिंड्दै मनुष्य जातिका लागि यसै ठाउँबाट युगान्तकारी उद्गार प्रकट गरेका थिए। यो पावनभूमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरू बीच विश्व शान्तिको मुहानका रूपमा प्रसिद्ध छ। सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ। हरेक वर्ष संसारभरबाट लाखौंको सङ्ख्यामा तिर्थालु पर्यटकहरू तथा अध्ययेताहरू लुम्बिनीको भ्रमण गर्छन्।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तिर्थस्थल हो। मायादेवी र भगवान बुद्धप्रति अगाध आस्था राख्ने भएकाले हिन्दुहरू समेतको लागि लुम्बिनी महत्त्वपूर्ण धार्मिक गन्तव्य बनेको छ। लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरूले शताब्दीऔं देखि विभिन्न व्यक्तित्वहरूले लुम्बिनीको तिर्थाटन गरेका तथ्यहरू उजागर गर्दछन्। प्रसिद्ध मौर्य सम्राट अशोकले आफ्नो आध्यामिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु. २४९ मा लुम्बिनीको तिर्थ यात्रा गरेका थिए। उनले “हिंद बुधे जाते शाक्यमुनीति” (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेख सहितको ढुङ्गाको स्तम्भ खडा गरे जसलाई हालत प्रसिद्ध अशोक पिल्लाराका रूपमा लुम्बिनीमा पाउन सकिन्छ। सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनु भएको यही अवस्थिति चिनाउने स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे। साथै उनले कपिलवस्तु, रामग्राम, देवदह जस्ता ऐतिहासिक ठाउँहरूको भ्रमण समेत गरे। प्राप्त ऐतिहासिक तथ्यहरका आधारमा सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरूमा चिनियाँ यात्रीहरू त्सेङ साई, पायिहयान र हुयेन साड्ड थिए। त्सेङ साईले चौथो शताब्दीमा, फाहियानले पाँचौ शताब्दीमा र हुयेन साड्डले सातौँ शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए। यी यात्रीहरूमा हुयेन साड्डको यात्रा विवरणहरूले लुम्बिनीको बारेमा बिस्तृत विवरणहरू दिन्छन्। उनले लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार नदी, चिसो र तातो पानीका मुहानहरू भएको कुवा देखेको उल्लेख गरेका छन्। सन् १३१२ मा पश्चिम नेपाल कर्णाली क्षेत्रका राजा रिपु मल्लले लुम्बनीको भ्रमण गरी आफ्नो यात्राको स्मरण गराउन अशोक स्तम्भमा “ॐ मणि पद्मे हुङ रिपु मल्ल चिर जयतु” भनी लेखे। त्यसपछि भने इतिहासको लामो कालसम्म लुम्बिनी विस्मृतिमा रहन पुग्यो। पछि सन् १८९६ मा पाल्पाका बडाहाकिम जनरल खड्ग शम्शेर र अङ्ग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि लुम्बिनी फेरी चासो र सरोकारको विषय बन्यो। सन् १९९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गर्नुका साथै मन्दिरका केही भग्नावशेषहरू बाहिर देखाए। फेरि सन् १९३० को दशकमा केशर शम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे। भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गरिन्। सन् १९६० को दशकदेखि भने संयुक्त राष्ट्रका साथै विभिन्न राष्ट्रिय अत्नर्राष्ट्रिय सङ्घ संस्थाहरूको समेत सहयोग र सहकार्यमा नेपाल सरकारले विशेष महत्त्वका साथ विभिन्न निकायहरू निर्माण गरी लुम्बिनीको उत्खनन्, संरक्षण र सम्वद्र्धनमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ। सन् १९७० मा भवन तथा भौतिक योजना विभाग अन्तर्गत लुम्बिनी विकास परियोजना र सन् १९७५ मा लुम्बिनी विकास समितिको गठन गरी लुम्बिनीको जिम्मेवारी दिइएको थियो। १९८५ देखि स्वायत निकायका रूपमा लुम्बिनी विकास कोषको गठन भए पश्चात् लुम्बिनी क्षेत्रको उत्खनन्, संरक्षण र प्रवर्द्धनको काम कोषले नै गर्दै आएको छ। सन् १९९२ देखि १९९६ सम्म कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बौद्ध महासङ्घले संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा उत्खनन कार्य गरेका थिए। हाल लुम्बिनी विश्वभरका लाखौं मानिसहरूको धार्मिक, आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको र सुन्दर, शान्त वाटिकाका रूपमा विकसित हुँदै गइरहेको छ।
गौतम बुद्धबाट पाएको ज्ञानतालाई बोधि भनिन्छ। मानिन्छ कि बोधि पाए पछि नैं संसारबाट छुटकारा पाइनछ। सारा पारमिताहरू (पूर्णताहरू)को निष्पत्ति, चार आर्य सत्यहरूको सारा सोच, र कर्मका निरोधबाट नैं बोधि पाएर जान सकिन्छ। त्यस समय, लोभ, दोष, मोह, अविद्या, तृष्णा, र आत्मांमा विश्वास सबै गायब भएर जान्छन्। बोधिका तीन स्तर हुन्छन्: श्रावकबोधि, प्रत्येकबोधि, र सम्यकसंबोधि। सम्यकसंबोधि बौध धर्मको सबै भन्दा उन्नत आदर्श मानिन्छ।
This article uses material from the Wikipedia नेपाली article बुद्ध धर्म, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.