औलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ। यो लामखुट्टेको टोकाइका कारणले लाग्ने रोग हो। मानिस तथा अन्य केही जनावरहरूलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ। औलो लागेका बेलामा ज्वरो आउने, थकान महशुस हुने, बान्ता हुने र टाउको दुख्ने जस्ता सामान्य लक्षणहरू देखिन्छन्। यो रोगले गम्भीर रूप लिएमा छाला पहेँलो हुने, सिजरहरू आउने, कोमामा जाने वा मृत्यु हुने सम्भावना हुन्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश गर्यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ। औलोको राम्रोसँग उपचार गरिएन भने केही महिनापछि दोहोरिन पनि सक्छ। एक पटक औलो लागेको केही समयपछि पुन दोहोरियो भने दोस्रो पटमा केही हल्का लक्षणहरू देखिन्छन्। यदि निरन्तर रूपमा औलोका कीटाणुहरूको सम्पर्कमा नरहने हो भने यो रोग लागेपछि मानव शरीरले प्राप्त गर्ने प्रतिरोध क्षमता केही महिना वा वर्षमा हराएर जान्छ।
औलो | |
---|---|
विभाग: | Infectious diseases, tropical medicine, parasitology |
प्रायजसो यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ। लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ। त्यसपछि यो परजीवी कलेजोमा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ। प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन्। विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सङ्क्रमण गराउँछन्। त्यस्तै अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा बिरलै रोगको सङ्क्रमण गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमुनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित र्यापिड डाइग्नोस्टिक परीक्षण गर्ने गरिन्छ। पलिमराज चेन रियाक्सनको प्रयोग गरेर परजीवीको डिएनए पत्तालगाउने विधि पनि विकसित गरिएको छ तर मूल्य तथा जटिलताका कारण यो विधि औलो बारम्बार फैलिने स्थानहरूमा उल्लेख्य मात्रामा प्रयोग गरिँदैन।
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नु पर्छ। औलो लाग्ने क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूका लागि यसबाट बचाउने धेरै प्रकारका औषधिहरू उपलब्ध छन्। औलोको उच्च जोखिममा रहेका ठाउँहरूमा शिशुहरू तथा गर्भावस्थाको पहिलो चरण पार गरेका गर्भवती महिलाहरूलाई सल्फाडोक्सिन वा पाइरिमेथामाइन जस्ता औषधि सिफारिस गरिएको छ। अत्यावस्यक भएपनि हालसम्म औलोबाट बचाउने कुनै पनि खोप उपलब्ध छैन। यद्यपी यस्तो खोप विकास गर्नका लागि विभिन्न स्थानहरूमा पहल भइरहेको छ। औलोको उपचारका लागि आर्टेमिसिनिन नामको औषधिमा अन्य औलोविरुद्धका औषधिहरू मिलाएर खान सल्लाह दिइएको छ। त्यस्तै दोस्रो औषधिको रूपमा मेफ्लोक्विन, ल्युम्फ्यान्ट्राइन वा सल्फाडोक्सिन/पाइरिमेथामाइन जस्ता औषधिहरूको प्रयोग गरिन्छ। आर्टेमिसिनिन उपलब्ध नभएको अवस्थामा क्विनिनलाई डोक्सिसाइक्लिनसँग मिलाएर दिन सकिन्छ। औलोको परजीवीमा औषधि प्रतिरोध बढ्दै गएको हुनाले बारम्बार औलो फैलिने स्थानहरूमा सकेसम्म रोगको पहिचान भएपछि मात्र औषधि दिन सिफारिस गरिएको छ। औलोका परजीवीहरूमा हालसम्म धेरै औलोविरुद्धका औषधिहरूको प्रतिरोध क्षमता विकसित भइसकेको छ। बारम्बार औलो फैलिने स्थानहरूमा क्लोरोक्विन नामको औषधिको प्रतिरोध क्षमता भएको प्लाज्मोडियम फाल्सिपारम नामको परजीवी फैलिने गरेको पाइन्छ। त्यस्तै दक्षिणपूर्वी एसियाका केही स्थानहरूमा आर्टेमिसिनिन नामको औषधिको प्रतिरोध क्षमता भएका परजीवीहरू समस्याका रूपमा देखा परेका छन्।
औलो मुख्यतया भूमध्यरेखा आसपासका शीतोष्ण तथा समशीतोष्ण भूभागहरूमा फैलिएको पाइन्छ।
This article uses material from the Wikipedia नेपाली article औलो, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.